आफूलाई ‘जी’ भन्न आग्रह गर्दा सन्दीपको ट्रोल, के भएको थियो प्रेसमिटमा ? – Nepal Press

आफूलाई ‘जी’ भन्न आग्रह गर्दा सन्दीपको ट्रोल, के भएको थियो प्रेसमिटमा ?

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने मैदानभित्रको प्रदर्शनसँग मैदान बाहिरको ‘एटिच्यूड’ ले पनि बेलाबखत चर्चामा आउने गर्छन् । हालैको एउटा प्रेसमिटमा उनले आफूसँग सम्मानसाथ बोल्न पत्रकारलाई आग्रह गरेको भिडिओ यतिबेला चर्चामा छ ।

जिम्बाबेसँगको पहिलो टी–२० म्याचपछिको प्रेसमिटमा सन्दीप र पत्रकारबीच सामान्य घोचपेच भएको थियो । प्रेसमिटको सुरुवातमै एक जुनियर पत्रकारले ‘सन्दिप’ भनेर सम्बोधन गरेका थिए । त्यसमा असन्तुष्टि जनाएर सन्दिपले सम्मानसाथ बोल्न आग्रह गरे ।

‘मलाई सन्दीप जी भन्नुस’ उनले पत्रकारलाई आग्रह गरे । पत्रकार सहमत पनि भए । तर, प्रेसमिट अघि बढ्दा एकजनाले पछाडिबाट होच्याउने तरिकाले ठूलो आवाजमा पटकपटक ‘सन्दीपजी’ भन्दै बोलेपछि कप्तान भड्किएका थिए । आफूलाई होच्याउने पत्रकारलाई उनले भने– यु प्लिज सट अप ।

सन्दीप यतिमा मात्र रोकिएनन् । यस्तै तरिकाले प्रश्न सोध्ने हो भने यो प्रेसमिट अगाडि नबढ्ने चेतावनी दिए । त्यसपछि पत्रकारहरुले उनलाई थामथुम पारेका थिए ।

सन्दीपको उक्त भिडिओ फुटेज टीकटकमा भाइरल बनेको छ । कतिले उनलाई समर्थन गरेका छन् भने केहीले आलोचना पनि गरेका छन् । पत्रकारहरुले देशको राष्ट्रिय टिमको कप्तानलाई सम्मानजनक सम्वोधन गर्नैपर्ने तर्क गरेका छन् । आलोचनाहरुले चाहिँ सन्दीपले अनावश्यक घमण्ड देखाएको टिप्पणी गरेका छन् । लामो समय नेपाली टिमको नेतृत्व गरेको पूर्वकप्तान पारस खड्काबाट विनम्रता सिक्न उनीहरुको सुझाव छ ।

सन्दीपको शैली

हरेक मानिका आ–आफ्ना स्वभाव र शैली हुन्छन्, खेलाडीका पनि । पूर्वकप्तान पारस खड्का उनको शालिनताका लागि चिनिन्थे । मिडियाका जस्तोसुकै प्रश्नलाई पनि सहजताका साथ डिल गर्ने क्षमता उनको थियो । फ्यानहरुसँग पनि विनम्रताका साथ प्रस्तुत हुन्थे । मैदानभित्रको प्रदर्शनसँगै बाहिरको स्वभावले पनि उनलाई थप लोकप्रिय बनाएको हो ।

हालका कप्तान सन्दीप चाहिँ पारसभन्दा फरक स्वभावका छन् । उनी पारसजस्तो हरबखत संयम राख्न सक्दैनन् । चित्त नबुझेका कुरामा तुरुन्त रियाक्सन देखाउने गर्छन् । कप्तान हुनुभन्दा पहिलेदेखि नै उनी पत्रकारलाई धेरै रेस्पोन्स दिँदैनथे । यस्तो स्वभावले गर्दा मिडियाकर्मीमाझ उनी धेरै पपुलर छैनन् । आलोचकहरुले उनलाई ‘घमण्डी’ पनि भन्ने गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर