जापानमा युक्रेनी शरणार्थी बालबालिकाको ‘चिल्ड्रेन डे’ – Nepal Press

जापानमा युक्रेनी शरणार्थी बालबालिकाको ‘चिल्ड्रेन डे’

जापान । जापानको अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार रसिया र युक्रेनबीच युद्ध सुरु भएयता ७२८ जना युक्रेनीहरु शरण माग्दै जापान प्रवेश गरेका छन् । जसमध्ये १६९ जना १८ वर्ष मुनिका बालबालिकाहरु छन् ।

जापानमा आज बालबालिकाहरुका लागि विशेष दिन हो, अर्थात ‘चिल्ड्रेन डे’। आज जापानभर सार्वजनिक बिदा छ । सबै बालबालिकाहरु आज आफ्ना परिवारसंग घुमघाम गरेर समय बिताउने गर्दछन छन् तर ती युक्रेनी बालबालिकाहरु जो जापानमा छन् उनीहरुलाई दिनरात युक्रेन र युक्रेनमा रहेका आफ़न्तहरुको चिन्ताले सताउने गर्दछ ।

राजधानी किवबाट साथीहरुले जन्मदिनको अवसरमा दिएका पोस्ट कार्ड र आफैले बनाएका साना साना खेलौनाहरू मात्रै सँगै लिएर निस्किएकी १५ वर्षीय क्रिस्टिना ओक्सानीची साथीहरुसँग प्रत्येक दिन सामाजिक संजाल मार्फत पछिल्लो अवस्था र दैनिकीका विषयमा कुरा गरिरहेको बताउँछिन् ।

आफुले पहिले पनि जापान भ्रमण गरेको र आफूलाई जापान मन पर्ने भएता पनि आफ्नो मन किवमै रहिरहेको जस्तो महसुस हुने क्रिस्टिनाले बताइन् ।‘टोकियोको काची निहोनबाशी (निजि माध्यमिक) विद्यालयले मलाई भर्ना लिएको छ, उसलाई धन्यवाद भन्न चाहन्छु’ क्रिस्टिनाले अघि थपिन्,‘मलाई रसायन र गणित पढ्न मन पर्छ, म अब यो सुन्दर देशमा बसेर आफ्नो अध्यन अघि बढाउने छु ।’

त्यस्तै युक्रेनको राजधानी किवबाट जापान आएका ८ बर्षीय जान जिब्रोव्स्की युक्रेनको कुरा सम्झिदा दुख लाग्ने बताउछन् । ‘मैले मेरा हजुरबा हजुरआमालाई पनि सँगै लिएर आउन चाहन्थे’ उनले भने,किवको कुरा सम्झिदा सार्है दुख लाग्छ ।’

जिब्रोव्स्की अहिले जापानी भाषाका लागि संघर्षरत रहेको बताउँछन् । ‘भाषा ट्रान्स्लेट गर्ने डिभाइस प्रयोग गरेर जापानी भाषा पढिरहेको छ’उनले भने,‘मैले पाठ पढेर नसक्दै टिचर अघि बढीसक्ने हुँदा बुझ्न कठिन भएको छ ।’ भाषा नबुझेर गार्हो भएको बताउदै जिब्रोव्स्कीले मेहनत गरेर जापानी भाषा सिक्ने उल्लेख गरे ।

राजधानी किव बाटै शरणका लागि जापान आएकी १३ बर्षीय अनास्तासिया तान्चेनेचुका बुबा गायक हुन् ।अनास्तासिया किवमा हुँदा बुवा सँगै गितार बजाउने र बुवा सँगै कन्सर्टहरुमा जाने गर्थिन, अनास्तासियालाई अहिले तिनै दिन सम्झेर दुख लाग्छ ।

‘मेरो बुवा अहिले युक्रेनमै हुनुहुन्छ र त्यहाका बासिन्दा अनि सुरक्षाकर्मीहरुलाई चिकित्सा उपकरण सहित खाद्यन्न उपलब्ध गराएर स्वयंसेवा गर्नुहुन्छ’अनास्तासियाले भनिन्,‘बुवाले हरेक दिन भेट्न चाहन्छु भन्नु हुन्छ तर म आफु सुरक्षित हुनु महत्वपूर्ण हो भनेर बुवालाई सम्झाउने गर्दछु ।’ पेण्टिङ्ग गर्ने आफ्नो रुचि भएको बताउँदै उनले अब छिट्टै विद्यालय भर्ना भएर अध्ययनमा ध्यान दिने बताइन् ।

पूर्बी डोनेट्स्कबाट जापान प्रवेश गरेका १२ वर्षीय आर्टेम कोफ्तिहा आफु बस्ने सहरमा जताततै रसियन सैनिकहरु रहेको सम्झिदै त्यहाँ बिजुली र पानी समेत नभएको बताउँछन् । ‘त्यहाँ बिजुली पानी पनि थिएन, बाहिर निस्कन खतरा थियो,’ उनले भने,‘अहिले पनि त्यो सम्झिदा डर लागेर आउछ ।’

आफु युक्रेनमा रहेका बेला कसैको अनुहारमा खुसी देख्न नपाएको भन्दै यहाँ (जापानमा) सबैको अनुहार खुसी देखेर युक्रेनको पीडा भुल्ने गरेको आर्टेम कोफ्तिहाको भनाइ छ ।

(जापानको आर्थिक पत्रिका निक्केइको अनलाइन सस्करणमा प्रकाशित सामाग्रीको दीपक गौतमले गरेको अनुवाद ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर