शंकर पोखरेलको दाबी- ६ वटा महानगरमा चमत्कार गर्छौँ, गठबन्धनले १३५ ठाउँमा उम्मेदवार नै पाएन – Nepal Press

शंकर पोखरेलको दाबी- ६ वटा महानगरमा चमत्कार गर्छौँ, गठबन्धनले १३५ ठाउँमा उम्मेदवार नै पाएन

‘काठमाडौंमा बालेन शाहहरूको उम्मेदवारीले एमालेलाई सहयोग नै पुग्छ’

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेसँग एक्लै चुनाव लड्न नसकेर गठबन्धन बनाउँदा पनि सत्ताधारी दलहरूले देशका १३५ भन्दा बढी स्थानमा उम्मेदवार उठाउन नसकेको टिप्पणी गरेका छन् ।

विभिन्न मिडियाका सम्पादकहरूसँग बुधवार काठमाडौंको अल्फा हाउसमा अन्तरक्रिया गर्दै महासचिव पोखरेलले पाँच वटा दलमध्ये कसैले पनि उम्मेदवार नपाउनुले पनि उनीहरूको हैसियत प्रस्ट हुने बताए ।

पोखरेलले भने– निर्विरोध भएका ठाउँमा पनि एमाले पहिलो छ । उनीहरूले ती ठाउँमा उम्मेदवार समेत पाएनन् । एउटा दलको उम्मेदवार नहुनु स्वाभाविक हो तर पाँच वटाले समेत नपाउनुले पनि गठबन्धनको हबिगत प्रस्ट हुन्छ ।

महासचिव पोखरेलले यस पटकको स्थानीय चुनाव सरकार र सत्तारुढ दलले नचाहेको तर कानून संविधान र प्रतिपक्षी दलका कारण मात्र भइरहेको भन्दै जसले चुनाव नै चाहेका थिएनन् उनीहरूले जित्ने सम्भावना नरहेको दाबी गरे ।

पोखरेलले भने–यो चुनाव उनीहरूले चाहेका होइनन् । चुनाव हाम्रो दबाबमा भएको हो । त्यसैले हामी अफेन्सिभ छौँ,सत्ता गठबन्धन डिफेन्सिभ छ । एमाले एउटा शक्ति हो,गठबन्धन अर्को शक्ति । प्रचण्ड माधव भनेका कांग्रेसका सहयोगी मात्र हुन् अब उनीहरू राष्ट्रिय राजनीतिमा फरक अस्तित्वमा रहन सक्दैनन् ।

महासचिव पोखरेलले यस पटक ६ वटा महानगरपालिकामा एमालेले चमत्कार गर्ने भन्दै चुनावी परिणामबारे आफ्नो आँकलन सफल हुने गरेको दाबी गरे । उनले प्रचण्ड माधवसँग आउने तीनै तहका चुनावमा कुनै पनि प्रकारको सहकार्य हुन नसक्ने समेत प्रस्ट पारे ।

अर्को एक प्रसङ्गमा काठमाडौंमा बालेन शाहको उम्मेदवारीलाई एमालेले सहज रूपमा लिएको र उनको उम्मेदवारीले एमालेलाई फाइदा नै पुग्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर