‘संविधान र चुनावी प्रक्रियाले नै गठबन्धन खोजेको छ, माओवादीले यसको नेतृत्व गर्‍यो’ (भिडिओ) – Nepal Press
प्रचण्डसँग कुराकानी

‘संविधान र चुनावी प्रक्रियाले नै गठबन्धन खोजेको छ, माओवादीले यसको नेतृत्व गर्‍यो’ (भिडिओ)

'अरुले जनता झुक्याउन घोषणापत्रमा हावा कुरा लेखे, हामीले स्थानीय मुद्दा उठाएका छौं'

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष  एवं  पूर्व प्रधाप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको बताएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेपछि यही वैशाख ३० गते दोश्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रेस सेन्टरसँगको कुराकानीका क्रममा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको बताए ।

गठबन्धन र अहिलेको स्थानीय तहको निर्वाचनमा माओवादीले नै नेतृत्व गरेको र गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको उनको भनाइ छ । माओवादीले ‘जसको नीति उसको नेतृत्व’ भन्ने नारालाई स्थानीय तहको निर्वाचनमार्फत् स्पष्ट ढंगले कार्यान्वयन गर्ने पनि उनले बताए ।

उनले यो गठबन्धन बचाउनको निम्ति रातदिन खटेर काम गरेको बताए । माओवादी केन्द्रले नै अहिले पनि राजनीतिक एजेण्डाको, गठबन्धनको, सरकारको, यी सबै प्रक्रियाको पनि नेतृत्वदायी भूमिका खेलिरहेको प्रचण्डको जिकिर छ ।

अध्यक्ष प्रचण्डसँग स्थानीय तह निर्वाचनका केन्द्रित रहेर गरिएको कुराकानी

– वैशाख ३० को निर्वाचनको माहोल कस्तो पाउनुभएको छ ?

सबैभन्दा पहिलो कुरा निर्वाचनतिर जनताको अभिरुचि बढ्दै गएको देखेको छु । सबै राजनीतिक दलहरु आफ्ना एजेण्डा लिएर परिचालित छन् । वातावरण सकारात्मक नै बन्दै गएको महसुस गरेको छु । यसपटकको निर्वाचनको मुख्य विशेषता के हो भने संविधान घोषणा भइसकेपछि पहिलो निर्वाचन सामान्यतः संविधान कार्यान्वयनको प्रक्रियाको एउटा आधार खडा गर्ने निर्वाचनजस्तो थियो । तर, यसपटकको निर्वाचन महत्वपूर्ण छ । किनकि गत सालदेखि संविधानलाई नै उल्ट्याउन खोज्ने र नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका उपलब्धिहरु समावेशी, समानुपातिक प्रणाली, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता जे विशेषता छन्, तिनलाई उल्ट्याउन खोज्ने, जनताले प्राप्त गरेका मौलिक अधिकारहरु जसले आर्थिक समृद्धिको आधारको भूमिका पनि खेल्छन्, तिनलाई पनि उल्ट्याउन खोज्ने एउटा प्रवृत्ति देखा पर्‍यो । हामी सबैलाई थाहा छ, प्रतिगमनविरोधी आन्दोलन नै गर्नुपर्ने स्थिति भयो ।

६ वटा महानगर र ११ वटा उपमहानरपालिकामा उम्मेदवार उठाउने विषयमा गठबन्धनभित्र गम्भीर छलफल, परामर्श र गृहकार्य गरेरै सर्वसम्मत ढंगले निर्णय लिइएको छ त्यसमा दायाँबायाँ हुने स्थिति म देख्दिनँ । बीचमा एकाध बागी भनेर उठेका भएता पनि धेरैजसो फिर्ता भइसकेका छन् । भरतपुरमा चाहिँ बाँकी छ तर त्यसले गठबन्धनको त्यो निर्णयमा कुनै तात्विक फरक पार्ला जस्तो लाग्दैन । त्यस्तो बाधा होला जस्तो देखिँदैन ।

अहिले पनि दुईटा गठबन्धन जस्तो भएको छ, दुइटा मोर्चा जस्तो भएको छ यसपटकको निर्वाचनमा । एकातिर संविधानका मूलभूत विशेषता र मान्यतालाई अस्वीकार गर्ने प्रतिगामी प्रवृत्ति र त्यस किसिमको मोर्चा अगाडि आएको छ भने अर्कोतिर प्रतिगमनविरोधी आन्दोलनको क्रममा लोकतन्त्रको रक्षा, संविधानको रक्षा र राष्ट्रको रक्षा गर्ने भनेर गठबन्धन बन्यो- वाम लोकतान्त्रिक गठबन्धन । यी दुई गठबन्धन आमनेसामने छन् । त्यसकारण यो पटकको निर्वाचनको मूलभूत विशेषता संविधानका उपलब्धिहरुलाई रक्षा गर्ने र अझ परिमार्जन गर्ने एउटा विचार, प्रवृत्ति । अर्कोतिर, यो संविधानलाई उल्ट्याउन खोज्ने र देशलाई कही न कही पछाडि धकेल्न खोज्ने प्रवृत्ति अर्कोतिर भएर चुनाव भइरहेको छ । बीचमा अरुहरु जो साना पार्टीहरु छन्, तिनीहरुको खासै यसमा तात्विक भूमिका हुन्छ भन्ने मलाई लाग्दैन । त्यसकारण एउटा प्रतिगमनकारी र अर्को अग्रगमनकारी बीचको संघर्ष नै यसपटकको स्थानीय तहको निर्वाचनका साथै प्रदेश र संघको निर्वाचनसम्म पुग्दा पनि यही दुईटा प्रवृत्ति र दुईटा मोर्चाकै बीचमा मुख्य प्रतिस्पर्धा हुन्छ ।

– निर्वाचन आउन १० दिन मात्रै बाँकी छ, सत्तारुढ गठबन्धनको प्रमुख नेताको हैसियतले निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूले जित्ने सम्भावना कति देख्नुभएको छ ?

हामीले जहाँ जहाँ सहमति गरेका छौं, त्यहाँ जित सुनिश्चित देख्छु । जस्तो महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा, जहाँ गठबन्धनमा समझदारी बनेको छ, त्यहाँ गठबन्धनको विजय सुनिश्चित देखिन्छ । अर्को हामीले गठबन्धनमा छलफल गर्दा के भनेका थियौं भने हामीमध्ये कसैले जित्ने स्थिति ग्यारेन्टी छ भन्ने लाग्छ भने गठबन्धनभित्रै प्रतिस्पर्धा गर्न सकिन्छ भनिएको थियो । यो कुरालाई हामीले खुला नै राखेका थियौं । कतिपय मानिसले त्यसलाई ‘ल गठबन्धन मिलेन’ भनेर नकारात्मक प्रचार गर्ने गरेको पनि म देख्छु तर त्यस्तो होइन । गठबन्धनको केन्द्र वा संयन्त्रमा छलफल गर्दा जहाँ कुरो मिलेको छैन, त्यहाँ प्रतिस्पर्धा गर्ने र प्रतिस्पर्धा गर्दा यो संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयताका पक्षधरताका बीचमा नै प्रतिस्पर्धा गर्ने र जित सुनिश्चित गर्ने भनिएको हुनाले मलाई लाग्छ, गठबन्धनको पक्षमा नै अब माहोल बन्दै गएको छ । आउने १० दिनभित्र देशैभरि नयाँ परिस्थिति बन्छ र गठबन्धन विजयी हुन्छ ।

– निर्वाचनमा गठबन्धन बन्दै गर्दा र उम्मेदवार मनोनयन गर्दै गर्दा माओवादीले जसको नीति उसको नेतृत्व भन्यो तर नेतृत्व त छोडियो भन्ने आलोचना छ नि ?

यो विषय अलि गम्भीर र संवेदनशील विषय छ । पहिलो कुरा, नेतृत्व भनेको के ? नेतृत्व भनेको विचारको नेतृत्व, राजनीतिक मुद्दाको नेतृत्व, देशको राजनीतिलाई एउटा नयाँ मोड दिने, गति दिने नेतृत्व त्यसरी भनियो भने माओवादीले नेतृत्व कसैलाई पनि छोडेको छैन । माओवादीले नै नेतृत्व गरिराखेको छ । तपाईं हेर्नुभयो भने यो गठबन्धन निर्माण कुन परिस्थितिमा भयो ? प्रतिगमनको खतरा कहाँसम्म पुगिसकेको थियो र देश दुर्घटनामा जानै लागेको बेलामा कसको पहल र नेतृत्वमा यसको रक्षा भयो भनेर तपाईले हेर्नुभयो भने चाहे सडक आन्दोलनमा हेर्नुस्, चाहे गठबन्धन निर्माण प्रक्रियामै हेर्नुस् माओवादी केन्द्रले नै नेतृत्व गरेको छ । अहिले निर्वाचनको यो समग्र प्रक्रियामा पनि हामीले नेतृत्व नै गरिराखेका छौं भन्ने मलाई लाग्छ । मानिसहरु जसले यसको गहिराईमा गएर चीजलाई बुझेका छैनन् या बुझ्न चाहेका छैनन्, उनीहरुले लगाउने आरोप या प्रश्न त एउटा कुरा हो । तर, मेरो ठाउँबाट मैले हेर्दा यो समग्र प्रक्रियामा माओवादीले नै नेतृत्व गरिराखेको छ ।

जहाँसम्म तपाईंले संख्या इत्यादिको कुरा गर्नुभयो भने त्यो तथ्याङ्क हिजो ०७४ को चुनावलाई पनि ध्यान दिने, अरु पनि ध्यान दिने धेरै धेरै कारणले काम गरेका छन् । त्यसकारण कहिलेकाँही हामीले नै प्रस्तावित गरेर तपाईं प्रधानमन्त्री हुनुपर्‍यो भनेर नेपाली कांग्रेसलाई भन्यौं । संख्यामा पनि हामीले भनेका छौं । त्यसकारण यो समग्र प्रक्रियाको नेतृत्व माओवादीले नै गरिराखेको छ । तपाईंले मलाई भन्नुभयो, म माओवादी केन्द्रको अध्यक्षको हैसियतले म के ठान्छु भने यो समग्र प्रक्रियाको नेतृत्वमा म छु भनेरै मैले महसुस गर्छु । यो गठबन्धन बचाउनको निम्ति रातदिन मैले खटेर काम गरेको तपाईंहरुले देख्नुभएकै छ । गठबन्धनलाई सुरूदेखि नै तोड्ने अनेक षड्यन्त्रहरु भए । यसलाई बचाउनको लागि पनि माओवादी केन्द्रले नै मुख्य भूमिका खेलेको कुरा आम नेपाली जनतालाई थाहा भइसकेको छ । राजनीतिज्ञलाई पनि थाहा छ । पार्टीहरुलाई पनि थाहा छ । तर, भन्न चाहने र नचाहने मात्रै कुरा हो । वस्तुतः माओवादी केन्द्रले नै अहिले पनि राजनीतिक एजेण्डाको, गठबन्धनको, सरकारको र यी सबै प्रक्रियाको नेतृत्वदायी भूमिका खेलिरहेको छ ।

– यसपटक प्रमुख पदमा माओवादीको कति सिट आउला ?

मैले सबै प्रदेशका जिम्मेवार साथीहरु, जिल्लाका प्रतिनिधिहरुसँग कुरा गर्दा सबैको भनाइ के छ भने हामी पहिलाको भन्दा दोब्बर बनाउँछौं । सबै प्रदेशले भनेको र टिपेर पनि दिनुभएको छ, हिजो बेलुका मैले सबै हेरेँ, पहिलाको जति छ, त्यो भन्दा डबल हुन्छ । अब पालिकाको मोटामोटी रिपोर्ट हेर्दा पनि पहिलाको भन्दा हाम्रो गुणात्मक ढंगले बढ्छ । त्यो कुरा पक्का हो ।

– अघिल्लो चुनावमा माओवादी एमालेसँग मिलेर वाम एकता भनेर आयो र अहिले फेरि कांग्रेससँग मिलेर लोकतान्त्रिक गठबन्धन भनेर आयो । माओवादी एक्लैले आफ्नो अस्तित्व निर्माण गर्न नसक्ने अवस्थामा पुगेको हो ?

त्यस्तो होइन । त्यसो भन्यो भने त कोही पनि नसक्ने भयो । हिजो कांग्रेस हामीसँग किन मिल्यौं ? एमाले हामीसँग फेरि किन मिल्न परेको हो ? तपाईंको प्रश्नअनुसार त कोही पनि एक्लै लड्न सकेनन् नि । अहिले हाम्रो गठबन्धन छ, एमाले सुरूसुरूमा भन्ने गर्थ्यो, हामी त एक्लै लड्छौं । अहिले त झन् ८/९ वटा पार्टी/समूह नै जम्मा गरेर आयो । उसले पनि एक्लै लड्ने हिम्मत गरेन । उसलाई पनि चाहियो गठबन्धन । कांग्रेसलाई पनि चाहियो गठबन्धन । त्यसैले माओवादीलाई मात्रै चाहिएको भन्न मिल्छ र ? बरु माओवादीले त यो सबै प्रक्रियाको नेतृत्व लिएर अगाडि पो बढेको छ । त्यसलाई हेर्न पर्‍यो । त्यसकारण हाम्रो संविधान र हाम्रो निर्वाचन प्रणाली जस्तो छ, त्यसले गठबन्धन आवश्यक बनायो ।

अर्को कुरा, गठबन्धन फेरि कुन विचारको आधारमा, कुन राजनीतिक एजेण्डाको आधारमा भन्ने हो । अहिले मैले हेर्दा जो शान्ति सम्झौताका पक्षमा, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा छन् । हिजो १२ बुँदे समझदारीदेखिका यात्रीहरु बीचको गठबन्धन वैज्ञानिक, स्वभाविक र गतिशील गठबन्धन हो । त्यसको विरुद्ध जाने गठबन्धन प्रतिगमनतिर जाने गठबन्धन हो । त्यसकारण यहाँ माओवादी मात्रै एक्लै आँट नगरेको भन्ने होइन । एक्लै त कसैले आँट गर्ने स्थिति छैन अहिले देशको । हामीले भनेका छौं यदि निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुने हो भने यो स्थिति हुँदैन । सबै आ-आफ्नो शक्ति अनुसार लड्ने अनि त्यसपछि जति मत पाइन्छ, त्यहीँ मतभार अनुसार भागबण्डा हुन्थ्यो । त्यस्तो अहिले छैन । हाम्रो संविधान र निर्वाचन प्रणालीले नै पार्टीहरुलाई गठबन्धनमा जाने र गठबन्धनको आधारमा विचार र मुद्दा स्थापित गर्न प्रेरित गर्‍या छ । यसकारण यो सवाल माओवादी केन्द्रसँग मात्र होइन, सबै देशका राजनीतिक दलसँग हो ।

– यो स्थानीय निर्वाचनले माओवादी केन्द्रलाई थप सुदृढ गर्छ भन्ने विश्वास छ ?

मलाई यो निर्वाचनले माओवादी केन्द्रलाई पहिलेभन्दा धेरै नै बढी सुदृढ गर्छ भन्ने लागेको छ । यो निर्वाचनबाट पहिले भन्दा गुणात्मक रूपले प्रगतिमा हामी हुनेछौं भन्ने विश्वास छ ।

– माओवादीका इमान्दार कार्यकर्ताले निर्वाचनमा अवसर नपाएको भनेर कतिपय स्थानमा बागी उमेदवारी पनि हालेको देखिन्छ । यसले निर्वाचनको परिणाममा कस्तो असर पुर्‍याउला ?

पहिलो कुरा माओवादी केन्द्रबाट सबैभन्दा कम बागी उम्मेदवार उठेका छन् । एकाध ठाउँमा त्यस्तो देखियो । यदाकदा कुनै ठाउँमा उठेका छन्, जति उठेका थिए अधिकांशले त पार्टीले भनेपछि उमेदवारी फिर्ता पनि गरिसक्नुभएको छ । जति बाँकी हुनुहुन्छ ती साथीहरु पनि पार्टीको नीतिभन्दा बाहिर जाने देखिँदैन । त्यसमा पनि पार्टीले फेरि आग्रह गरेको छ, नभए विधानबमोजिम कारबाही गर्छ ।

अर्को कुरा सिस्टमभित्र छिरेपछि अलि अलि त्यसको विकृतिको रंग लाग्ने त हुँदो रहेछ । यन्त्रभित्र छिरेपछि त्यही अनुसार हुने, त्यस्तो हुने त देखियो । तर, माओवादी केन्द्र नै अहिलेसम्म त्यस्तो पार्टी हो जो सबैभन्दा बढी अनुशासित छ । सबैभन्दा बढी पार्टीको नीति, विचार, योजना र कार्यक्रमप्रति प्रतिबद्ध छ ।

– माओवादी केन्द्रले केन्द्रीय स्तरबाट घोषणापत्र जारी नगरी स्थानीय चुनावमा गयो भनेर केही आलोचना र टिप्पणीहरु भएका छन्, किन त्यसो गर्नुभयो, के भन्नुहुन्छ ?

घोषणापत्र भने पनि, प्रतिबद्धता पत्र भने पनि अपिल भने पनि पहिलो पटक प्रकाशित गर्ने पार्टी माओवादी केन्द्र नै हो । हामीले के गर्‍यौं भने केन्द्रीय समितिबाट चुनावी घोषणापत्र पालिकास्तरमा बनाउने र केन्द्रबाट अपिल प्रकाशित गर्ने निर्णय गर्‍यौं । केन्द्रबाट जारी अपिल नै स्थानीय तवरमा घोषणापत्र बनाउनको लागि निर्देशिका हुन्छ भनियो । त्यही अपिल अनुसार नै घोषणापत्र बन्छन् भनेर भनेको हो । सबैले बनाएका पनि छन् र बनाउँदै गएका पनि छन् । त्यसकारण जनताको नाममा केन्द्रीय स्तरबाट अपिल गर्ने, प्रतिबद्धता व्यक्त गर्ने पार्टी माओवादी केन्द्र नै हो यसमा कुनै द्विविधा हुनुपर्ने वा भ्रमित हुनुपर्ने कुनै कारण छैन ।

घोषणापत्र बनाउन कुन ठूलो कुरा थियो र हामीलाई । अरु पार्टीहरु घोषणापत्र बनाउने जनतालाई झुक्याउन अनेक हावा कुरा लेख्ने गरेका छन् । हामी त्यसो गर्न चाहँदैनौं । हामी स्थानीय तहको निर्वाचन भएको कारणले स्थानीय मुद्दाहरू नै घोषणापत्रमा समावेश गर्नुपर्छ र स्थानीय समस्या र अन्तरविरोधहरु हल गर्ने घोषणापत्र बनाउनुपर्छ भन्ने मान्यतामा छौं । जनताका आवश्यकता, समस्या र भावना समेटिएका यथार्थवादी घोषणापत्र सबै पालिकाले निकालुन् र केन्द्रबाट मार्गनिर्देशन गरोस् भनेर जानीबुझीकन नै अपिल प्रकाशित गरिएको हो ।

– गठबन्धनको कारणले गर्दा संविधानमा व्यवस्था गरिएको महिला प्रतिनिधित्व घट्यो भन्ने कुरा आइरहेको छ, के भन्नुहुन्छ ?

प्राविधिक रुपले तपाईले भन्नुभएको कुरा र आएका टिप्पणी साँचो कुरा हो । किनभने निर्वाचन सम्बन्धी कानुनमा उम्मेदवारी दिँदा एउटै पार्टीबाट भएमा एक पदमा महिला अनिवार्य भन्नेछ तर गठबन्धन गर्दा वा फरक पार्टीको हकमा पनि एउटा पदमा महिला अनिवार्य भन्ने व्यवस्था गरेको छैन । गठबन्धनको कारणले कानुनतः महिलाको प्रतिनिधित्व कम हुने खतरा भएकै हो । हुँदो रहेछ । हामीले गठबन्धनमा छलफल गर्दा सकेसम्म महिलाको संख्या घट्न दिनु हुँदैन भनेर भनियो । अलग–अलग पार्टीबाट उम्मेदवारी दिँदा पनि एउटा पार्टीबाट पुरुष र अर्को पार्टीबाट महिला दिने व्यवस्था गरौं भनेर छलफल गरियो, मिलाउन कोशिस पनि गरियो तर गर्दा गर्दै पनि भनेजस्तो हुन सकेन । अझै भएको जस्तो लागेन ।

अहिले हाम्रो गठबन्धन छ, एमाले सुरूसुरूमा भन्ने गर्थ्यो, हामी त एक्लै लड्छौं । अहिले त झन् ८/९ वटा पार्टी/समूह नै जम्मा गरेर आयो । उसले पनि एक्लै लड्ने हिम्मत गरेन । उसलाई पनि चाहियो गठबन्धन । कांग्रेसलाई पनि चाहियो गठबन्धन । त्यसैले माओवादीलाई मात्रै चाहिएको भन्न मिल्छ र ? बरु माओवादीले त यो सबै प्रक्रियाको नेतृत्व लिएर अगाडि पो बढेको छ । त्यसलाई हेर्न पर्‍यो । त्यसकारण हाम्रो संविधान र हाम्रो निर्वाचन प्रणाली जस्तो छ, त्यसले गठबन्धन आवश्यक बनायो ।

हाम्रो पार्टीको हकमा त केन्द्रीय कार्यालयको तर्फबाट सर्कुलर नै गरेर निर्देशन गरियो कि सबैतिर महिलालाई प्राथमिकता दिनुपर्‍यो, पालिकाको हकमा जिल्लामा कम्तीमा एउटा पालिका प्रमुख बनाउनु पर्‍यो र प्रत्येक पालिकामा कम्तीमा एउटा वडामा महिलाको नेतृत्व दिनुपर्‍यो भनिएको थियो । हाम्रो पार्टीमा महिलाको लागि जसरी ३५ प्रतिशतको व्यवस्था गरिएको छ ।

– देशका ६ वटा महानगर र ११ उपमहानगर र विशेष गरी भरतपुर जहाँ नेपाली कांग्रेसका पुराना नेता बागीको रुपमा उठेको पनि देखिएको छ । यस्तो अवस्थामा उम्मेदवारहरूको विजयको सुनिश्चितता कसरी गर्न सक्नुहुन्छ ?

६ वटा महानगर र ११ वटा उपमहानरपालिकामा उम्मेदवार उठाउने विषयमा गठबन्धनभित्र गम्भीर छलफल, परामर्श र गृहकार्य गरेरै सर्वसम्मत ढंगले निर्णय लिइएको छ त्यसमा दायाँबायाँ हुने स्थिति म देख्दिनँ । बीचमा एकाध बागी भनेर उठेका भएता पनि धेरैजसो फिर्ता भइसकेका छन् । भरतपुरमा चाहिँ बाँकी छ तर त्यसले गठबन्धनको त्यो निर्णयमा कुनै तात्विक फरक पार्ला जस्तो लाग्दैन । त्यस्तो बाधा होला जस्तो देखिँदैन । किनकि यो दीर्घकालीन ढंगले राष्ट्रको, संविधानको, परिवर्तन र लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि गरिएको निर्णय हो । मलाई लाग्छ, महानगर र उपमहानगरपलिकाको हकमा गठबन्धनले निर्णय गरेर जो उमेदवारी दिइएको छ त्यसमा सत प्रतिशत नै विजयी हुनेछन्, विजय गराइनेछ । एकाध बागीले त्यसको मुलभूत परिणाममा कुनै असर पार्दैन ।

– देशभर स्थानीय तहको निर्वाचनको मैदानमा उत्रिएका उम्मेदवारहरुलाई के भन्न चाहनुहुन्छ ?

म फेरि पनि के भन्न चाहन्छु भने देश यति लामो राजनीतिक प्रक्रियाबाट गुज्रिएर संविधान कार्यान्वयनको क्रममा दोस्रोपटक स्थानीय निर्वाचनमा हेलिएको छ । होमिएको छ । हामी सबैको उद्धेश्य हुनुपर्छ यो निर्वाचनबाट राष्ट्रको एकतालाई खँदिलो र मजबुत बनाउने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने, संविधानका सकारात्मक सबै परिवर्तनको उपलब्धिको रक्षा गर्ने र यसलाई अझ परिमार्जन र परिस्कृतको लागि वातावरण बनाउने । त्यसैगरी स्थानीय तहमा प्राकृतिक साधन श्रोत र मानवीय श्रोत सबैको सदुपयोग गरेर स्थानीय तहलाई नै भावी समाजवादको राज्यको भ्रुणको रुपमा विकास गर्ने । यो उद्धेश्य सबै दलको हुनुपर्छ ।

हामीले गठबन्धनमा छलफल गर्दा के भनेका थियौं भने हामीमध्ये कसैले जित्ने स्थिति ग्यारेन्टी छ भन्ने लाग्छ भने गठबन्धनभित्रै प्रतिस्पर्धा गर्न सकिन्छ भनिएको थियो । यो कुरालाई हामीले खुला नै राखेका थियौं । कतिपय मानिसले त्यसलाई ‘ल गठबन्धन मिलेन’ भनेर नकारात्मक प्रचार गर्ने गरेको पनि म देख्छु तर त्यस्तो होइन ।

हामी संविधान मान्छौं भनेर प्रतिबद्धता गरेरका र हस्ताक्षर गरेका सबै पार्टीको दायित्व हुन आउँछ, स्थानीय तहको निर्वाचनमा संविधानले निर्दिष्ट गरेअनुसार समाजवादउन्मुख राज्यका भ्रुणहरु स्थानीय तहबाटै बन्ने हो । संविधानले स्थानीय तहलाई स्थानीय सरकारको रुपमा परिभाषित गरेको छ र त्यसलाई त्यसरी नै अधिकारहरुको प्रत्यायोजन पनि गरिएको छ । त्यसकारण प्राकृतिक साधन श्रोतको सदुपयोगदेखि त्यसको सञ्चालन, संरक्षण र विकास साथै समुदायको हक अधिकारलाई अझ बढी सुदृढ गर्ने र विकासको एउटा नयाँ गति जगैदेखि पैदा गर्ने, जनताको आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगारी सबै विषयमा ध्यान केन्द्रीत गर्ने र अघि भनेजस्तै भावी समाजवादको भ्रुणको रुपमा एउटा आधारशीला निर्माणको रुपमा यो निर्वाचनलाई लिनुपर्दछ त्यसैले म सबै उमेदवार साथीहरुलाई यहि भूमिका पूरा गर्न दृढतापुर्वक उत्साहको साथ अघि बढ्न र निर्वाचन सफल बनाउन अपिल गर्दछु ।


प्रतिक्रिया

One thought on “‘संविधान र चुनावी प्रक्रियाले नै गठबन्धन खोजेको छ, माओवादीले यसको नेतृत्व गर्‍यो’ (भिडिओ)

  1. यिनका गनथन र नक्कली कुरा सुन्ने फुर्सद छैन हामीलाई । एउटा कुरा चाहिँ प्रचण्डले गठबन्धनकाे नेतृत्वकर्ता भन्नू बेकार छ । उनकाे हैसियत देउवाकाे कार्यकर्ताभन्दा बढी रहेकाे देखेका छैनाैं हामीले । अर्काे कुरा परिवर्तन ल्यायाैं त भने तर महिलालाई उम्मेद्वार बन्नै नदिने वातावरण सृजना गर्ने,गणतन्त्र खारेज गर्नुपर्छ भन्ने चित्रबहादुरलाई महान मान्ने, काँग्रेसजस्ताे प्रतिगामीकाे पाउमा पर्ने, भारतकाेलागि दलालीगर्नेलाई कसले पत्याउने अब ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर