भोजपुरका मेयर उम्मेदवार भरत तामाङ भन्छन्- मसँग जनजीविकाका एजेण्डा छन् – Nepal Press

भोजपुरका मेयर उम्मेदवार भरत तामाङ भन्छन्- मसँग जनजीविकाका एजेण्डा छन्

भोजपुर सदरमुकामस्थित भोजपुर नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार छन् भरत तामाङ । यसअघि २०५४ को स्थानीय निर्वाचनमा उनी साबिक भोजपुर गाविसका अध्यक्षमा निर्वाचित भएका थिए । १० कक्षा पढ्दै विद्यार्थी राजनीति सुरू गरेका २०३४ सालबाट शिक्षक भएर कम्युनिष्ट आन्दोलनमा होमिए । मालेमा आबद्ध हुँदै अघि बढेका तामाङ २०४६ को जनआन्दोलनमा ५६ दिन जेल परेका थिए ।

नेकपा एमाले इलाका कमिटी सदस्य हुँदै उनले एमालेको जिल्ला कमिटीमा लामो समय जिम्मेवारी सम्हाले । हाल उनी एमाले प्रदेश १ कमिटी सचिवालय सदस्य एवं भोजपुर ‘ख’ इन्चार्जसमेत छन् ।

हिले-भोजपुर नारदमुनी थुलुङ राजमार्ग निर्माणको सहजीकरणमा तामाङको योगदान जिल्लामा प्रशंसनीय छ । तत्कालीन समयमा बेलायतको सहयोगमा लेगुवा-भोजपुर सडक निर्माणका लागि जिल्लास्तरीय सडक समन्वय समितिको संयोजक भएर तामाङले प्रभावकारी भूमिका खेलेका थिए । त्यस्तै सार्वजनिक बसहरू जिल्ला भित्र्याउने नेतृत्वदायी भूमिकामा तामाङ रहे ।

मेयरको दौडमा रहेका तामाङले विशेषगरी ७ वटा एजेण्डा अघि सारेका छन् । सुशासन तथा दिगो विकास, प्रविधि र सेवाग्राहीमैत्री नगर, पर्यटन विकास, स्वास्थ्य, शिक्षा तथा खानेपानीको सहज पहुँच, सिपमूलक तालिम/रोजगारमुखी कार्यक्रमलाई उनले प्राथमिकतामा राखेका छन् ।

चुनावी एजेण्डा, निर्वाचन प्रचार प्रसारलगायतका विषयमा उम्मेदवार तामाङसँग गरिएको कुराकानी नेपाल प्रेसको नेपाल टकमा

– तपाईंका मुख्य एजेण्डा के छन् ?

कृषिको आधुनिकीकरण र यान्त्रिकरण हाम्रो प्राथमिकतामा छ । युवा शक्तिलाई स्वरोजगार र सीप विकाससम्बन्धी तालिममार्फत जनशक्ति तयार पार्ने र त्यस जनशक्तिलाई कृषिमा परिचालन गर्दै जनतालाई समृद्धि बनाउने ।

चुनावी प्रचारको क्रममा मतदातामाझ मेयर उम्मेदवार भरत तामाङ र उपमेयरकी उम्मेदवार निर्मला शेर्पा ।

– त्यसका लागि स्रोत साधन के हुन्, कसरी परिचालन गर्नुहुन्छ ?

जनशक्ति, जमिन, जंगल र जलस्रोत हो । यसको परिचालनको लागि योजनाबद्ध ढंगले अघि बढाउँछौं । बाहिरिएको जनशक्तिलाई फर्किनका लागि आकर्षित प्याकेज ल्याउँछौं ।

– गठबन्धन एकातिर तपाईं एकातिर हुनुन्छ, चुनौतीका सामु जित्ने आधार के ?

हामीसँग जनता र जनजीविकासँग जोडिएका एजेण्डा छ । गठबन्धनको एकमात्र एजेण्डा एमालेको लोकप्रियताको इगो देखिन्छ । उनीहरूको उद्देश्य नागरिकको सेवा सुविधा विकासभन्दा पनि स्वार्थपूर्ण हिसाबले आएको छ ।

– तपाईं नै भोजपुर नगरपालिकाको मेयर किन भनेर कुनै मतदाताले सोधे भने के जवाफ दिनुहुन्छ ?

जनताको सरोकारमा कटिबद्ध छु । पद र जिम्मेवारीमा नहुँदा पनि अनवरत् रूपमा खटिएको छर्लङ्ग छ । व्यक्तिगत लाभ र कुनै स्वार्थमा नलागी राजनीति गरेको छु । हिजो पनि जनतासँगै थिए आज सँगै छु भोलि पनि साथमै हुनेछु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर