रुपन्देहीको देवदह नगरमा एमालेको प्रतिबद्धताः एक विद्यालय एक स्वास्थ्यकर्मी, करको दर घटाउने – Nepal Press

रुपन्देहीको देवदह नगरमा एमालेको प्रतिबद्धताः एक विद्यालय एक स्वास्थ्यकर्मी, करको दर घटाउने

रुपन्देही । गत स्थानीय तह निर्वाचनमा आन्तरिक मतभेदका कारण थोरै मतले रुपन्देहीको देवदह नगरपालिकामा मेयर पद गुमाएको नेकपा एमाले नयाँ रणनीति लिएर चुनावी मैदानमा गएको छ । एमालेले गत निर्वाचनमा उपमेयरसहित बहुमत वडा जित्दा पनि मेयरमा ११२ मतले पराजय भोगेको थियो ।

देवदहमा एमालेबाट नगर प्रमुखमा ध्रुव खरेल र उपप्रमुखमा विद्यालक्ष्मी गुरुङ उम्मेदवार छन् । गुरुङले यसअघि उपमेयरमा फराकिलो मतान्तरले जितेकी थिइन् ।

आन्तरिक संगठनलाई मजबुत बनाउँदै लोकप्रिय कार्यक्रम कार्यान्वयन गर्ने प्रचारमा लागेको एमाले नेता यम रानाले बताए । प्रतिबद्धता–पत्रमा एक विद्यालय एक स्वास्थ्यकर्मीदेखि करको दर घटाइनेसम्मका योजना समेटिएका छन् ।

प्रतिबद्धतापत्रमा कृषि, रोजगारी, पर्यटन, शिक्षा, सडक पूर्वाधार, सिंचाइ, स्वास्थ्य, भाषा–साहित्य, वन तथा वातावरण, खेलकुद, खानेपानी, ढल निकास, वैकल्पिक ऊर्जा, भूमि, शान्ति सुरक्षा, सञ्चार, विपत व्यवस्थापन, फोहरमैला, राजस्व कर व्यवस्था, सुशासनलगायतका विषयलाई प्राथमिकता दिइएको छ ।

एक विद्यालयमा एक स्वास्थ्यकर्मीको व्यवस्था मिलाउन संघ र प्रदेश सरकारसँग समन्वय गर्ने नयाँ योजना अघि सारिएको नगर प्रमुखका उम्मेदवार खरेलले बताए ।

उनले एक शिक्षक एक ल्यापटप र विपन्न विद्यार्थीलाई शिक्षाका लागि साइकल कार्यक्रम लागू गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । शिक्षाको गुणस्तर वृद्धि, दरबन्दी मिलान, भौतिक पूर्वाधारको विकास र कुल बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्ने प्रतिबद्धता–पत्रमा उल्लेख गरेको जानकारी दिए ।

प्रतिबद्धतापत्रमा ५ वर्षभित्र कुपोषणरहित नगरपालिका बनाउने उल्लेख छ । आयुर्वेदिक औषधालय स्थापना, एकीकृत कृषि बजार केन्द्रको स्थापना, खण्डीकरण भएका कृषियोग्य जमिनलाई सहकार्यका आधारमा चक्लाबन्दी गरी उत्पादनमा जोडिन प्रोत्साहन गर्ने कार्यक्रम पनि एमालेले प्रतिबद्धतापत्रमा उल्ल्ेख गरेको छ ।

‘कृषिलाई व्यावसायिक बनाउन चक्लाबन्दी योजना अघि बढाएका हौं । यसले कृषि उत्पादनमा महत्वपूर्ण टेवा पुग्छ’, खरेलले भने ।
उनले भूमिगत सिंचाइ प्रणालीलाई व्यवस्थित गर्ने, पशु कृषि बीमामा अनुदान जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए । देवदहका भित्री सडकको स्तरोन्नति, ममर्तका साथै पुल निर्माण गर्ने योजना आफूहरुको रहेको उनको भनाइ छ ।

देवदहमा प्रज्ञा प्रतिष्ठान स्थापना, पुरातात्विक क्षेत्र पहिचान गरी उत्खनन, पर्यटन गुरुयोजना बनाउने, वृद्ध भत्ता घरघरमा पु¥याइने, खेलकुदको समग्र विकास गर्ने, सबै घरमा स्वच्छ खानेपानी पु¥याउने योजना पनि आफुहरुले अघि बढाएको खरेलले बताए ।

उपप्रमुख उम्मेदवार गुरुङले ५ वर्षको अनुभवलाई दिगो बनाउने र थप विकासका आयोजनाहरु अघि बढाउन पुनः उम्मेदवारी दिएको बताइन् । सुशासन र समृद्धिको आधार तय गर्न आफूहरु निर्वाचनमा लागेको उनको भनाइ छ ।

उनले गोबरग्यास प्रवर्द्धन कार्यक्रम, पुस्तकालय निर्माण, देवदह प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालयमा स्तरोन्नति गर्न संघ सरकारसँग समन्वय गर्ने गरी आफूहरुले प्रतिबद्धता जनाएको जानकारी दिइन् ।

भूमिहीन सुकुम्बासी र अव्यवस्थितहरुको लगत संकलन भई नापी प्रक्रियामा रहेकाहरुलाई संघ सरकारको समन्वयमा पुर्जा वितरण गर्ने, सार्वजनिक जग्गा संरक्षण, करको दायरा बढाउँदै दर घटाउने योजना प्रतिबद्धता–पत्रमा उल्लेख छ ।

देवदहमा कलकारखाना स्थापना गर्न वातावरणीय स्वच्छता कायम गर्ने गरी कार्यविधि बनाउनेजस्ता कार्यक्रम पनि प्रतिबद्धतापत्रमा समेटिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर