आचारसंहिताविपरीत मत माग्दै रतुवामाईका मेयर राई – Nepal Press

आचारसंहिताविपरीत मत माग्दै रतुवामाईका मेयर राई

विराटनगर । मोरङको रतुवामाई नगरपालिकाका मेयर रविन राई भने सरकारी स्रोतसाधन र सम्पत्तिको दुरुपयोग गरी निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारमा लागेका छन् ।

उनले नगरपालिकाकाे स्रोतसाधन र गाडीसमेत दुरुपयोग गर्दै नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत माग्दै चुनावी प्रचारमा हिँडेका हुन् ।

उनी यतिबेला नेपाली कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्दै चुनावी प्रचारमा हिँड्नेमात्र नभई विभिन्न स्थानमा आयोजना गरिएको चुनावीसभामा भाषणसमेत गर्दै हिँडिरहेका छन् । मेयर राईले हालसम्म पदबाट राजीनामा दिएका छैनन् ।

निर्वाचन आचारसंहिताबमोजिम बहालवाला मेयरले कुनै पनि दल तथा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न पाउँदैनन् । तर, उनले निर्वाचन आयोगलाई नै चुनौती दिँदै पदको दुरुपयोग गरिरहेको स्थानीयले बताएका छन् ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पार्टीको चुनावी प्रचारमा हिँड्नुपर्ने भएकाले नैतिकता देखाउँदै राजीनामा दिएका थिए । तर, रतुवामाईका मेयर राई भने आचारसंहिताविपरीतका गतिविधिमा सक्रिय रहेको स्थानीयको भनाइ छ । उनी २०७४ सालमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रतुवामाईका प्रमुख निर्वाचन अधिकृत राजु अधिकारीले मेयरले कुनै पनि दल विशेषको चुनावी प्रचारमा सहभागी हुन नपाउने भएकाले त्यसो गरेको पाइएमा कारबाही हुने बताए ।

यस्तै प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कस्यप अधिकारीले मेयर राईले आचारसंहिताविपरीतको कार्य गरेको खण्डमा कारबाहीको भागीदार बन्ने बताए ।

आचारसंहिता उल्लंघन गरेको विषयमा मेयर राईले निजी गाडी लिएर चुनावमा हिंडेको प्रतिक्रिया दिएका छन् । आफूले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको उनको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर