केशव स्थापितको स्पष्टिकरण- फल लागेको रुखमा गुलेली हान्नु स्वाभाविक हो, रश्मिला प्रकरणमा निर्दोष छु – Nepal Press

केशव स्थापितको स्पष्टिकरण- फल लागेको रुखमा गुलेली हान्नु स्वाभाविक हो, रश्मिला प्रकरणमा निर्दोष छु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापति प्रकरणबारे सार्जजनिकरूपमा स्पष्टिकरण दिएका छन् । उनले यो प्रकरणमा आफू पूर्णरूपमा निर्दोष रहेको बताए ।

आज मतदातासँगको अन्तरक्रियामा बोल्दै स्थापितले आफू सधैँ महिला हिंसाविरोधी भएको उल्लेख गरे । रश्मिलालाई कामबाट हटाइएको घटनामा आफ्नो कुनै हात नरहेको उनको प्रष्टोक्ति छ ।

‘विभागीय प्रमुखदेखि सबै मन्त्रालयका प्रतिनिधि बसेर हटाउने निर्णय गरे । मलाई त थाहा पनि छैन । मेरो कुनै सम्बन्ध नरहेको कुरामा आरोप लगाउन पाइन्छ ?’ उनले भने ।

उनले रश्मिलालाई बोकेर आफूसँग प्रतिस्पर्धा नगर्न कांग्रेस उम्मेदवार सिर्जना सिंहलाई चेतावनी दिए ।

ठूलो रुखमा गुलेलीले प्रहार गर्दैमा रुखले फल दिन नछाड्ने स्थापितले बताए ।

उनले भने, ‘ठूलो वृक्षमा सबैको आँखा लाग्छ । बाँदर सेनाले गुलेलीले हान्छन् । रुखले निहुरिनुपर्छ । अरुले ढुंगा हाने पनि रुखले फल नै दिने हो ।’

आफ्नो अभिव्यक्तिबाट कसैको चित्त दुखाएको भए यही मञ्चबाट माफी माग्ने स्थापितले बताए ।

रश्मिला प्रकरणमा यस्तो थियो स्थापितको भनाइ :-

म मेयर हुँदा एक जना साथीले उहाँलाई लिएर आउनुभयो । मलाई सम्पदा विभागमा यो मान्छेले सघाउँछ भनेर मेरो एक्सपर्टले ल्याएको । उहाँको बुवालाई म चिन्थेँ । तर मैले उहाँसँग संगत कहिल्यै गर्नु परेन ।

मैले यो अवधिमा अनुचित सम्बन्धको प्रयास गरेको भए र नमानेको भए एक मिनेटमै निकाल्थेँ होला । अस्थायी करारलाई आज नमाने आज, भोलि नमाने भोलि निकाल्न सकिन्छ नि । बदला त त्यसरी हुन्छ । तर, पाँच वर्ष केही भएन ।

बीचमा म यो पार्टीमा अलि असजिलो भएपछि छाता चिन्ह लिएर चुनाव लडेँ । उहाँ मेरो प्रचारप्रसारमै हिँड्नुभयो । उ त्यति बोल्न जान्ने मान्छे होइन । त्यसैले मञ्चमा बोलेन । अनि म पछि फेरि मेयर भएँ राजाको पालामा । त्यो बेला मेयर बन्नु हुन्थ्यो कि हुँदैनथ्यो तर भएँ । तीन दिनमा फोहोर मैला उठाउन बन्द भयो । मैले कर्मचारीलाई डाकेँ । उनीहरूले फलानोलाई कारबाही गर्नुपर्छ भने । मलाई त्यो कर्मचारी त्यहीँ छ भन्ने पनि थाहा थिएन ।

मैले उहाँको बारे थप भनेँ भने आत्महत्या गर्नेछन् । मैले यो कुरा अर्को ठाउँमा छपायो भने आत्महत्या गर्नेभन्दा अर्को उपाय छैन । तर हुँदै नभएको दोष पनि मैले बोक्नु भएन । मैले उहाँसँग के प्रस्ताव राखेको र त्यो नमानेर हटाएको भन्ने कहीँ पनि छैन । सफाइ कर्मचारीले कार्यकारी प्रमुखलाई र यो महिलालाई कर्मचारीले तानेर मञ्चमा ल्याएपछि मेरो भ्रष्टाचार छानबिन होस भनेको हो । यो संस्थामा बस्दिनँ भनेको हो । विभागीय प्रमुख र सबै मन्त्रालयका प्रतिनिधि बसेर उसलाई हटाउने निर्णय गरेको हो । मेरो कुनै हात छैन । मलाई थाहा पनि छैन ।

यो महिला बीच–बीचमा देखा पर्दैन । अनि चुनावको बेला प्रयोग हुन्छ । फल लागेको बेला बाँदर उफ्रिन्छ भनेजस्तै हो । बाँदर परेन होला, बाँदरको श्रीमती पर्‍यो होला, यति न फरक हो । यति भन्दा पनि महिला हिंसा हुन्छ भने हिंसा नै हो ।

महिलाको मामलामा ठूलो स्वरले कराएपछि महिला हिंसा भइहाल्छ । महिलाले चिथोरे पनि हुने । पछाडिबाट चढे पछि हुने । महिलाले ढुंगाले हाने पनि हुने । पुरुषले चाहिँ ठुलो आँखा पार्‍यो भने महिला हिंसा । दृष्टिले हरेर मलाई बलात्कार गर्‍यो भन्छन् के गर्ने । यस्तो समाज छ ।

अस्ति पत्रकार सम्मेलनमा मलाई साह्रै उत्तेजित गरेको हो । मेरो छोरीको उमेरकाले बोलेको हेरौँ न । अमानवले बोलेको जस्तो । अमानवलाई मानवजस्तो व्यवहार गर्नु पर्दैन जस्तो लाग्छ । त्यसैले मैले भनेको हुँ । तिमी साह्रै राम्रो छौ तर थुतुनो ठिक छैन । मैले कालभैरव प्राक्टिस गरेको छु । अलिकति भैरवको रूप देखाएन भने हेप्छन् । त्यो जनतामाथि होइन ।

अमानवमाथि देखाउने हो । फेरि मैले प्रहार गरेको होइन, छेकेको मात्र हो । छेक्दा यस्तो हुन्छ, हान्दा के होला ।

यो उम्मेदवार तपाईँहरूको प्रतिनिधि पात्र योग्य छ । तर पनि हामीले खोजेको यस्तो होइन है भन्ने हो भने यही मञ्चबाट माफी माग्छु । तर महिलाको पनि समर्थन चाहिन्छ मलाई ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर