हत्या आरोपी तीन वर्षपछि पक्राउ – Nepal Press

हत्या आरोपी तीन वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका फरार अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको नैकाप बस्ने सिन्धुलीको कमलामाई नगरपालिका–१० का २५ वर्षीय मुण्डा भन्ने सरोज सुन्दास रहेका छन् ।

काठमाडौं महानगरपालिका–३२ तिनकुनेस्थित गैरी गाउँको पेट्रोल पम्प नजिक महेश परियार, मनिष बानियाँ र सरोज सुन्दाससमेतले २०७५ मङ्सिर ८ गते चक्कु प्रहार गरी बिक्की थेबे लिम्बुको हत्या गरेको र अनिल श्रेष्ठलाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।

घटनापश्चात् फरार रहेका सुन्दासलाई नैकापमा लुकिछिपी बसिरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले बुधवार पक्राउ गरी कानूनी कारबाही अघि बढाएको आज एक सूचना जारी गरी जनाइएको छ ।

उक्त घटनामा संलग्न महेश परियार र मनिष बानियाँलाई घटना भएकै दिन काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लाबाट नियन्त्रणमा लिइ जिल्ला अदालत काठमाडौंको फैसलाले जन्म कैद सजाय भोगिरहेका छन् । सुन्दासलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत काठमाडौँ पठाइएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर