वडाध्यक्ष उम्मेदवारले पसलको सामान लुटेको भन्दै धादिङ प्रहरीमा उजुरी – Nepal Press

वडाध्यक्ष उम्मेदवारले पसलको सामान लुटेको भन्दै धादिङ प्रहरीमा उजुरी

धादिङ । बिक्रीका लागि सदरमुकामबाट खरिद गरी गाउँ लैजाँदै गरेको सामान नेपाली कांग्रेस वडा अध्यक्षका उम्मेदवारले लुटेको पसल व्यवसायीले आरोप लगाएका छन् । वडा अध्यक्षबाटै पसलको सामान लुटिएको भन्दै धादिङको गंगाजमुना गाउँपालिका तावेलका एक व्यवसायी न्याय माग्न सदमुकाम धादिङबेसी आइपुगेका छन् ।

धादिङको उत्तरी भेगमा पर्ने गंगाजमुना गाउँपालिका वडा नम्बर २ तावेलमामा रहेको रहेला रोजी एण्ड रोजन इन्टरप्राईजेज नामको होलसेल पसलमा बिक्रीका लागि लैजाँदै गरिएको करिब चार लाख मूल्य बराबरको सामान सोमबार गाउँ नपुग्दै लुटिएको पसलका सञ्चालक रेशम तामाङले बताए ।

सदरमुकाम धादिङबेसीबाट खरिद गरी दुईवटा ट्रकमा राखेर गाउँ लैजाँदै गरेको दाल, चिनी, प्लाई, पेट्रोल, डीजेल, चामल, खानेपानी पाईपसमेत गरी चार लाख मूल्य बराबरको सामान लुटिएको तामाङले बताए ।

सामान लुटपाटमा नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार बलबहादुर तामाङ संलग्न रहेको भन्दै दोषीमाथि कारबाही गर्न र लुटिएको सामान फिर्ता गरिदिन पसल सञ्चालक तामाङले बुधबार जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी दिएका छन् ।

सामान बोकेर जाँदै गरेको ट्रकलाई चिम्चोक गाउँको वनबाट अघि बढ्न नदिइ गुम्दीतर्फ फर्काएर वडाअध्यक्ष उम्मेदवार बलबहादुरको समूहले लुटेको जाहेरीमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालयले जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रशासनलाई पठाएको जनाएको छ । प्रशासन कार्यालयले पनि इलाका प्रहरी कार्यालय फुलखर्क गंगाजमुनालाई बुधबार नै पत्र पठाइ घटनाको यथार्थ बुझी हराएको सामान खोजी गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

नेपाली कांग्रेसको टोलीले भने पसलको सामान संगै चुनावको मुखमा गाउँमा बाँड्न एमालेका उम्मेदवारले पाइप ल्याएको सूचनाका आधारमा ४८ रोल पाइप नियन्त्रणमा लिएको बताएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवारहरुले लगाएको आरोप झुटो भएको एमाले धादिङका इन्चार्ज एवम् प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का सांसद खेम प्रसाद लोहनी बताए । उनले तत्काल सामान फिर्ता गरिदिन र दोषीलाई कारबाही गर्न पनि आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर