दलतन्त्रविरुद्ध शक्तिशाली स्वतन्त्र, जसले चुनावी नतिजा नै उलटफेर पार्नसक्छन् – Nepal Press

दलतन्त्रविरुद्ध शक्तिशाली स्वतन्त्र, जसले चुनावी नतिजा नै उलटफेर पार्नसक्छन्

काठमाडौं । बहुदलीय राज्य व्यवस्थामा ‘स्वतन्त्र’ उम्मेदवारको प्रभाव फितलो हुन्छ । यो व्यवस्थामा हरेक समुदायमा बसोबास गर्ने नागरिकहरू नै दलीयरूपमा कोही न कोही दलमा आवद्ध हुन्छन् । त्यसैले उनीहरू आफू आवद्ध दलमा मतदान गर्न र गराउन सक्रिय रहन्छन् ।

नेपाली समाज झन् भिन्न छ । यहाँ आम नागरिकसमेत परम्परागत रूपमा निश्चित चुनाव चिन्हका स्थायी मतदाता छन् । उनीहरू व्यक्ति हेरेरभन्दा चुनाव चिन्ह हेरेर नै मतदान गर्छन् ।

यस्तोमा स्वतन्त्र उम्मेदवारसँग यही ठूलै चुनौती हुन्छ । त्यसकारण धेरैजसो राजनीतिक चाहना बोकेका नेताहरू स्वतन्त्र लड्ने आँट गर्दैनन् र आफू आवद्ध दलले गरेका अप्रिय निर्णय पनि सहेरै बस्न बाध्य हुन्छन् ।

तर बेलाबेला केही यस्ता पात्र देखिन्छन्, जसले आफूलाई स्वतन्त्र वा आवद्ध दलमा विद्रोह गरेर ‘बागी’ रूपमा जनतासमक्ष प्रस्तुत गर्छन् । यसरी प्रस्तुत गर्नेहरू कोही निकै प्रभावशाली हुन्छन् । जसमध्ये केही निर्वाचित हुन्छन् भने केहीले उल्लेख्य मत बटुल्छन् र जितहारको दिशा नै बदलिदिन्छन् ।

यस्तै प्रभावशाली स्वतन्त्र÷बागी उम्मेदवार आसन्न स्थानीय तह निर्वाचनमा पनि देखिएका छन्, जसले आम जनमानसमा आफूप्रति आकर्षण बढाएका त छन् नै राष्ट्रिय राजनीति नै तरंगित पारेका छन् । यसबाहेक प्रमुख दलका उम्मेदवारहरूलाई समेत तर्साउनुसम्म तर्साएका छन् ।

भरतपुरमा गठबन्धनविरुद्ध बागी जगन्नाथ

२०७४ को स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसभित्रको चरम असन्तुष्टिका बीच पनि माओवादी केन्द्रसँग चुनावी तालमेल गरिएको थियो । त्यसमा कांग्रेस सभापति शेरबहादुर देउवाले बढी भूमिका खेलेका थिए । सभापति देउवाको पत्रबाट कांग्रेस उम्मेदवार दिनेश कोइरालाको टिकट खोसिएको थियो ।

त्यतिबेला माओवादी र कांग्रेसको गठबन्धन सरकार थियो । त्यहीकारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दबाबमा देउवाले भरतपुरमा गठबन्धन गराएका थिए । जहाँ माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डपुत्री रेनु दाहाल उम्मेदवार थिइन् । कांग्रेसभित्रको चरम असन्तुष्टिबीच विवादको सिलसिलासहित रेनुले चुनाव जितिन् ।

यसपटक पनि स्थानीय तह निर्वाचन हुँदा संयोगले उतिबेलाकै दलहरूबीच गठबन्धन सरकार छ । माओवादी केन्द्रले फेरि चुनावी तालमेलकै लागि कांग्रेसलाई दबाब बढाउँदै लैजान थाल्यो । त्यसपछि भरतपुर कांग्रेसका नेताहरूले केन्द्रीय नेतृत्वलाई खबरदारी गर्न थाले । यसका लागि जिल्लाको प्रतिनिधिमण्डलले केन्द्रसम्म पुगेर शीर्ष नेताहरूलाई पटक–पटक माओवादी केन्द्रलाई भोट दिन नसक्ने भन्दै दबाब दिन थाले ।

दबाबकै बीचमा पनि भरतपुर महानगरपालिका माओवादी केन्द्रकै भागमा पर्‍यो । उसले प्रचण्डपुत्री रेनुलाई पुनः मेयरको उम्मेदवार बनायो ।
त्यसपछि रिसाएका कांग्रेस नेताहरूले पूर्वसांसद जगन्नाथ पौडेललाई ‘बागी’ उठाए । उनी बागी उठेपछि गठबन्धन दलको टाउको दुखाइ सुरू भयो । बहुसंख्यक मतदाता कांग्रेसकै रहेको भरतपुरमा माओवादी केन्द्रका लागि एक्लै चुनाव जित्न असम्भव थियो । यसकारण कांग्रेसकै मतको सहायतामा चुनाव जित्ने योजनामा पौडेलको बागी उम्मेदवारीले जोखिम पैदा गरेको छ ।

पौडेल बागी उठेपछि माओवादी केन्द्रको दबाब बढ्न थालेपछि कांग्रेस केन्द्रीय समितिबाट पौडेलमाथि प्रभाव र दबाब पारेर उम्मेदवारी फिर्ता लिने प्रयास थालियो । त्यसका लागि प्रधानमन्त्री देउवाको आग्रहमा गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठलगायतका नेताहरूले घरमै पुगेर उम्मेदवारी फिर्ता लिन पौडेलसँग आग्रह गरे । तर, उनी रत्तीभर झुकेनन् । पौडेललाई मनाउन नसकेपछि उनको उम्मेदवारीमा समर्थक र प्रस्तावक बनेका क्रमशः महासमिति सदस्य मीना खरेल र पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटालाई समेत आग्रह गर्दा पनि केही पार लागेन ।

त्यसपछि पौडेलसहित प्रस्तावक र समर्थनलाई पार्टीले कारबाही ग¥यो । उनको उम्मेदवारी कायमै रह्यो । उनलाई कांग्रेस वृत्तले जबरदस्त साथ दिएको छ । भरतपुरमा एक्लै कांग्रेस बाहुल्य रहेको महानगरमा पौडेलको विद्रोहले असन्तुष्ट पक्षमा ठूलो तरंग ल्याएको छ । उनी कांग्रेसकै झण्डा बोकेर चुनाव प्रचारमा जुटेका छन् । आयोगले भुइँकटहर चुनाव चिन्ह दिएको छ ।

उनको बागी उम्मेदवारीले भरतपुरको समीकरण नै फेरिने सम्भावना बढेको छ । जानकारहरूका अनुसार उनले उल्लेख्य मत बटुल्ने निश्चित देखिएको छ ।

काठमाडौंमा बालेनको बलियो चर्चा

सधैँका निर्वाचनमा पृथक मत प्रवाह दर्शाउने काठमाडौं महानगरपालिका यसपटक कस्तो मत दिन्छ ? त्यो सबैले चासोका साथ हेरेका छन् । अघिल्लोपटक प्रमुख दलभन्दा बाहिर ४१ हजार बढी मतदाताले मतदान गरेका थिए ।

यसपटक त्यस्तै केही आश्चर्यजनक मत तान्न सक्ने गरी स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’को चर्चा छ । चर्चित ¥यापर तथा इञ्जिनियर उनको चर्चा अहिले सामाजिक सञ्जालमा व्यापक छ । सामाजिक सञ्जालका बहुसंख्यक युवा प्रयोगकर्ताहरूले उनको नाम उछालिरहेका छन् ।
महानगरमा नेकपा एमालेका तर्फबाट चर्चा र विवादमा आइरहने केशव स्थापित र कांग्रेसबाट मूलधारको राजनीतिभन्दा केही पर बसेकी सिर्जना सिंह उम्मेदवार छन् । जसका कारण पनि बालेनको ऊर्जा बढेको छ ।

यद्यपि उनमा बढेको त्यो ऊर्जाले कति निर्णायक रुप लिन्छ त्यो भने हेर्न बाँकी छ । जानकारहरूका अनुसार उनले पाउने मतले जित–हारको दिशा भने अदल–बदल गर्न सक्ने सम्भावना उत्तिकै बढी छ ।

उनलाई निर्वाचन आयोगले चुनाव चिन्ह लौरो दिएको छ । जसलाई उनले ‘ज्येष्ठ नागरिकलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने’ भन्दै प्रचार गरिरहेका छन् ।

पोखरामा ‘अटेरी’ गनेश

राज्यका गलत प्रवृत्तिविरुद्ध पोखराका युवाहरूले केही समयदेखि ‘अटेरी अभियान’ चलाउँदै आएका छन् । त्यही अभियानका एक सदस्य हुन् चर्चित लेख गनेश पौडेल ।

उनै पौडेलले यसपटक पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारीलाई पोखरावासी, अन्य उम्मेदवार र दलले समेत सामान्य रूपमा लिएका छैनन् ।

उनले लिएका एजेण्डा र सामाजिक सञ्जालमा भइरहेको उनको चर्चा पनि कम फितलो छैन । प्रमुख दलहरूको सिण्डिकेट र दलहरूले गरिरहेका संस्थागत शासकीय कमजोरीहरूविरुद्ध अटेरीस्वरुप आफ्नो उम्मेदवारी रहेको उनले बताउँदै आएका छन् ।

पोखरा महानगरको मेयरमा एमालेबाट कृष्ण थापा र सत्ता गठबन्धनबाट नेकपा एसका धनराज आचार्य मुख्य प्रतिस्पर्धामा छन् । उनीहरूको जित–हारमा अटेरी गनेशले कति अड्को थाप्छन्, त्यो धेरैले चासोका साथ हेरिरहेका छन् । उनीबाहेक कांग्रेसकै बागी उम्मेदवार विमल कार्कीको पनि उम्मेदवारी कायमै छ । उनको चर्चा भने खासै छैन ।

विराटनगरमा बागी जोडी

विराटनगर महानगरपालिकामा अघिल्लो स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । तालमेलअनुसार फोरमबाट मेयरमा उमेशकुमार यादव लडेका थिए भने उपमेयरमा माओवादी केन्द्रका नमिता न्यौपाने लडेकी थिइन् । यद्यपि मेयर र उपमेयर दुबै कांग्रेस जित्यो ।

यसपटक सत्ता गठबन्धनमा चुनावी तालमेल भएपछि मेयर कांग्रेसले पायो । जसमा उम्मेदवार नागेश कोइराला भिड्दैछन् । उपमेयर भाग पाएको संघीय समाजवादी फोरमले पार्टी अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव लड्दैछन् ।

अघिल्लो पटक दलका आधिकारिक उम्मेदवारहरू यसपटक दलहरुबाट असन्तुष्ट उमेश र नमिताले क्रमशः मेयर र उपमेयरमा बागी उम्मेदवारी दिएका छन् । उनीहरूले आफ्ना पार्टीका मतलाई प्रभावित पार्ने कोसिस पनि गरिरहेका छन् । संयोगवस दुबैले चुनाव चिन्ह लाल्टिन पाएका छन् । तर, उनीहरूको उम्मेदवारी कति प्रभावकारी हुन्छ त्यो भने नतिजाले देखाउने छ ।

एमाले र गठबन्धनका दुवै उम्मेदवार पहाडे भएकाले उमेश यादवले विराटनगरको मधेसी भोटमा आफ्नो पकड देखाउने सम्भावना छ ।

पार्टी उम्मेदवार पछि पार्ने धनगढीका हमाल

अघिल्लो पटक धनगढी उपमहानगरपालिकाको मेयरमा कांग्रेसका नृपबहादुर बड जित्दैगर्दा उनको नजिक कहीकतैं अन्य दलीय उम्मेदवारहरू थिएनन् । बरू उनको पछिपछि स्वतन्त्र उम्मेदवार गोपाल हमाल थिए । प्रमुख दलहरू एमाले र माओवादी केन्द्रका उम्मेदवारहरू तेस्रो र चौथो भए ।

चुनावपछि हमाल विवेकशील साझा पार्टी प्रवेश गरेर सो पार्टीको सुदूरपश्चिम संयोजक बने । धनगढीको मेयरमा फेरि प्रतिस्पर्धा गर्ने चाहना भएका उनले केही समयअघि सो पार्टीबाट लडे जित्ने सम्भावना नदेखिएकाले स्वतन्त्र लड्ने उद्घोष गरेर पार्टी छाडे । यद्यपि विवेकशील साझाले मेयरमा उनैलाई समर्थन गरेको छ ।

उनी यसपटक पनि स्वतन्त्रबाट मेयरको प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धा पनि पुरानै प्रतिद्वन्द्वीसँग हुने भएको छ । अघिल्लो पटक एक्लै चुनाव जितेका बडलाई अहिले सत्ता गठबन्धनको साथ छ । जसले हमाललाई जित्न चुनौती थपिएको छ । तर, उनको हौसला घटेको छैन ।

भिन्नभिन्न समुदायको बसोबास रहेको धनगढीमा भिन्न समुदायबीचको अन्तरविरोधको फाइदा उठाउने हमालको रणनीति छ । अघिल्लो पटक पनि प्रतिस्पर्धी कांग्रेसभित्रकै असन्तोषको फाइदा उठाएर राम्रो मत बटुलेका हमाल यसपटक पनि सोही रणनीतिसाथ अघि बढेका छन् ।
एमालेले रणबहादुर चन्दलाई अगाडि सारेको छ । तर उनीभन्दा बड र हमालकै बीच प्रतिस्पर्धाको सम्भावना छ । हमाल एमाले मतसमेत आफूतर्फ तान्ने रणनीतिमा जोडतोडका साथ लागिपरेका छन् ।

हमाल सुदूरपश्चिमका धनाढ्य व्यवसायी हुन् । यसकारण उनलाई चुनाव लड्न पैसाको समस्या छैन । अर्को उनको शक्ति भनेको कैलाली उद्योग वाणिज्य संघमा रहँदा गरेका केही राम्रा कामहरू हुन् । उनी ‘सुन्दर सुदूरपश्चिम’ अभियान चलाएर बढी चर्चामा आएका हुन् ।

जनकपुरमा स्वतन्त्रकै रस्साकस्सी

जनकपुर उपमहानगरमा दलीयभन्दा जातीय प्रभावमा ज्यादा मत प्रभावित हुने गरेको स्थानीय जानकारहरूको बुझाइ छ । यहाँ बढी संख्यामा साह, झा र महतो थरका बासिन्दाहरूको बसोबास छ । यी थरका उम्मेदवारसँग अर्को थरको उम्मेदवार हुँदा जुनसुकै पार्टी भए पनि आफ्नै थरका उम्मेदवारलाई मतदान गर्ने परिपाटी रहेको स्थानीय जानकारहरू बताउँछन् ।

अघिल्लो निर्वाचनमा राष्ट्रिय जनता पार्टीले साह र झाको कम्बिनेसन मिलाएर यहाँ चुनाव जितेको थियो । जसमा मेयरमा लालकिशोर साह र उपमेयरमा रीताकुमारी मिश्र झा निर्वाचित भएका थिए ।

यस्तो जातीय मत भएको ठाउँ भएकाले निर्वाचनको नतिजा दलीय रूपमा आँकलन गर्न नसकिने जानकारहरूको कथन छ ।
यस्तोमा अहिले यहाँ प्रतिस्पर्धा झन् रोचक बनेको छ । जसमा स्वतन्त्र उम्मेदवारहरूले थप ‘क्लाइमेक्स’ प्रदान गरेका छन् । उनीहरूको पृष्ठभूमि हेर्दा पनि चुनाव निकै रोचक बन्ने देखिएको छ ।

यहाँ स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी, बलराम महतो, जानकीराम साह र बैजनाथ झाको उम्मेदवारीले प्रतिस्पर्धालाई निकै रोचक बनाउने देखिएको हो । यहाँ सत्ता गठबन्धनबाट मेयरमा जसपाका लालकिशोर साह र उपमेयरमा कांग्रेसकी किशोरी साहको उम्मेदवारी परेको छ । दुबै साह समुदायका भएकाले अन्य समुदाय गठबन्धनसँग चिढिएको देखिएको छ ।

यस्तै अघिल्लो पटक जितको विरासत बोकेको राजपाबाट जसपा हुँदै रुपान्तरित लोसपाले मेयरमा मनोज चौधरी र उपमेयरमा अघिल्लो पटककी उपमेयर मिश्रलाई नै अगाडि सारेको छ । एमालेले मेयरमा शिवशंकर साह हीरालाई उम्मेदवार बनाएको छ ।

जनकपुरमा सत्ता गठबन्धनको तालमेलमार्फत शक्ति आर्जन गर्ने प्रयास, लोसपाको जातीय सन्तुलन मिलाउने रणनीति, एमालेको मधेसमा शक्ति बढाउने रणनीतिमामा स्वतन्त्र उम्मेदवारले खलल पु¥याउने खतरा देखिन्छ ।

दलहरुलाई खतरा पर्नेमा कांग्रेसका बागी उम्मेदवार मनोजकुमार साह सुडी पहिलो नम्बरमा छन् । कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि निकट उनी जनकपुर उपमहानगर समितिमा दुई पटक सभापति भइसकेका व्यक्ति हुन् । उनी जनकपुर उपमहानगर जसपालाई दिएपछि असन्तुष्ट थिए । उनले बागी उम्मेदवारी दिएपछि निधिले समेत आन्तरिक सहयोग गरिरहेको स्रोत बताउँछ । यसबाहेक कांग्रेसका अधिकांश कार्यकर्तासमेत उनको पक्षमा खुलेका छन् ।

यस्तै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतो पनि शक्तिशाली नै मानिन्छन् । उनी रमण कन्ट्रक्सनका मालिक हुन् । जुन आधुनिक धरहरा बनाउने कम्पनी हो । धनाढ्य र समाजसेवी पनि भएकाले महतोको चर्चा व्यापक छ ।

उनीमाथि भ्रष्टाचार मुद्दा पनि छ, जुन विशेष अदालतमा विचाराधीन छ । अहिले कम्पनी छोराका नाममा हालेर आफू राजनीतिमा होमिएका महतो यसपटक अधिकांश उम्मेदवार साह थरबाट आएपछि हौसिएका छन् । यद्यपि महतोको संख्या साह र झाको तुलनामा कम छ ।

यस्तै अर्का स्वतन्त्र जानकीराम साह पनि प्रभावशाली उम्मेदवार मानिन्छन् । उनी उपमहानगरपालिकाको ७ नम्बर वडामा अघिल्लो पटक निर्वाचित वडाध्यक्ष हुन् । तत्कालीन राजपाबाट जितेका उनी मेयरका आंकाक्षी थिए । त्यसैका लागि उनले जसपा, लोसपा हुँदै एमालेसम्म धाए । एमालेले पनि टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यस्तै अर्का स्वतन्त्र उम्मेदवार वैजनाथ झा पनि शक्तिशाली मानिन्छन् । व्यवसायी झाले मधेसमा जानकी टेलिभिजन सञ्चालन गरेका छन् । झा समुदायबाट एक्ला मेयरका उम्मेदवार भएकाले उनी पनि प्रतिस्पर्धामै देखिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर