मतदाता शिक्षा कार्यक्रम नहुँदा मत बदर हुने आशंका – Nepal Press

मतदाता शिक्षा कार्यक्रम नहुँदा मत बदर हुने आशंका

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन ९ दिन मात्रै बाँकी छ । यस पटकको स्थानीय निर्वाचनमा निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छैन ।

मतदाता शिक्षा सञ्चालन नहुँदा स्थानीय तहको निर्वाचनमा मत बदरको संख्या बढ्न सक्ने सम्भावना र चिन्ता बढेको छ ।

यस पटक प्रत्यक्ष रूपमा कुनै पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएको निर्वाचन आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले बताए ।

प्रत्यक्ष मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएको भए पनि रेडियो, टेलिभिजन, फेसबुक तथा मोबाइलको रिङ व्याकटोन मार्फत मतदाता शिक्षा कार्यक्रम भने सञ्चालन भइहेको उनको भनाइ छ ।

मत बदरको सम्भावनालाई कम गर्न आयोगका तर्फबाट पूर्व तयारी भइरहेको भए पनि मत बदरलाई घटाउन राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुने उनले बताए ।

चुनाव चिन्ह तल माथि र दायाँ बायाँ भएका कारण मतदाताले मतपत्रमा छाप लगाउने बेला अलमलिएर छाप लगाउँदा मत बदरको सम्भावना बढी रहेको छ ।

त्यसैले पनि राजनीतिक दलहरूले आफ्ना मतदाताहरूलाई चुनाव चिन्ह चिनाउन लागि परेमा मत बदरको सम्भावना कम हुने बताइएको छ ।

करोडौँ खर्चेर पनि विगतको निर्वाचनमा मत बदर घटाउन नसकेको भन्दै आयोगले प्रविधिमैत्री युगमा रेडियो, टेलिभिजन, अनलाइन, सामाजिक सञ्जालबाट मतदाता शिक्षालाई प्राथमिकतामा राखेको छ । तर, अधिकांश मतदाताहरू प्रविधिको पहुँचबाट बाहिर रहेका छन् ।

राजनीतिक दलहरू पनि मतदाता शिक्षा कार्यक्रमप्रति उति गम्भीर देखिँदैनन् ।

निर्वाचनमा मतदातासँग मत माग्नुको साथै मतदान कसरी गर्ने शिक्षा पनि सञ्चालन गरे मत बदरको सङ्ख्यामा कमी आउनेतर्फ राजनीतिक दलहरूले पनि ध्यान नदिँदा समस्या आउने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर