बुटवलमा एमालेकाे गढ भत्काउने पाँचदलीय गठबन्धनको मुख्य संकल्प, अरु के-के छन् ? – Nepal Press

बुटवलमा एमालेकाे गढ भत्काउने पाँचदलीय गठबन्धनको मुख्य संकल्प, अरु के-के छन् ?

रुपन्देही । नेकपा एमालेले आफ्नो गढ मानिरहेको रुपन्देहीको बुटवल उपमहानगरपालिकामा पाँचदलीय गठबन्धनले सामूहिक संकल्पपत्र सार्वजनिक गरेका छन् ।
गठबन्धनले बुधबार सामुहिक प्रतिवद्धतापत्र सार्वजनिक गर्दै एकजुट रहेको सन्देश दिएका छन् । बुटवल उपमहानगरमा कांग्रेसबाट प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे, एकीकृत समाजवादीबाट उपप्रमुख पदका उम्मेदवार चिनबहादुर गुरुङ, पाँच दलका नेताहरु जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य कमल खनाल, एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरु डा. बालकृष्ण चापागाइँ र राजु गुरुङ, माओवादी केन्द्रका नेता महेन्द्र भुसाल, राष्ट्रिय जनमोर्चाका पदम श्रेष्ठलगायतले संकल्पपत्र सार्वजनिक गरेका थिए ।

संकल्प पत्र सार्वजनिक गर्दै उनीहरुले बुटवललाई समृद्ध बनाउनका लागि पाँच दल एकैठाउँमा रहेको प्रतिबद्धता जनाएका थिए ।

उनीहरुले बुटवलमा विकासका ठूला ठूला चर्चा गरिएपनि बुटवलबासीले विकासको अनुभूति गर्न नपाएकाले पाँच दल एकै ठाउँमा उभिएर नगरलाई साझा नगरका रुपमा विकास गर्ने बताएका थिए ।

साझा संकल्प पत्रमा निजी तथा दलीय प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोग अन्त्य गर्ने, वार्षिक रुपमा जनप्रतिनिधिहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने, जनप्रतिनिधिहरुको एक महिनाको तलब नगरबासीहरुको स्वास्थ्य बिमा कार्यक्रमका लागि योगदान गर्ने प्रतिबद्धता जनाइएको छ ।

संकल्पपत्रमा भनिएको छ, ‘बुटवल उपमहानगरपालिका कार्यालयलाई आम नगरवासीको अपनत्व झल्किने समावेशी र अपांगतामैत्री बनाउदै साझा चौतारीका रुपमा विकास गरिनेछ । मेयर युथ एडभाइजरी बोर्ड गठन गरिनेछ ।’

पाँच दलले देशविदेशमा रहेका बुटवलका बुद्धिजीवि र व्यवसायिक व्यक्तिहरुलाई बुटवलमै फर्केर आफ्नो पेशा व्यवसाय सञ्चालन गर्नसक्ने बनाउनका लागि अनुसन्धानविद्हरु समेटेर बुटवलका लागि प्रबुद्ध परिषद् गठन गर्ने योजना अघि सारेका छन् ।

घटौं लाइन लागेर सार्वजनिक सेवा लिनुपर्ने बाध्यतालाई हटाउन कागजविहिन, व्यक्ति स्वयम् उपस्थित हुन नपर्ने र लाईन लाग्न नपर्ने गरी सेवा दिने प्रतिबद्धता संकल्प पत्रमा जनाइएको छ ।

यस्तै विशिष्ट सार्वजनिक सेवा दु्रत रुपमा घरघरै पुर्याइने, सार्वजनिक प्रशासनलाई भ्रष्ट्राचार र अनियमितता मुक्त बनाउन सेवा प्रवाहका आधुनिक र सफल अन्तर्राष्ट्रिय अभ्यासहरुको अध्ययन गरी अवलम्बन गर्ने र सार्वजनिक सेवा प्राप्त गर्न एकद्वार नीति अवलम्बन गरी सिफारिस, राजस्व सेवा, घर–नक्सा इजाजत जस्ता सेवाहरुलाई डिजिटाइज र झन्झटमुक्त बनाउने योजना यी दलले अघि सारेका छन् ।

हाल गुनासो लिएर जाने जनतालाई जनप्रतिनिधिले हप्काएर पठाउने गरेको अवस्थालाई चिर्दै गुनासो सुन्नका लागि हेलो मेयर डेक्स स्थापना गर्ने योजना छ ।

बुटवलमा हाल मनपरी कर तिर्नुपर्ने अवस्था रहेकोमा गठबन्धनले व्यवसाय करको दर व्यापारको प्रभावका आधारमा निर्धारण गर्ने, पालिकाले लिदै आएको घरबहाल कर, ई रिक्सा सवारी कर, हाटबजार बैठकी करलगायतका करका दर एवम् सिफारिस शुल्क घटाइने भनेको छ ।

यस्तै सबै वडाको दीगो र सन्तुलित विकासका लागि न्यायोचित बजेट विनियोजन गर्ने प्रतिबद्धता गठबन्धनले गरेको छ ।

बुटवल उपमहानगरको आफ्नै अस्पताल नरहेको अवस्थामा गठबन्धनले बुटवलमा दुई वटा नगर अस्पताल निर्माण गर्ने योजना ल्याएको छ ।

यस्तै संकल्पपत्रमा भनिएको छ, ‘हरेक वडामा प्रयोगशाला र आकस्मिक सेवासहितको वडा स्वास्थ्यसेवा केन्द्र स्थापना गरिनेछ । वडा स्वास्थ्य केन्द्रमार्फत् महिलाहरुका लागि निःशुल्क सेनिटरी प्याडको व्यवस्था मिलाइने छ । स्वास्थ्य बिमामार्फत् उपचार लिएका सेवाग्राहीलाई वडा स्वास्थ्य सेवा केन्द्रबाट औषधी उपलब्ध गराइने छ । बुटवल उपमहानगर क्षेत्रमा दुईवटा नगर अस्पतालको निर्माण गरिने छ । नगरभित्र निःशुल्क एम्बुलेस सेवा उपलब्ध गराइने छ ।’

त्यस्तै आयुर्वेद तथा प्राकृतिक चिकित्सालयको स्थापना तथा विकास गर्ने र लुम्बिनी प्रादेशिक आयुर्वेद अस्पताललाई स्तरोन्नति गर्ने भनिएको छ ।

यस्तै नगरबासीलाई स्वच्छ खानेपानीको पहुँचभित्र ल्याउने, उपभोक्ता समूहबाट सञ्चालित खानेपानी आयोजनाहरुलाई आवश्यकता अनुसार विकास, विस्तार र सहयोग उपलब्ध गराउने योजना अघि सारेको गठबन्धनले झुम्साखोला खानेपानी परियोजना यथाशिघ्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

‘बुटवलको फोहोर व्यवस्थापनमा ५आर प्रणाली अवलम्बन गर्दै अन्य पालिकाहरु समेतको समन्वयमा अत्याधुनिक फोहोर प्रशोधन केन्द्र स्थापना गरिने छ । फोहोरको प्रकृति अनुसार घरेलु फोहोर संकलन कार्यलाई सहज बनाउन टोल विकास समितिहरुसंगको सहकार्यमा टोलस्तरमा रंगीन डस्टविनहरु राखिने छ । घरेलु फोहोर संकलन वापत लिइदै आएको दस्तुर घटाइने छ’, गठबन्धनले संकल्प पत्रमा भनेको छ, ‘बुटवलका प्रमुख बजार एवम् केन्द्रहरुमा स्तरीय, सुविधाजनक र अपांगतामैत्री सार्वजनिक शौचालय निर्माण गरिने छ । शौचालयको सरसफाइ र सञ्चालनका लागि आवश्यक स्रोतको व्यवस्था गर्न कोष खडा गरिने छ ।’

यस्तै संकल्पपत्रमा आवश्यक रंगरोगन, ट्राफिक चिन्ह, जेब्रा क्रसिङ, सेन्सरयुक्त ट्राफिक बत्ती आदिको व्यवस्था गर्दै सडक पूर्वाधारलाई यात्रुमैत्री बनाउने योजना अघि सारिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर