हेटौँडामा दीपक सिंहको ‘इन्ट्रि’ पछि असन्तुष्ट मधुले छाडे राप्रपा – Nepal Press

हेटौँडामा दीपक सिंहको ‘इन्ट्रि’ पछि असन्तुष्ट मधुले छाडे राप्रपा

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वकेन्द्रीय समिति सदस्य तथा हेटौँडाका नेता मधु अधिकारीले पार्टी परित्यागको घोषणा गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकामा भएको टिकट वितरणमा अन्याय गरेको भन्दै रुष्ट रहेका अधिकारीले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

सकिन लागेको राप्रपालाई स्थापित गर्ने क्रममा आफूले निकै मेहनत गरेको, रगत पसिना बगाएको तर पार्टीमा ‘काम गर्ने कालु, मकै खाने भालु’ को नीति अख्तियारी भएको भन्दै राप्रपा परित्याग गरेको अधिकारीले बताएका छन् । दीपकबहादुर सिंहलाई उम्मेद्वार बनाएपछि उनले असन्तुष्टि जनाएका थिए ।

अधिकारीले विज्ञप्तिमा भनेका छन् ‘पार्टीभित्र काम गर्ने कालु, मकै खाने भालु प्रवृत्ति मौलायो । पछिल्लो समय अनुकुलताको राजनीति, मौसमी राजनीति, सामन्ती र सर्वसत्तावादी चिन्तन अनि प्रवृत्ति हाबी भयो । प्रवृत्तिसङ्ग केन्द्रीय नेतृत्व नतमस्तक भयो । नयाँ पुस्ताको भजन गाएर नथाक्ने पार्टीका नेतृत्व र शीर्ष नेताको निर्णय अदूरदर्शी, अपरिपक्व र अन्यायपूर्ण देखियो । नेतृत्वले गर्ने मूल्य, मान्यता र आदर्शको कुरा ढोंग सिवाय केही होइन भन्ने घटनाक्रमले चरितार्थ गरेको छ ।’

अधिकारीले राप्रपा छाडेको स्टाटस सामजिक सञ्जालमा राखेपछि कार्यकर्ताले निर्णय पुनर्विचार गर्न अनुरोध गरेका छन् । अधिकारी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालको तर्फबाट हेटौँडा उपमहानगरपालिकाको नगर प्रमुखमा उम्मेद्वार बनेको थिए ।

अधिकारीले ६ हजार ८ सय ५७ मत प्राप्त गरेका थिए । लामो समय मकवानपुरमा राप्रपाको नेतृत्व गरेका अधिकारीको पार्टी परित्यागले पार्टीमा क्षति पुग्ने चर्चा हुन थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर