गुल्मीको भागबन्डामा कांग्रेस र माओवादी हाबी, नेकपा एस र जसपा असन्तुष्ट – Nepal Press

गुल्मीको भागबन्डामा कांग्रेस र माओवादी हाबी, नेकपा एस र जसपा असन्तुष्ट

रुपन्देही । गुल्मीमा दुईवटा नगरपालिका र १० वटा गाउँपालिका छन् ।

५ दलीय गठबन्धन रहेपनि यहाँको नेतृत्व कांग्रेस र माओवादीले मात्रै राखेपछि नेकपा एस र जसपा असन्तुष्ट छन् । तर पनि अधिकांशमा गठबन्धनको सहमति अनुसार नै उम्मेदारी परेको छ ।

कांग्रेसले ८ र माओवादी केन्द्रले ४ वटा स्थानीय तहमा प्रमुखका उम्मेदवार दिने सहमति गरिएपनि धुर्कोट र कालीगण्डकीमा माओवादीले एमालेसँग गठबन्धन गरेपछि अन्य पालिकामा पनि विश्वसनियतामा समस्या आएको हो ।

एमालेले रेसुङ्गा नगरपालिकाको प्रमुखमा गठबन्धनले कांग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीलाई प्रमुख र अमृता कुँवरलाई उपप्रमुखमा अघि सारेको छ । नेकपा एमालेले राजेन्द्र पाण्डे प्रमुख र उपप्रमुखमा रीता पाण्डेलाई अघि सारेको छ । यहाँ माओवादी केन्द्रले वडा सदस्यमै चित्त बुझाएको छ भने नेकपा एसलाई ४ वटा वडा सदस्यमा मात्रै भागवण्डा परेको छ ।

मुसिकोट नगरपालिकामा एमालेले जीवन खरेललाई प्रमुख र गंगा श्रेष्ठलाई उपप्रमुखमा अघि सारेको छ । यहाँ गठबन्धनबाट कांग्रेसका हरिनारायण सापकोटा मेयर तथा नेकपा एसका श्रीराम महत उपमेयरमा उम्मेदार दिएका छन् । नेकपा एसको भागमा उपमेयर उम्मेदवार परेको छ भने माओवादीलाई पनि वडा छुट्याइएको छ ।

त्यस्तै कालीगण्डकी गाउँपालिका अध्यक्षका लागि रामजी ढकालले उम्मेदवारी दिएका छन् । यहाँ एमालेले उपाध्यक्ष माओवादीलाई दिएर गठबन्धन गरेको छ । माओवादीका मन्जुकुमारी दर्लामी सूर्य चिन्ह लिएर उम्मेदार बनेकी छन् ।

सत्यवती गाउँपालिकामा पनि अध्यक्षमा एमालेबाट टीकाराम पाण्डे र उपाध्यक्षमा निरमाया राहादी उम्मेदवार छन् ।

चन्द्रकोट गाउँपालिकाको अध्यक्षमा चेतन बस्नेत र उपाध्यक्षमा यस अगाडिकै राधिका अर्याल पुनः प्रतिस्पर्धामा छन् ।

रुरु क्षेत्र गाउँपालिकामा अध्यक्षका लागि हिमाल श्रेष्ठ र उपाध्यक्षका लागि मिना गौतमको उम्मेदवारी छ । गुल्मी दरबार गाउँपालिकामा पनि अध्यक्षमा कृष्ण भुसाल र उपाध्यक्षमा सुशीला पुन उम्मेदवार हुन् । इश्मा गाउँपालिका अध्यक्षमा हिरा एसीको उम्मेदवारी छ । मालिका गाउँपालिकामा यस अगाडिकै अध्यक्ष रितबहादुर थापा छन् भने उपाध्यक्षमा रनमाया पुनको उम्मेदवारी छ ।

मदाने गाउँपालिकामा एमालेबाट अध्यक्षका लागि प्रेम केसी र उपाध्यक्षमा यस अगाडिकै सरिता खड्काले उम्मेदवारी दर्ता गराएका छन् । मुसिकोटमा गठबन्धनबाट कांग्रेसका हरिनारायण सापकोटा र उपप्रमुखमा समाजवादीका नेता श्रीराम महत चुनावी मैदानमा छन् ।

मालिका गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादीबाट देवीराम अर्याल अध्यक्ष र उपाध्यक्षमा काग्रेसका उपेन्द्र अर्यालको उम्मेदवारी छ । कालिगण्डकी र छत्रकोट गाउँपालिकामा कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन छ । दुवै पालिकामा कांग्रेसले प्रमुख र जनमोर्चाले उपप्रमुख पाएका छन् ।

सत्यवती, चन्द्रकोट र रुरु क्षेत्र गाउँपालिका कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । सत्यवतीमा कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुख पाएको हो । चन्द्रकोट र रुरु क्षेत्र गाउँपालिकामा माओवादीले प्रमुख र कांग्रेसले उपप्रमुख पाएको छ । चन्द्रकोटको अध्यक्षमा माओवादीका युवराज केसी र उपाध्यक्षमा कांग्रेसबाट विष्णुप्रसाद भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन् ।

धुर्कोट गाउँपालिकामा कांग्रेस र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । कांग्रेसले प्रमुख र समाजवादीले उपप्रमुखमा उम्मेदवारी दिएका हुन् । यहाँ एमाले र माओवादीले गठबन्धन गरेका छन् । माओवादीले अध्यक्षमा भूपाल पोखरेल तथा एमालेले उपाध्यक्षमा सिता गिरीलाई उम्मेदार बनाएको छ ।

मदाने गाउँपालिकामा पनि कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन छ । कांग्रेसका महेन्द्रबहादुर कुँवर अध्यक्ष र माओवादीका बेगमबहादुर चन्द बोहरा उपाध्यक्षमा उम्मेदारी दिएका छन् । यहाँ जनमोर्चाका चन्द्रप्रसाद भट्टराईले पनि उपाध्यक्षमा उम्मेदारी दिएका छन् भने जसपाबाट दिनेशकुमार घर्तीले अध्यक्षमा उम्मेदारी दिएका छन् । नेकपा एस वडाध्यक्षसहित ४ वडा सदस्यमा खुम्चिएको छ ।

२०७४ को स्थानीय निर्वाचनमा १२ तहमध्ये ७ वटामा एमालेले नेतृत्व हात पारेको थियो । ५ स्थानीय तहमा नेपाली कांग्रेस र १ स्थानीय तहमा माओवादीले जितेको थियो । अधिकांश पालिकामा कांग्रेस माओवादीको गठबन्धन रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर