गृहमन्त्री खाण आचारसंहिताविपरीत भाइको चुनावी प्रचारमा सहभागी – Nepal Press

गृहमन्त्री खाण आचारसंहिताविपरीत भाइको चुनावी प्रचारमा सहभागी

रूपन्देही । गृहमन्त्री बालकृष्ण खाण निर्वाचन आचारसंहिताविपरीत आफ्ना भाइको चुनावी प्रचारमा खटिएका छन् ।

मंगलबार रुपन्देही आएका उनी बुधबार तिलोत्तमामा विभिन्न चुनावी अभियानमा सहभागी भएका हुन् । तिलोत्तमा नगरपालिकामा उनका सहोदार भाइ रामकृष्ण खाण मेयर उम्मेदवार छन् । रामकृष्ण कांग्रेस र माओवादीकाे गठबन्धनका उम्मेदवार हुन् ।

गृहमन्त्रीको हैसियतमा सरकारी गाडी प्रयोग गरी उनी चुनाव प्रचार अभियानमा सहभागी भएका छन् । गृहमन्त्री खाणले बुधबार तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा आयोजित कांग्रेसको चुनावी कार्यक्रमलाई सम्बोधन गरेका छन् । तर, उम्मेदवार वा कुनै राजनीतिक दलको चुनाव प्रचारमा संघ वा प्रदेश सरकारका मन्त्री वा स्थानीय सरकारका जनप्रतिनिधि सहभागी हुन आचारसंहिताले रोक लगाएको छ ।

आचारसंहिताविपरीत गृहमन्त्री कांग्रेसको चुनावी कार्यक्रममा सरकारी गाडीसहित सहभागी भएका थिए । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले सरकारका मन्त्री कुनै दल वा उम्मेदवारको पक्षमा चुनाव प्रचारमा लागे त्यो आचारसंहिताविपरीत हुने बताए ।

‘मन्त्री वा कुनै पनि जनप्रतिनिधि आफ्नो पदीय मर्यादाविपरीत कुनै पनि चुनावी कार्यक्रममा सहभागी हुन पाइँदैन । सहभागी भए आचारसंहिताविपरीत हुन्छ’, उनले भने ।

यसअघि तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरे आचारसंहिताविपरीत एमालेको चुनावी कार्यक्रममा सहभागी भएको भन्दै कांग्रेस कार्यकर्ताले निर्वाचन आयोगमा उजुरी दिएका थिए । उजुरीपछि घिमिरेसँग आयोगले स्पष्टीकरणसमेत सोधिसकेको छ । तर घिमिरेले पनि आफूले सरकारी सुविधा फिर्ता गरिसकेको भन्दै चुनावी कार्यक्रममा नगर प्रमुखको हैसियतमा सहभागी नभई दलीय हैसियतमा सहभागी भएको बताए । उनी एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर