वाचन शिरोमणि नारायण पोखरेल हत्याका १७ वर्ष- कार्यकर्ताबाट मारिए, नेताले जिम्मा लिएनन् – Nepal Press

वाचन शिरोमणि नारायण पोखरेल हत्याका १७ वर्ष- कार्यकर्ताबाट मारिए, नेताले जिम्मा लिएनन्

रुपन्देही । आध्यात्मिक चेनताबाट समाज सुधार गर्ने अभियान चलाएका पण्डित नारायणप्रसाद पोखरेलको १७ वर्षअघि अर्थात् २०६२ साल वैशाख २३ गते रुपन्देहीमा हत्या भएको थियो । कथाप्रवचनको माध्यमबाट हरेक व्यक्तिलाई प्रभावित बनाएर आर्थिक स्रोत जुटाउने अभियान चलाएका पोखरेलको रहस्यमयी तरिकाले हत्या भएको थियो । तर अझैसम्म कसले किन उनको हत्या गर्यो भन्ने खुलेको छैन ।

घटना भएको केही समयपछि माओवादीका कार्यकर्ताले पत्रकारलाई टेलिफोन गरेर सफाया गरेको खबर गर्वका साथ टिपाएका थिए । तर पछि आलोचना बढ्दै गयो र पार्टीले आधिकारिक जिम्मेवारी लिएन ।

२०६२ साल वैैशाख २३ गते बिहानै सैनामैनाको साविक दुधराक्ष कलौनीमा सन्नाटा छाएको थियो । हाल सैनामैना कलौनीमा अवस्थित रामापुर क्याम्पसको भौतिक निर्माणका निमित्त आर्थिक संकलन गर्न भन्दै धनधान्यान्चल महायज्ञ आयोजना गरिएको सोही ठाउँमा कथावाचनमा आएका पण्डित नारायण पोख्रेलको हत्या भएको खबरले सैनामैनावासीलाई अहिले पनि स्तब्ध बनाउँछ ।

स्थानीय शोभाखर पुरी उक्त घटनाले सैनामैनाबासीलाई सधैंका लागि रुवाएको बताउँछन् । ‘त्यस्ता व्यक्तिको हत्या जसले गरेपनि कहिल्यै न्याय हुनेछैन, समाजका लागि काम गर्ने पण्डितको हत्याले कसले के पायो थाहा छैन तर अहिलेसम्म हत्याराको खोजबिन नहुनु झन् बढी दुःखलाग्दो हो’, उनले भने ।

सैनामैनाबासीले पण्डित पोखरेलको हत्यालाई जति नै प्रयास गरेपनि भुल्न नसकेको स्थानीय पत्रकार दीपक न्यौपाने बताउँछन् ।

हत्याको समयमा उनी जुन क्याम्पसका लागि आर्थिक स्रोत व्यवस्थापनका लागि आएका थिए, त्यो क्याम्पसको नाम पोखरेलको सम्झनामा राखिएको छ– सहिद नारायण पोखरेल क्याम्पस ।

सो क्याम्पसका प्रमुख यदुलाल पन्थ समाजमा अनुकरणीय व्यक्तिको हत्या भएको यति लामो समयसम्म हत्यारा पत्ता नलाग्नु रहस्यमय भएको बताउँछन् । ‘धर्मलाई सामाजिक काममा जोडेर अनुकरणीय काम गर्नुभएका पोखे्रललाई जसले हत्या गर्यो, आज उनीहरुलाइ ठूलो पश्चाताप भइरहेको हुनुपर्छ’, उनी भन्छन्, ‘त्यो घटनाको जति नै निन्दा गरेपनि कम नै हुन्छ ।’

हालैमात्र सोही महायज्ञबाट संकलित रकमले व्यवस्थित रुपमा संचालनमा ल्याइएको सहिद नारायण पोख्रेल रामापुर क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भएका बालकृष्ण गैरे पुरानो घाउ कोट्याउदै भन्छन्– आज पनि त्यो कहालीलाग्दो घटनाले मन पोलिरहन्छ । तीनजना मोटरसाइकलमा आएर हत्या गरेर फरार भए ।

धार्मिक प्रवचनबाट समाजसेवामा अतुलनीय योगदान दिइरहेका पण्डित पोख्रेलको कसले किन हत्या गर्यो अहिलेसम्म पत्ता लागेको छैन । आम मानिसलाई नचाएर, हँसाएर, प्रभावित पारेर क्याम्पस, स्कुल,मन्दिर र अन्य सामाजिक भवन बनाउन दिनरात खट्ने मान्छेको हत्या देख्दा र सम्झँदा स्थानीयको अहिले पनि आङ जिरिङ्ग हुन्छ ।

‘म त्यतिखेर कक्षा ९ मा पढ्थें’, हाल स्वर्गीय पण्डित पोख्रेलकै नाममा संचालनमा आएको क्याम्पसको प्रशासकीय अधिकृत भएका मदन थापाले भने, ‘हामी पनि निकै ध्यानपूर्वक उहाँका कथाहरु सुन्थ्यौं । उहाँले समाजका विकृति, विसंगति र जातीय भेदभाब हट्नुपर्छ भन्ने आशयका कथाको शैलीले मलाई पनि निकै प्रभावित पारेको थियो । मलाई यस्तो लाग्थ्यो कि यज्ञले यस क्षेत्रमै पहिलोपटक आपसी सद्भाव, भाइचारा, ऐक्यबद्धता तथा निस्वार्थ भावना बोकेर आइरहेको छ । तर अफसोच उहाँको दुःखद हत्याले हाम्रो घरमा एकहप्तासम्म चुल्हो नै बलेन ।’

महायज्ञबाट तत्कालीन समयमा हालको सैनामैनाका विभिन्न संघसंस्था, क्लबहरु, आमा समूह, शैक्षिक, बौद्धिक ब्यक्तित्वहरु, व्यवसायीदेखि कृषकहरुको समेत उत्साहजनक सहभागिताले ४२ लाख रुपैयाँ संकलन भएको थियो ।

माओवादीका तत्कालीन कार्यकर्ताले पण्डितलाई सफाय गरेको फोन गरेको भनेर तत्काल पत्रकारलाई फोन गरेर जानकारी दिएका थिए । बीबीसी बुटवल संवाददाता माधव नेपाल त्यो घटना स्मरण गर्दै भन्छन्– माओवादीका कार्यकर्ताले पण्डित नारायण पोखरेलको सफाया गरेको फोनमा जानकारी दिएर समाचार लेखेका हौं, बीबीसीमा पनि त्यो बेला मेरो समाचार आएको हो, त्यो समयमा कसैले खण्डन गरेन, अहिलेको जस्तो रेकर्ड राख्ने प्रविधि थिएन, पछि उनका छोरा आएर त्यो फोन गर्ने मान्छेको नाम र पार्टीको जिम्मेवारी खोजे पनि पत्ता लाउन सकिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर