किराँत धर्म गुरु आत्मनन्दको आशीर्वाद लिन ओली र नेम्वाङ लारुम्बातर्फ – Nepal Press

किराँत धर्म गुरु आत्मनन्दको आशीर्वाद लिन ओली र नेम्वाङ लारुम्बातर्फ

झापा । चुनावी अभियानका क्रममा गृहजिल्ला झापा आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली किराँत धर्मगुरु आत्मानन्द लिङ्देनलाई भेट्न इलामको लारुम्बातर्फ लागेका छन् ।

संसदीय दलका उपनेता तथा पार्टी उपाध्यक्ष सुवास नेम्वाङसहित इलामको माङ्सेवुङस्थित किराँत धर्मको आस्थाकेन्द्र मानिने लारुम्बामा धर्मगुरु लिङ्दने बस्छन् । इलामको चुनावीसभामा सम्बोधन गर्नुअघि ओली र नेम्वाङले आत्मानन्द लिङ्देनसँग भेट गरेर आशीर्वाद लिन लागेको एमाले स्रोतले जनाएको छ ।

यसअघि पनि ओली र नेम्वाङमात्र होइन, राष्ट्रपति विद्यादेवी भण्डारीले समेत धर्मगुरुलाई भेट्ने गरेका थिए । ओली प्रधानमन्त्री भएकै बेला धर्मगुरुको आग्रहबमोजिम सरकारले किराँत धर्म गुरु फाल्गुनन्द जयन्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

किराँत धर्म दर्शनका व्याख्याता तथा बिसौं शताब्दीका महान सुधार मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको पुनः अवतारका रुपमा आत्मानन्दलाई किराँत धर्मावलम्बीले सम्मान गर्छन् ।

इलामको मात्र होइन, झापाको दमकमा समेत धर्मगुरुको ठूलो प्रभाव छ । दमकमा पाँच दलीय गठबन्धनले एमाले हराउन राप्रपालाई साथ लिएर चुनौती दिइरहेका छन् ।

आजै ओलीले इलामको माइ नगरपालिकको सभालाई सम्बोधन गरेर पुनः झापा फर्की सुरुङ्गाको कार्यक्रममा सहभागी हुने एमालेले जनाएको छ । ओली आजै साँझ काठमाडौं फर्किने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर