सुन्दरहरैंचाका एमाले उम्मेदवार भन्छन्ः पहिलाे काम मेयरकक्षको गोप्य कोठा भत्काउँछु (भिडिओसहित) – Nepal Press

सुन्दरहरैंचाका एमाले उम्मेदवार भन्छन्ः पहिलाे काम मेयरकक्षको गोप्य कोठा भत्काउँछु (भिडिओसहित)

सुन्दरहरैंचा (मोरङ) । मोरङको विराटनगरपछिको सबैभन्दा धेरै मतदाता भएको सुन्दरहरैंचा नगरपालिकाको मेयरमा एमाले उम्मेदवार केदारप्रसाद गुरागाईंले आफूले जिते मेयर कक्षमा हुने गोप्य कोठा भत्काउने बताएका छन् ।

अहिले चुनावी अभियानमा रहेका गुरागाईंले जनताको काम गर्ने मेयरलाई गोप्य कोठाको आवश्यकता नपर्ने भन्दै जितेपछि उक्त गोप्य कोठा भत्काउने उद्घोष गरेका हुन् ।

उनले उपभोक्ता समितिहरुले भोग्नुपर्ने झन्झटको समाधानसमेत आफूले नीतिगत रुपमा गर्ने बताए । गत चुनावमा नेपाली कांग्रेसका शिव ढकालसँग ९६८ मतले पराजित गुरागाईंले यस पटक जित्ने दाबी गरे । गत चुनावमा एमालेले नगर परिषद्मा उपमेयरसहित बहुमत जनप्रतिनिधि जितेको थियो ।

एमालेकै अन्तरघातले मेयरमा पराजय भोगेको एमाले नेताहरुले भन्दै आएका थिए । अहिले भने एमालेमा अन्तरघात नहुने भन्दै एमालेजनहरु चुनावी अभियानमा छन् । यसै मेसोमा ३२ पृष्ठको ‘निर्वाचन प्रतिबद्धतापत्र’ बोकेर ७१ हजार ७५६ मतदाता भएको सुन्दरहरैंचा नगरपालिकामा घरदैलो गरिरहेका केदारप्रसाद गुरागाईंसँग नेपालप्रेसकर्मी विराट अनुपमले गरेको कुराकानी नेपाल टकमा ।

– अहिले घरदैलो अभियान कस्तो भइरहेको छ ?

नेकपा एमालेको तर्फबाट हामी उम्मेदवारहरुले घरदैलो अभियान सञ्चालन गरिरहेका छौं । विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम सञ्चालन गरिरहँदा व्यापक रुपमा कार्यकर्ताको मात्रै हैन जनताको ठूलो पंक्ति हाम्रो घरदैलो कार्यक्रममा संलग्न हुनुभएको छ । एकदम क्रियाशील हुनु भएको छ । उहाँहरुमा अत्यन्तै धेरै उत्साह भएको हामीले पाएका छौं ।

जनताको घरदैलोमा पुग्दा विजय भएको अनुभूति हुने खालको सम्मान र स्वागत जनताको तर्फबाट हामीले पाएका छौं । अहिलेको माहोल हेर्दा एमाले पूर्ण रुपमा विजयको नजिक छ भन्ने हामीले अनुभूति गरेका छौं । जनताले अत्यन्तै सकारात्मक प्रतिक्रिया दिएको हामीले महसुस गरेका छौं ।

– नयाँ मतदाताहरु थपिएका छन् । दुवैतर्फका उम्मेदवार पुरानै हुनुहुन्छ ? नयाँ मतदाता तपाईंले तान्नुहुन्छ कि प्रतिस्पर्धीले ?

मूलतः अहिले मतदाताहरु अघिल्लो पटकभन्दा १८/१९ हजार बढेका छन् । नयाँ मतदाताहरुमा एक हिसाबले नेपालको राष्ट्रिय राजनीतिको कारणले पनि र स्थानीयस्तरमा भएका कतिपय कुशासन र अव्यवस्थाका कारणले आज धेरै युवा र नयाँ मतदाताहरु एमालेको पक्षमा आकर्षित भएका छन् ।

खास गरेर हाम्रो पार्टीले राष्ट्रिय राजनीतिमा लिएको दृष्टिकोण, समाजमा रहेको विभिन्न पक्षको एकताको सूत्रको रुपमा एमाले, विकास र पूर्वाधारको हिसाबमा अगुवाइ गर्ने एमाले, सामाजिक सुरक्षाका दृष्टिकोणले सबैलाई समावेश गरेर सहयोग गर्न सक्ने दृष्टिकोण भएको एमाले र हरेर हिसाबमा एमालेको पहिचान स्थापना भएको अवस्थामा अहिले एमालेको विकल्पमा अन्य हुन सक्दैन भन्ने दृष्टिकोण युवा पंक्तिमा धेरै देखिएको हामीले महसुस गरेका छौं ।

– एमालेबाट विभाजित नेकपा एस गठबन्धनबाट चुनाव लडिरहेको छ । यसले तपाईंलाई कस्तो असर पर्छ ?

निश्चित रुपमा हाम्रोविरुद्धमा केही पार्टीहरु गठबन्धनमा छन् । तर, मूलतः यो निर्वाचन भनेको नेपाली जनताको अभिमतबाट निर्णय गरिने भएकोले कुनै अमुक दलका अमुक नेताको एकता र गठबन्धनले त्यस्तो केही असर पर्छ जस्तो लाग्दैन । अहिले अभियानको क्रममा पनि चुनावी वातावरणलाई हेर्ने हो भने पनि त्यसको असर शून्य छ भन्दा पनि हुन्छ ।

हाम्रा प्रतिस्पर्धीहरु अहिले यो ढंगमा जनताको तहमा अभियान लिएर जानुपर्ने हो, त्यो सकिरहेको स्थिति पनि हामीले देखिरहेका छैनौं । बाहिरी रुपमा जुन खालको हौवा छ, त्यो ढंगको हाम्रो परिवेश ग्राउन्ड रियालिटी त्यो खालको देखिँदैन । एमालेको पक्षमा व्यापक जनलहर छ । यसलाई कुनै शक्तिले पनि रोक्न सक्छ जस्तो मलाई लाग्दैन ।

– २०७४ सालमा एमालेले मेयर गुमायो तर नगरसभामा बहुमत प्राप्त गर्यो । अबको सिन कस्तो हुन्छ ?

अहिलेको चुनावी अभियान हेरिरहँदा आजसम्मको यो घरदैलो हाम्रो छैटौं हो । र, जुन ढंगले जनताको व्यापक सहभागी छ, जुन ढंगको उत्साह छ त्यो हेर्ने हो भने निर्वाचनपछि १२ वडा र मेयर–उपमेयर गरेर कूल ६२ जनप्रतिनिधिमा हामी ६२ सिटै जित्छौं भन्ने ठाँउमा आएका छौं ।

– तपाईंलाई नै मतदाताहरुले जिताउनुपर्ने एजेन्डाहरु के के छन् ?

छोटोमा भन्दा मूलतः एमाले भनेको यो देशमा ‘समृद्ध मुलुक र सुखी नेपाली’ बनाउने एक अभियन्ता पार्टी भएकाले यो नगरलाई पनि हामी त्यही ढंगले अगाडि बढाउन चाहन्छौं । मूलतः हामी भौतिक पूर्वाधारको विकासलाई हामीले प्राथमिकतामा राख्छौं नै । त्योदेखि बाहेक यहाँको शैक्षिक गुणस्तर सुधारको निम्ति हामीले महत्वपूर्ण एजेन्डाहरु ल्याएका छौं । यहाँको प्राकृतिक प्रकोपको हिसाबमा देखिएको नदी कटानको समस्यालाई एजेन्डा बनाएका छौं ।

यहाँका श्रमजीवी सर्वहाराका न्यून आय भएका जनताको आय कसरी वृद्धि गराउन सक्छौं, कसरी उहाँहरुमा स्वरोजगार सिर्जना गर्न सक्छौं र यो नगरलाई भौतिक रुपमा मात्रै हैन मानवीय रुपमा पनि कसरी समृद्ध र विकसित बनाउन सक्छौं भन्ने ढंगले हामीले योजनाहरु र कार्यक्रमहरु प्रतिबद्धता–पत्रमार्फत् सार्वजनिक गरिसकेका छौं । त्यसको आधारमा एमालेको पक्षमा व्यापक जनताको समर्थन प्राप्त गरेका छौं ।

– अहिले स्वतन्त्र उम्मेदवार डाक्टर प्रकाश भट्टराई उठ्नुभएको छ । उहाँबाट गठबन्धन र नेकपा (एमाले) मा कसलाई घाटा छ ?

मूलतः अहिलेको बहुदलीय प्रतिस्पर्धाभित्र हामीलाई ठूलो दलहरुकै गठबन्धनले कुनै प्रभाव पर्छ भन्ने ठाउँमा छैनौं । स्वतन्त उम्मेदवार साथीहरु जो उठ्नुभएको छ, उहाँहरुलाई हामीले नउठ्न अनुरोध गरेका पनि हौं । तर पनि उहाँहरु उठ्नुभएको छ । यसले हामीलाई खासै घाटा हुन्छ भन्ने ठाउँको हाम्रो बुझाइ छैन ।

मलाई लाग्छ, यो अत्यन्तै राजनीतिक रुपमा सुझबुझ भएको क्षेत्र हो । त्यसमा पनि वामपन्थी मुभमेन्टहरुको सन्दर्भमा हेर्ने हो भने वामपन्थी आन्दोलन पनि उर्बर क्षेत्र भएकाले कुनै पनि खालका यस्ता उम्मेदवारीहरुले हामीलाई असर पर्छ जस्तो लाग्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर