राप्रपाको लिङ्देन एक्सप्रेस- गठबन्धन र एमालेको सवारीलाई ओभरटेक गर्दै – Nepal Press
नेपाल प्रेस टिप्पणी

राप्रपाको लिङ्देन एक्सप्रेस- गठबन्धन र एमालेको सवारीलाई ओभरटेक गर्दै

काठमाडौं । स्थानीय तह निर्वाचन पाँच दलीय गठबन्धन भर्सेस एमालेको रूपमा मात्र प्रचार भइरहेको छ । काठमाडौं लगायतका केही महानगरमा बागी र स्वतन्त्र उम्मेदवारको चर्चा भइरहँदा २०७४ का तीनै तहका चुनावमा फ्लप खाएको राप्रपालाई धेरैले बेवास्ता गरिरहेको छन् । तर राजेन्द्र लिङ्देन गएको ठाउँमा देखिएको भीड भोटमा परिणत हुँदै गर्दा यस पटक धेरैका हिसाबकिताब बिग्रिने सम्भावना देखिँदै छ ।

सहरी क्षेत्रका फ्रस्टेटेड मत जसरी अघिल्लो चुनावमा विवेकशील र साझाका उम्मेदवारतिर गएको थियो त्यसैगरी यस पटक त्यस्ता मत लिङ्देनले लपेट्दै छन् । अघिल्लो चुनावमा ठूला सहरमा विवेकशील र साझाले ल्याएको मतले ठूला दलको हिसाबकिताब तलमाथि पारेको थियो तर गाउँमा उसको प्रभाव थिएन ।

तर यस पटक परिदृश्य फरक छ । राप्रपाले सहरी जनमतमा जसरी प्रभाव बढाउँदै छ,गाउँमा उसले पञ्चायतकालीन पुस्ता होइन नयाँ पुस्ताबाट ठूला दलमाथि हस्तक्षेप गर्दै छ । समकालीन राजनीतिमा ठूला दलमा केपी ओली र साना दलमा राजेन्द्र लिङ्देन व्यक्तिगत रूपमा मासलाई प्रभावित पार्ने नेताका स्थापित भएका छन् । त्यसैले यो चुनावमा राप्रपाले नतिजा आफ्नो पक्षमा कति पार्छ ठ्याक्कै भन्न सकिन्न,तर धेरैको नतिजामा तलमाथि पार्न सक्ने प्रस्टै देखिन्छ ।

लिङ्देन युगको उदय

जति बेला पञ्चायती व्यवस्था अन्त्य भएर बहुदलीय व्यवस्था स्थापनासँगै पूर्व पञ्चहरूले राप्रपा स्थापित गरे, त्यसबेला उनीहरू छि छि दूर दूरको अवस्थामा थिए । त्यही बेला पञ्चायती व्यवस्थाको फल खान पाइ नसकेको राजेन्द्र लिङ्देन राप्रपाको विद्यार्थी संगठनको अध्यक्ष भए । राप्रपाको महाधिवेशन सकिएको पाँच महिना मात्रै भएको छ । लिङ्देन राप्रपाको पञ्चायती लिगेसी र पञ्चायत युगपछि जन्मिएको पुस्ताको पुल बनेर अध्यक्ष निर्वाचित भए ।

अध्यक्ष पदमा कमल थापालाई पराजित गरी नयाँ नेतृत्वको रूपमा उदाएका लिङ्देनका सामुन्ने चुनौतीका पहाड थिए । पुरानो नेतृत्वलाई विस्थापित गरी राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाएका लिङ्देन त्यति बेला दबाबमा आए जति बेला स्थानीय तहको निर्वाचन घोषणा भयो ।

नेपाली कांग्रेसको महाधिवेशनमा अतिथि वक्ताको रूपमा पुगेका लिङ्देनले “संसद् संसद् जस्तो छैन, अदालत अदालत जस्तो छैन, सबै चिजलाई ठेगान लगाउने राजनीतिले हो राजनीति ठिक छैन, राजनीतिलाई ठिक ठाउँमा ल्याउने नेताले हो, नेताले जनताको विश्वास गुमाएको अवस्था छ, गाउँमा नेता आएछ भन्दैनन् कुन चोर आएछ भन्ने अवस्था छ’ भनेर दिएको अभिव्यक्तिले उनलाई राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा ल्याइदियो ।

भनिन्छ लिङ्देनसँग त्यही अभिव्यक्तिका कारण केपी ओली चिढिए । एमालेले कमल थापासँग चुनावी तालमेल गर्नु र राप्रपा र एमालेबिच तालमेल नहुनुको एउटा कारण त्यो पनि थियो । तर कमल थापासँगको तालमेलले एमालेलाई भोट नबढ्ने त्यस पार्टीका नेताहरूले बुझिसकेका छन् ।

लिङ्देनले बोलेका कुराहरू बारे टोल टोलमा चर्चा हुन थाल्यो । देश स्थानीय तहको निर्वाचनको माहौलमा प्रवेश ग¥यो, राप्रपामा नेतृत्व नयाँ भए पनि पार्टीको परम्परागत संरचना चुनाव जित्नका लागि पर्याप्त थिएन, लिङ्देन सबैभन्दा समयको दबाबमा थिए । अध्यक्ष लिङ्देनले फागुनको १८ र १९ गते काठमाडौंमा पार्टीको केन्द्रीय समितिको बैठक बोलाए ।

केन्द्रीय समितिबाट सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने, सबै स्थानीय तहमा आफ्नै उम्मेदवार खडा गर्ने निर्णय गराएर लिङ्देन फागुन २२ देखि देश दौडाहामा निस्किए । लिङ्देन जहाँ पुग्छन् जनताको सहभागिता उल्लेख्य हुँदै गयो ।

उनले विशेष गरी कांग्रेस, एमाले, माओवादीले अवसर पाउँदा देश बनाउन नसकेको, राष्ट्रिय भावना र स्वाभिमान झन् कमजोर हुँदै गएको, भ्रष्टाचारले देश चुर्लुम्म भएको, आफूले भ्रष्टाचार नगर्ने संकल्प लिएको, भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर देश र जनताको सेवामा समर्पित हुन राजनीतिमा सक्रिय रहेको जस्ता विषय उठाउँदै गए । यथास्थितिमा परिवर्तन चाहने तप्काले लिङ्देनलाई सुन्न चाहे, जनसमुदाय लिङ्देनको सभामै पुगेर उनलाई साथ दिन थाले ।

राप्रपाले देशभर दिनहुँ सभाहरूको आयोजना गर्दै गयो, हरेक सभामा केन्द्रीय नेताहरू लिङ्देन आफैँ पुग्न थाले, राप्रपाको सभामा उपस्थिति बढ्दै गयो । काठमाडौंमा जनताको ‘रेस्पोन्स’परीक्षण गर्न चैतको २५ गते काठमाडौंमा राप्रपाले सभाको आयोजना ग¥यो, अध्यक्ष लिङ्देनले चैतको २४ गते इलामको फिक्कलमा आमसभाका लागि समय दिए ।

पार्टीका अन्य नेताहरूले काठमाडौंको सभालाई सफल र भव्य बनाउन अध्यक्ष लिङ्देनलाई इलामको सभा रद्द गर्न र काठमाडौं केन्द्रित हुन सुझाव दिए । पूर्वनिर्धारित कार्यक्रम रहेको र इलाममा तयारी भइरहेकाले रद्द नगरी लिङ्देन इलाम पुगे । साँझ अबेर फर्किएका लिङ्देन सिधै पार्टी कार्यालय पुगेर तयारीको ब्रिफिङ्ग लिए, काठमाडौंको सभा पनि कमजोर भएन ।

चैत २६ गते लिङ्देनले वैशाख १० गतेसम्मको आफ्नो तालिका सार्वजनिक गरे । लिङ्देनको प्रमुख आतिथ्यमा देशका ५२ जिल्लामा ८० भन्दा बढी सभाहरू भइसकेका छन् । काठमाडौं, पोखरा, वीरगन्ज, भरतपुर, विराटनगर, सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगर लगायत देशका अधिकांश जिल्लामा सभा गरेको राप्रपाले उम्मेदवारी दर्ता पछि पनि सभाहरूलाई निरन्तरता दिइरहेको छ ।

कैलालीमा एकै दिन आठ वटा सभाहरू भए, नुवाकोटमा दुई, वीरगन्जमा दुई, लमजुङ, तनहुँमा साना ठूला कोणसभा र सभाहरू भए । आज बुधवार लिङ्देन झापामा हुने विभिन्न सभाहरूमा सहभागी हुन झापा पुगेका छन् । मेचीनगर, हल्दिबारी, भद्रपुर, शिव सतासीमा हुने सभामा सम्बोधन गर्न झापा पुगेका लिङ्देन तीन दिनअघि कचनकवलको घेराबारी सभामा पुगेका थिए ।

कचनकवल र हल्दिबारी अघिल्लो निर्वाचनमा राप्रपाले जितेको स्थानीय तह हुन् । कचनकवलमा राप्रपाका विरुद्ध कांग्रेस, एमालेको गठबन्धन बनेको छ । सबै पालिकाहरूमा कांग्रेस एमाले आमनेसामने भइरहँदा कचनकवलमा कांग्रेस एमालेको गठबन्धन बन्नुले लिङ्देनको तागत कमजोर छैन भन्ने देखिएको छ । राप्रपाको तागत बुझेरै सत्ता गठबन्धनले ओलीको गृह नगर दमकमा राप्रपालाई मेयर दिएका छन् ।

मौन अवधि हुन दिनसम्म लिङ्देनले सभाका लागि विभिन्न जिल्लामा समय दिएका छन् ।

राप्रपाको प्रचार विभाग प्रमुख रहेका प्रवक्ता मोहन श्रेष्ठ पार्टीको पक्षमा देखिएको जनलहरलाई भोटमा रूपान्तरण गर्न अध्यक्षको देशव्यापी दौडाहा भएको बताउँछन् ।

श्रेष्ठ भन्छन्- ‘जताततै अध्यक्षको माग भइरहेको छ, समय व्यवस्थापन गर्न कठिन भइरहेको छ तथापि सकेसम्म बोलाएको ठाउँमा पुग्ने प्रयास गरिरहनु भएको छ, साथीहरूको गुनासो आइरहेको छ तर चुनाव आइसक्यो । हामीले राम्रो परिणाम ल्याउँछौ, कांग्रेस र एमाले नेतृत्वका गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्न सजिलो छैन भन्ने हामीलाई थाहा छ तर हामी उच्च मनोबलका साथ चुनावमा गइरहेका छौँ, प्रवक्ता श्रेष्ठ भन्छन्– ’हामी धेरै स्थानमा जित्दै छौँ, एक एक भोटको महत्त्व छ, नजित्ने ठाउँमा पनि मत खेर पाल्दैनौँ, लोकप्रिय मत जुटाउँछौ, लोकप्रिय मतको जगमा उभिएर प्रादेशिक र संघीय निर्वाचनको रणनीति बनाउँछौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर