एपीएफको एआईजी बढुवामा पनि बदनियत !, खाली दुई दरबन्दीमध्ये एकलाई मात्र बढुवा – Nepal Press

एपीएफको एआईजी बढुवामा पनि बदनियत !, खाली दुई दरबन्दीमध्ये एकलाई मात्र बढुवा

काठमाडौं । नेपाल प्रहरीमा १६ महिना जुनियरलाई आईजीपी बनाएपछि विवादित बनेको सरकारको सशस्त्र प्रहरी बल (एपीएफ) मा रिक्त दुई एआईजी पदमा एकजनालाई मात्र बढुवा सिफारिस गरेको छ ।

बुधबार बढुवा समितिले डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा सिफारिस गरेको हो । त्यसअघि वैशाख १६ गते तत्कालीन आईजीपी पुष्पराम केसीले वैशाख १९ गतेबाट खाली हुने एआईजीका केही दबरन्दीका लागि बढुवाका लागि आवेदन दिन सूचना निकालेका थिए ।

दुईवटा दरबन्दी खाली हुने भएपछि चारजना डीआईजीले आवेदन हालेका थिए । सीपी गौतम, वंशी दाहाल र किशोर प्रधानलाई पछाडि पार्दै पौडेल सिफारिस भएका हुन् । वरियतामा उनी पहिलो नम्बरमा थिए ।

सशस्त्र प्रहरीमा एआईजीको दुईवटा दरबन्दी छ । राजु अर्याल आईजीपी बनेपछि र अर्का एआईजी रामशरण पौडेलले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि दुवै दरबन्दी रिक्त बनेको थियो । सशस्त्रमा एआईजीबाट मात्र आईजीपीमा बढुवा गरिने व्यवस्था छ ।

बढुवा सिफारिस गरिएका पौडेल, वर्तमान आईजीपी अर्याल र डीआईजी दाहालले एकै मितिमा सेवा प्रवेश गरेका थिए । उनीहरूले २०५४ चैतमा नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट सेवा थालेका थिए ।

सीपी गौतमले भने २०५२ सालमा नेपाली सेनाबाट सेवा सुरु गरेका थिए । वर्तमान आईजीपी अर्यालले २०८३ वैशाख १८ गतेसम्म आईजीपीको चार वर्षे कार्यकाल सम्हालेर अवकाश पाउने छन् । पाैडेल एआईजीमा बढुवा भए ज्येष्ठतालाई कारण देखाएर आईजीपी बन्न सक्नेछन् ।

‘हामी आफै पनि अचम्ममा परेका छौं, एउटा दरबन्दी रिक्त गरेको देखेर । सायद ज्येष्ठतामा अगाडि ल्याउन उहाँलाई एक्लै बढुवा गरिएको हुन सक्छ’, असन्तुष्ट एक डीआईजीले भने ।

सरकारले एक महिनाअघि मात्र एआईजीमा बढुवा गरिएका धिरजप्रताप सिंहलाई वैशाख १८ गते नेपाल प्रहरीको आईजीपी बनाउने निर्णय गरेको थियो ।

१६ महिनाअघि एआईजी बनेका विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दर्ता गरिसकेका छन् । उनको रिटमा सर्वोच्चले अन्तरिम आदेश नदिए पनि लिखित जवाफमा म्याद थाम्न नमिल्ने गरी र पेसी सार्न पनि नमिल्ने गरी जेठ १७ गते पूर्ण सुनुवाइ तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर