लैंगिक तथा जातीय रूपमा तुच्छ शैलीको भाषा प्रयोग नगर्न महिला आयोगको अनुरोध – Nepal Press

लैंगिक तथा जातीय रूपमा तुच्छ शैलीको भाषा प्रयोग नगर्न महिला आयोगको अनुरोध

काठमाडौं । राष्ट्रिय महिला आयोगले निर्वाचनको प्रचार–प्रसारका क्रममा लैंगिक, जातीय तथा सामाजिक सांस्कृतिक रूपमा तुच्छ शैलीको भाषा प्रयोग नगर्न अनुरोध गरेको छ ।

आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै कतिपय स्थानीय तहमा राजनैतिक दल तथा उम्मेदवारले लैगिक, जातीय तथा सामाजिक सांस्कृतिक रूपमा लक्षित गरी आँच पुऱ्याउने तथा अपहेलना हुने गरी तुच्छ शैलीको भाषा प्रयोग भएको देखिन आएकोले यसमा आयोगको ध्यानाकर्षण भएको जनाएको हो ।

यस किसिमको अभिव्यक्तिले लैङ्गिकता तथा व्यक्तिको आस्था तथा मानव अधिकारमा सामाजिक सद्भावमा आँच आउने अवस्था देखिएकोले यस्तो अभिव्यक्ति प्रकट नगर्न तथा सबैप्रति सम्मान जनाउने गरी आफ्ना अभिव्यक्ति राख्न सबै दल, उम्मेदवार तथा दलका कार्यकर्ता र मतदातालाई अनुरोध गरेको छ । यस्ता विषयमा निर्वाचन आयोगलाई समेत ध्यान दिन महिला आयोगले विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ ।

स्थानीय तहको निर्वाचन, २०७९ मा सम्बन्धित स्थानीय निकायको लागि विभिन्न राजनैतिक दल तथा व्यक्तिले उम्मेदवारी दिने, उम्मेदवारी माथि उजुरी तथा उजुरी माथि छानबिन समेत भई उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको छ ।

सबै उम्मेदवार आ–आफ्नो क्षेत्रमा आ–आफ्नो जित सुनिश्चितताका लागि प्रचार प्रसार गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर