प्रचण्डले भरतपुरमा भने- हँसिया हतौडामा भोट हाल्न गाह्रो नमान्नुस्, देश दुर्घटनामा पर्न सक्छ (भिडिओ) – Nepal Press

प्रचण्डले भरतपुरमा भने- हँसिया हतौडामा भोट हाल्न गाह्रो नमान्नुस्, देश दुर्घटनामा पर्न सक्छ (भिडिओ)

भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा गठबन्धनले नजिते देश दुर्घटनामा जाने बताएका छन् ।

भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भरतपुरमा जिते मात्रै गठबन्धनलाई दीर्घकालसम्म लैजान उत्साह मिल्ने बताए ।

सभामा बोल्ने केही कांग्रेस नेताहरूले गठबन्धनको निरन्तरताका बारेमा राखेको चासोमा जवाफ दिदैं प्रचण्डले कांग्रेसका नेता कार्यकर्ताहरूले हँसिया हतौडामा भोट हाल्न गाह्रो मान्न नहुने बताए ।

‘तपाईँहरूले हँसिया हतौडामा भोट नहाल्ने हो भने देश दुर्घटनामा जान्छ । भरतपुरमा रेनु र चित्र सेनको टिमले जित्यो भने म उत्साही हुनेछु । १०–१५–२० वर्ष गठबन्धन लैजान प्रयास गर्नेछु । तपाईँहरूले नजरअन्दाज गर्नुभयो भने देश दुर्घटनामा जान सक्छ’, प्रचण्डले भने ।

भरतपुरमा स्वतन्त्र उम्मेदवारलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तिममा ‘भोट खन्याइदिने’ आश्वासन दिएको दाबी गरेका छन् ।

‘केपीले स्वतन्त्र उम्मेदवारलाई अडिनुस् है भनेका छन् रे । अन्तिममा एमालेको सबै भोट खन्याइदिउँला भनेका छन् रे । केपीका भनाइको भर नपर्नुहोला’, उनले भने ।

प्रचण्डले आफूलाई शंका नगर्न आग्रह गर्दै सबैको साथ भए गठबन्धनलाई दीर्घकालसम्म लैजाने बताए ।

‘ममाथि शंका नगर्नुस् । युद्धलाई शान्तिमा, शान्तिलाई संविधानसभामा र संविधानसभालाई लोकतान्त्रिक गणतन्त्रमा लैजाने पात्र मै हो । हामीले यो गठबन्धन सोचे विचार गरेरै बनाएका छौँ । यसलाई जोगाएर जानुको विकल्प छैन’, प्रचण्डले भने ।

उनले विगतमा आफूले कांग्रेसलाई धोका नदिएको समेत बताए ।

भरतपुरको निर्वाचनलाई दुनियाँले हेरेको भन्दै भरतपुरमा गठबन्धनले अभूतपूर्व जित हासिल गर्नुपर्ने बताए ।

आफू विरुद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूको षड्यन्त्र जारी रहे पनि जनताले उचित फैसला दिने प्रचण्डको भनाई छ ।

‘एमालेका केही नेताहरू मिलौँ भन्न आएका छन् तर गल्ती दोहोर्‍याउँदिन भनेको छु । म जनताको फैसला हेर्न चाहन्छु’, उनले भने ।

भरतपुर महानगरपालिकाले विकास र सुशासनमा रेकर्ड कायम गरेको भन्दै उनले रेनु दाहालको कामबाट सबैले गर्व गरेको बताए ।


प्रतिक्रिया

One thought on “प्रचण्डले भरतपुरमा भने- हँसिया हतौडामा भोट हाल्न गाह्रो नमान्नुस्, देश दुर्घटनामा पर्न सक्छ (भिडिओ)

  1. जनतालाई धम्कि दिने ? जनता यसका नाेकर हुन् ? यसकी छाेरी जिताउन अरूले बलिदान गरिदिनुपर्ने । यस्ताका धम्कीले केही नाप्दैन । बन्दुककाे त काँग्रेस डरायनन् । अब किन डराउने ? देउवाले लुटन नपाईएला भन्दैमा अरूले मान्नुपर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर