गठबन्धनका ‘बागी’ उम्मेदवार: जिते पार्टीको सम्मान, हारे कारबाही ! – Nepal Press

गठबन्धनका ‘बागी’ उम्मेदवार: जिते पार्टीको सम्मान, हारे कारबाही !

कैलाली । कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट रामसमझ चौधरी र माओवादीको तर्फबाट अघिल्ला अध्यक्ष लाजुराम चौधरी उम्मेदवार छन् । उनीहरू दुवैजनाले उम्मेदवारी दर्ता गराउनु अघिल्लो रात गठबन्धनमा रहेका तीन दलबीच उक्त गाउँपालिकाको अध्यक्ष माओवादीले लिने र उपाध्यक्ष कांग्रेसले लिने गरी भागबण्डा गरेका थिए ।

त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रबाट लक्ष्मी सत्गौवा थारुले पनि उम्मेदवारी दिइन् । उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट उपाध्यक्षमै निर्वाचित भएकी थिइन् । उनी फेरि गठबन्धनको उम्मेदवारलाई पराजित गरेर आफू निर्वाचित हुने दाबी गर्छिन् ।

कैलालीको कैलारी गाउँपालिका त एउटा उदाहरण मात्रै हो । चुरे, गाउँपालिका, जोशीपुर गाउँपालिका र गोदावरी नगरपालिकामा पनि पार्टीकै आधिकारी उम्मेदवार गठबन्धनका उम्मेदवारको बागी भएका छन् । उनीहरूले पार्टीको निर्वाचन चिह्नमै मत मागिरहेका छन् ।

चुरे गाउँपालिकाको अध्यक्ष एकीकृत समाजवादीको भागमा र उपाध्यक्ष नेपाली कांग्रेसको भागमा परेको थियो । अहिले समाजवादीको आधिकारी टिकट लिएर उपाध्यक्ष र अध्यक्ष दुवैमा उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्षमा माओवादी केन्द्रका डिजा सिजापतिको पनि उम्मेदवारी छ ।

कैलालीमा प्रमुख र उपप्रमुखमा मात्रै गठबन्धनविरुद्ध ८ जनाले बागी उम्मेदवारी दिएका छन् । स्थानीय तह निर्वाचन ऐन दफा २३ को पाँचमा दलले आफ्नो आधिकारिक उम्मेदवारलाई दिएको मनोनयन पनि फिर्ता दिनसक्ने उल्लेख गरिएको छ । त्यही ऐनमा टेकेर १६ गते ४ः४४ मा टेकेर टिकाराम ढुङ्गानाको उम्मेदवारी कांग्रेस केन्द्रीय कार्यालयले नै खारेज गरेको थियो । उनले कांग्रेसको तर्फबाट आधिकारी उम्मेदवार भएर मनोनयन दर्ता गराएका थिए ।

१६ गते सम्म उम्मेदवार वा पार्टीले फिर्ता नलिएका उम्मेदवार आधिकारिक भएको चुरे गाउँपालिकाका निर्वाचन अधिकृत राइभान कुन्जेडाले जानकारी दिए ।

‘उम्मेदवार फिर्ता लिने समयसम्म फिर्ता नभएका उम्मेदवारहरुनै आधिकारिक हुन्छन्’, उनले भने ‘त्यसपछि पार्टीले हाम्रा उम्मेदवार होइनन् भने पनि निर्वाचन आयोगले त्यसलाई मान्यता दिँदैन ।’

उम्मेदवारी फिर्ता लिने समयसम्म पनि कारबाही नगरेको गठबन्धनले उनीहरूलाई त्यसको तीन दिनपछि नसियत दिएको छ । गठबन्धनविरुद्ध उत्रिएका आठजनाको नाम सार्वजनिक गर्दै उनीहरू गठबन्धनको आधिकारिक उम्मेदवार नभएको भन्दै आधिकारिक उम्मेदवारलाई सघाउन निर्देशन जारी गरिएको छ । त्यस्तो नगरेको पाइए कारबाही गर्ने तीनै दलले समझदारी गरेका छन् ।

तर, पार्टीको टिकट पाएर उम्मेदवारी दर्ता गराएकाहरू अहिले मैदानबाट पछि हट्ने मुडमा छैनन् । उनीहरू तीव्र चुनावी प्रचारप्रसारमा छन् ।

‘हामीलाई पार्टीले गरेको कारबाहीले केही फरक पर्दैन’ कैलाली गाउँपालिकामा गठबन्धनविरुद्ध उम्मेदवारी बनेको माओवादी नेता लक्ष्मी सत्गौवाले भनिन् , ‘हेरौँ कारबाही कहिलेसम्म हुन्छ ?’

जिते सम्मान, हारे कारबाही !

१९ वैशाखमा कांग्रेस कैलाली सभापति नारायणदत्त भट्ट, माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी ‘उत्सव’, एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा इन्चार्ज दीर्घ सोडारीले हस्ताक्षर गरेको विज्ञप्तिमा उनीहरू आठैजना पार्टीको आधिकारिक उम्मेदवार नभएको बताइएको छ ।

तर, पार्टीका टिकट लिएर मनोनयन दर्ता गरेकाहरू अहिले पार्टीको चुनाव चिह्नमा मत मागिरहेका छन् । उनीहरूलाई गठबन्धनको बैठकले के फरक पर्छ त ? नेपाली कांग्रेसका एक नेताले भने, ‘उहाँहरू पराजित भए पार्टीबाटै कडा कारबाही हुन्छ, जित्नु भएको अवस्थमा पार्टीमा फर्किनुहुन्छ ।’

कांग्रेसको मात्रै, होइन एकीकृत समाजवादी र माओवादीका नेताहरू पनि उनीहरूको कारबाहीको विषयमा यस्तै टिप्पणी गर्छन् ।

वडामा मित्रवत् प्रतिस्पर्धा

१३ स्थानीय तह रहेको कैलालीमा अधिकांश स्थानीय तहमा १० गते राति गठबन्धनका दलहबीच प्रमुख र उपप्रमुखमा सहमति भएको थियो । तर, यहाँका १२६ वडाहरूमा भने गठबन्धन भद्रगोल छ ।

गठबन्धनका दलहरूबीच २०७४ सालको चुनावमा माओवादीले जितेका वडामा माओवादीले उम्मेदवार बनाउने, कांग्रेसले जितेका वडामा कांग्रेसले उम्मेदवार बनाउने र एकीकृत समाजवादीमा सनाखत गरेका वडामा एकीकृत समाजवादीले उम्मेदवार बनाउने सहमति भएको थियो । बाँकी एमाले रहेको २४ वडाहरू तीन भागमा बाँड्ने सहमति भएको हो । तर, वडाहरूमा योअनुसारको तालमेल भएन ।

तीनै दलहरूले सबैजसो वडामा उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी फिर्ता गर्ने समयसम्म पनि उम्मेदवारी फिर्ता नभएपछि अहिले कैलालीको सबै वडाहरूमा तीन दलबीच मित्रवत् प्रतिस्पर्धा भइरहेको हो ।

‘सुरुमा सहमति गर्ने सहमति भएको थियो तर, पछि सबैले वडाहरूमा उम्मेदवारी दिन लगाए’ कांग्रेसका एक नेताले भने, ‘सबै आफ्नो अडानमा रहेपछि मित्रवत् प्रतिस्पर्धा गर्ने अवस्था आयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर