दमकलाई अब्बल सहर बनाउन सुरू भएको काम पूरा गर्न मेरो उम्मेदवारी : गीता अधिकारी (भिडिओ) – Nepal Press
नेपाल टक

दमकलाई अब्बल सहर बनाउन सुरू भएको काम पूरा गर्न मेरो उम्मेदवारी : गीता अधिकारी (भिडिओ)

ओलीको गृहनगरमा एमालेकी बेदाग मेयर उम्मेदवार,५वर्षको काम र प्राध्यापन पेशाको नाम नै जित्ने आधार

वैशाख ३० गते हुने स्थानीय तह चुनावमा एमालेले दमक अर्थात पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह नगरको मेयरमा महिला गीता अधिकारीलाई अघि सारेको छ । दमक नगरमा पाँच वर्षे उपमेयरको कार्यकाल पूरा गरेकी अधिकारी गीता मेडमका रुपमा परिचित छिन् ।

अधिकारी झापाको साविक दमक नगरपालिका वडा नम्बर १० हाल ५ वडाकी स्थायि बासिन्दा हुन् । अधिकारीले दमक बहुमुखी क्याम्पसमा २८ वर्षदेखि अर्थशास्त्र प्राध्यापन गर्दै आएकी थिइन् । गएको स्थानीय तह निर्वाचनमा एमालेबाट उपमेयर बनेकी अधिकारी भारी मतका साथ विजयी भएकी थिइन् ।

झापाको साविक गौरीगञ्ज गाविस वडा नम्बर ७ मा पिता लोकनाथ पौडेल र माता सावित्राका कोखबाट २०१९ साल कार्तिक २५ गते जन्मिएकी उनी ७ छोरीमध्ये कान्छी हुन् । केपी ओलीको गृहनगर भएकाले अहिले दकमले सबैको ध्यान तानेको छ । राष्ट्रिय चर्चा र दबाब दुवै अधिकारीमाथि परेको छ । दमकमा महागठबन्धनबाट राप्रपाका राम थापालाई मेयरमा अघि सारिएको छ । महागठबन्धनविरुद्ध उभिएकी गीता अधिकारीसँग नेपालप्रेसकर्मी ध्रुव भट्टराईले गरेको कुराकानी नेपाल टकमा ।

– तपाईंलाई दमकवासीले कसरी चिन्नुहुन्छ ?

मेरो पुर्ख्यौली घर रामेछापको दुरागाउँ हो । विवाह भएर दमकमा २०४५ सालमा आएको हो । मैले गौरीगञ्जबाट माध्यमिक तहको शिक्षा पूरा गरे । त्यसपछि काठमाडौंको सरस्वती क्याम्पसबाट आईए पास गरेको हो । बीए विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट पूरा गरेको हो । हाम्रो परिवारको आर्थिक अवस्था अलिक कमजोर थियो । बीचमा मेरो पढाइ केही वर्ष रोकियो । पछि काठमाडौंको कीर्तिपुर क्याम्पसमा छात्रवृत्ति कोटामा होस्टेलमा बसेर मास्टरसम्मको पढाइ पूरा गरेँ । तर, मास्टर पढदापढदै मेरो विवाह भयो । छोरीलाई पठाउन हुन्न भन्ने चलन रहेकाले मैले आमालाई भनेको थिएँ, ‘तपाईं मलाई पढाउनुहोस् । म तपाईंले भनेको केटासँग विवाह गर्छु ।’ सोहीअनुसार आमाले विवाहको कुरा ल्याएपछि मैले विवाह गरेँ ।

जोसँग मेरो विवाह भयो, उहाँ ज्यादै असल र इमानदार हुनुभएकाले हरेक ठाउँमा रहेर जिम्मेवारी निर्वाह गरेँ । त्यससँगै उपमेयर हुँदासमेत उहाँको साथ र सहयोग मलाई पूरापुर छ । २०४५ सालमा विवाह भएपछि २०४६ सालमा मास्टर गरेर दमक आएँ । विद्यार्थीकालबाटै म अनेरास्ववियुमा आवद्ध थिए । २०४६ सालबाट मैले दमक बहुमुखी क्याम्पसमा अध्यापन थालेँ । २०४७ सालमा दमक बहुमुखी क्याम्पसमा स्थायी नियुक्ति भयो । अध्यापन पेशासँगै म अनेमसंघमा आवद्ध भएर नेकपा एमालेसँग जोडिएर काम सुरु गरेँ । त्यसपछि निरन्तर २८ वर्षसम्म मैले दमक बहुमुखी क्याम्पसमा अध्यापन गरेँ । यो बीचमा दमक बहुमुखी क्याम्पसमा अर्थशास्त्र विभागमा दुई कार्यकाल विभागीय प्रमुख भएर काम गरेँ । यसबीच प्रगतिशील प्राध्यापक संगठनको अध्यक्ष, सहायक क्याम्पस चिफ, रिर्डस समूह हुँदै क्याम्पस प्रमुख हुने सम्मुखमा एमालेले गएको स्थानीय तह चुनावमा उपमेयरको नाममा सिफारिस गर्‍यो । र, अत्यधिक मतले म विजयी भएँ ।

– केपी ओलीको गृहनगर भनेपछि त्यसै पनि राष्ट्रिय चर्चा र दबाब हुन्छ । त्यसमाथि तपाईंविरुद्ध महागठबन्धन छ । कतिको दबाब र त्रासमा हुनुहुन्छ ?

केही छैन, एकदम नर्मल लिएको छु । खासमा मेरो काम अर्थात् हामी निर्वाचित भएर गएपछि नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारीको काम नगरबासीले हेरसक्नुभएको छ । पाँच वर्ष हामीले गरेको काम हेरिसक्नुभएकाले हामीले कामको सिस्टम बसालेका छन् । धेरै अपूरा कार्यहरु पूरा गर्न अझै बाँकी छ भनेर मूल्याङ्कन गर्नुभएको छ । यो गठबन्धन किन भयो, केका लागि भयो भन्दा पनि त्यसलाई मैले त्यति धेरै महत्व पनि दिएको छैन, सामान्य रुपमा लिएको छु । म दावाका साथ भन्छु, हाम्रो विजयी सुनिश्चित छ ।

– दमकमा हिजो राप्रपा एक्लै लड्दा पनि एमालेपछिको दोस्रो शक्ति थियो । आज भएभरका सबै शक्ति मिलेर लडेका छन् । अर्कोतिर केपी ओलीको नगरपालिका हराउँदा देशभर गठबन्धनले जितेको सन्देश फैलाउन पनि पाइछ । त्यसैले तपाईंमाथि सबैभन्दा बढी टार्गेट भएको हो ?

मैले अघि पनि भनेँ, हिजो एक जनाले पनि मलाई सोध्नुभयो, तपाईं घेराबन्दीमा हुनुहुन्छ भनेर । केही छैन, म एकदम नर्मल छु । दमकवासी आमाबुबा, दिदीबहिनीले यति धेरै माया र विश्वास गर्नु भएको छ । जहाँ म भोट माग्न जान्छु, उहाँहरुले हार्दिकताका साथ स्वागत गरिरहनु भएको छ, एउटा उदाहरण हो ।

यो पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर हो । उहाँ हाम्रो पार्टीको अध्यक्ष पनि हुनुहुन्छ । उहाँले यो दमक र झापालाई गरेको योगदान छ र उहाँको हामी यहाँ प्रतिनिधि । हामीले गरेको भिजन, योजना, कार्यक्रम उहाँले यति हार्दिकताका साथ स्वीकारेर यति धेरै यहाँ विकासका काम भइरहेको छ, यो कुरा त आम जनताले हेरिरहनु भएको छ नि ! त्यसैले यस विषयमा तपाईंहरुले कुनै द्विविधा नराखे हुन्छ ।

– तपाईंले यसो भनिरहँदा राम थापा दमकमा आफै पनि एउटा फिगर हुन् । २०४३ सालमा पनि तपाईंकै पारिवारिक सदस्यसँग हारेका थिए । त्यसमाथि पाँच दलले समर्थन गर्दा तपाईंभन्दा उहाँ हेभिवेट भए होइन ? तपाईंले मतदातासमक्ष लैजाने एजेण्डा के के हुन् ?

एजेण्डाहरु थुप्रै छन् हाम्रा । विगतमा गरेका योजनाहरु अधुरा अवस्थामा छन् । ती योजनाहरु पूरा गर्नुछ । कोभिड १९ का बेलामा हामी नगरवासीको साथमा छौं भनेर विश्वास दिलाउने काम भएको छ । त्यस्तै किसिमका आपतविपतमा यिनीहरु हामीसँगै रहन्छन् भनेर हामीमाथि नगरवासीको आशा र विश्वास पनि छ । अब एजेण्डा नै भन्नु हुन्छ भने हाम्रा चुनावी घोषणापत्र एवं प्रतिज्ञापत्रमा सबै कुरा आइसकेको छ ।

त्यसमा दमकका सबै वडा वडाका कुरालाई समेटेका छौं । यसमा पूर्वधारका क्षेत्रहरु बाटाघाटाका कुराहरु, दमक आउँदा आहा यहा कति राम्रो तथा सफा सडक भन्ने गरी काम गर्नेछौं । फोहरमैलाको व्यवस्थापन अझै अपूरै छ । त्यसलाई पूर्णता दिनेछौं । बाटाघाटा सबै कालोपत्रे गर्नु छ । वडाहरुमा सबैतिर कालोपत्रे भई नसकेको अवस्था छ । कालोपत्रे गर्ने कुरालाई पूरा गर्नु छ । बिजुली र खानेपानी पुर्‍याउनु छ ।

नगरभित्र रहेका २१ वटै विद्यालयमा छात्रा शौचालय यसअघि थिएन । खानेपानीको पनि राम्रो व्यवस्थापन थिएन । त्यसको व्यवस्थापन हामीले गरिसकेका छौं । विद्यालयका भवनहरु धमाधम बन्दैछन् । दमक बहुमुखी क्याम्पसमा पाँच वर्षको अवधिमा करिब १ करोडको अक्षयकोष खडा गर्छौं । हामीले १० लाख यही वर्षबाट व्यवस्था गरेका छौं । किन भन्ने प्रश्न पनि आउला । दमक बहुमुखी क्याम्पसमा जति पनि अध्यापन गर्ने प्राध्यापकहरु हुनुहुन्छ, उहाँहरुले अन्त्यमा कलेज छोड्दा उपदान नपाउने अवस्था थियो । दमक नगरपालिकाको सहयोगमा पाँच वर्षमा १ करोड रुपैयाँ पुर्‍याएर त्यसको व्याजबाट वर्षमा दुई चार जनालाई उपदान दिने व्यवस्था मिलाउने योजना अघि सारेका छौं ।

त्यसैगरी शिक्षा क्षेत्रमा परिवर्तन गर्न १० वर्षे रणनीतिक योजना बनाइसकेका छौं । नगरपालिकाको समग्र विकास गर्न २० वर्षे रणनीतिक योजना बनाइसकेका छौं । त्यसलाई फलो गरेर जान्छौं । पाँच वर्षे कार्यकालमा नगरका लागि आवश्यक २२ वटा ऐन, २८ वटा कार्यविधि र ११ वटा नियमावली हामीले बनाइसकेका छौं । त्यसलाई सिष्टमबाट फलो गरेर जान्छौं ।

हिजो उपमेयर भइरहँदा ९२३ वटा मुद्दामध्ये ८५६ वटा मुद्दा हामीले निरुपण गरेका छौं । यसरी हामीले काम गरेको जनताले देखिरहनु भएको छ । मावा र रतुबै खोला तटबन्धन गर्न एडीबीसँग सम्झौता भएर टेण्डरमा गइसकेको छ । तीन वर्षभित्रमा सुरक्षित तटबन्धन गर्छौं । पानीको निकासा गर्छौं । कभर्ड हल पनि बन्दैछ । प्रस्तावित मदन भण्डारी रंगशालालाई बनाउन बाँकी छ । त्यो रंगशालाको डीपीआर भएर टेण्डरमा गइसक्यो, अहिले रोकिएको छ । त्यो योजनालाई हामी पुनः अगाडि बढाउँछौं । अर्को भ्यूटावर बन्दैछ । त्यसको प्लान बनाएर व्यापारिक प्रयोजनका रुपमा अगाडि बढाउँछौं र पर्यटकीय क्षेत्रको मुख्य केन्द्रविन्दु बनाउनेछौं । चक्रपथ बन्दैछ । पर्यटकीय चक्रपथ बनाएर हरेक पालिकासँग जोडनेछौं । दमक सहरोन्मुख भएकाले पर्यटकीय दृष्टिकोणले व्यवस्थित सहरका रुपमा विकास गरेर लैजान्छौं । हरेक क्षेत्रबाट दमकलाई अब्बल सहर बनाउने कामको सुरुवात भएको छ अब त्यसलाई पूरा गरेर लानेछौं ।

– दमकमा केपी शर्मा ओलीले अर्बौं बजेट खन्याएर अनावश्यक भ्यूटावर बनाए भन्ने आरोप छ । यस विषयमा दमकवासी के भन्छन् ?

बाहिरबाट जे जसरी आलोचना भए पनि दमकबासीले यो विषयमा आफ्नो क्षेत्रको विकास भएको भन्ने बुझ्नुभएको छ । खासमा भ्यूटावर अहिले निर्माणको चरणमा भएकाले यसलाई विकासको रुपमा धेरैले अथ्र्याएका छैनन् होला । जब निर्माण सम्पन्न हुन्छ तब यसको डिजाइनअनुसार पूराका पूरा काम हुनेछ । बहुआयामिक ढंगबाट यसमा काम हुनेछ । व्यापारिक केन्द्र, त्यसैगरी पर्यटकीय केन्द्रका रुपमा विकास भएसँगै यो पनि एउटा विकासको मोडलका रुपमा सबैले स्वीकार्ने अवस्था आउनेछ । त्यसैले सबै सकारात्मक देखिएका छन् र सोहीअनुसार प्रतिक्रिया पनि पाएका छौं ।

– अब भोट माग्न पार्टी अध्यक्षलाई पनि बोलाउनुहुन्छ होला, के छ योजना ?

बोलाउनेभन्दा पनि उहाँ आफै अहिले देश दौडाहामा हुनुहुन्छ । उहाँ झापा आउनुहुन्छ । उहाँ चुनावी कार्यक्रममा सहभागी हुने पार्टीको नीतिभित्र पर्छ । कुन दिन आउनुहुन्छ त्यो निश्चित भएको छैन । तर, उहाँ आएर आफ्नो झापावासी, नगरवासी आमा दिदीबहिनी, दाजुभाइलाई केही सम्बोधन गर्ने कार्यक्रम छ भन्ने सुनेको छु । यो माथिदेखि नै तय हुन्छ ।

– तपाईंलाई नै दकम नगरवासीले किन भोट दिने ?

सर्वप्रथम त एमालेले एउटा ऐतिहासिक अवसर प्रदान गरेको छ । महिलाको नेतृत्वमा दमक नगरपालिकालाई समृद्ध र हरित दमक बनाउन त्यसभित्र के के इन्डिकेटर छन्, त्यसलाई कार्यान्वयन गर्ने नीतिहरु बनाइसकेका छौं । सिष्टमहरु अघि बढाइसकेका छौं, त्यसलाई कार्यान्वयन गर्ने हाम्रो अर्को एजेण्डा रहेको छ । बाल, युवा, महिलामैत्री नगर बनाउने खाका तयार गरेका छौं । त्यसलाई कार्यान्वयनमा लैजान्छौं । हामी घरदैलो कार्यक्रममा जाँदा पनि ‘तपाईंहरुले धेरै कामको सुरुवात गर्नुभएको छ, त्यसलाई अब पूरा गर्न पर्छ’ भनेर हौसला दिने काम भइरहेका छन् । म उपमेयर हुँदा महिलाहरुलाई उद्यमशील बनाउने काम भएको छ । त्यसैगरी संघीय र प्रदेश सरकारसँग समन्वय गरेर प्राप्त ठूला योजनाहरु जस्तै भ्यूटावर, बुद्धको अग्लो मूर्ति, सभाहल, औद्योगिक पार्कलगायतलाई सञ्चालन गर्नु छ ।

अर्को मल्टिलेयर बस पार्क, सतुवा र मावा खोला तटबन्धन गर्नु छ । रतुवाको किनारैकिनार सडक बनाएर रिवी चिसापानी सडकसँग जोडनु छ । कृषिको क्षेत्रमा प्रदेशस्तरीय आर्गानिक कृषि बजार बन्दैछ । त्यसलाई पूरा गरे बजार व्यवस्थापन गर्नु छ । दमकको फोहर व्यवस्थापनको काम सुरु भएको छ । यसलाई पनि पूरा गर्नु छ । शिक्षा, स्वास्थ्य र रोजगारीका लागि धेरै काम सुरु भएका छन् । ती कार्यलाई सम्पन्न गर्न पनि मेरो नेतृत्व आवश्यक पर्छ भन्ने नगरवासीले महसुस गर्नुभएको छ ।

यसअघि म उपमेयर भएर काम गर्दा मेरो कामको मूल्याङ्कन गरी सक्नुभएको छ । त्यसैले निश्चित अधिकारमा रहेर काम गरेको र अब मेयर भएर नीति निर्माण गर्ने अधिकार सम्पन्न ठाउँमा पुर्‍याउनु । त्यसका लागि पनि नगरवासीले मलाई भोट दिनुहुनेछ भन्ने आशा एवं विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर