एनभीए भलिबल क्लब लिगमा आर्मीको लगातार दोस्रो जित – Nepal Press

एनभीए भलिबल क्लब लिगमा आर्मीको लगातार दोस्रो जित

काठमाडौं । त्रिभुवन आर्मी क्लबले एनभीए पुरुष तथा महिला भलिबल लिगमा पुरुष तर्फ लगातार दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको दोस्रो खेलमा गण्डकी प्रदेशलाई २५–१९, २५–८, २५–१८ को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकाल्न सफल भयो ।

पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

यस्तै, सोमबार भएको पहिलो खेलमा हेल्प नेपाल स्पोर्टस क्लबले ढोरपाटन स्पोर्टस क्लबलाई २५–२१, २७–२५, २५–२० को सोझो सेटमा हराउँदै लिगमा विजयी सुरुवात गर्‍यो ।

पुरुषतर्फ दिनको अन्तिम खेलमा एपीएफ क्लबले गल्कोट स्पोर्टस क्लबलाई २५–१५, २१–२५, २५–१८, २५–२१ को नतिजामा पराजित गर्दै पहिलो जित दर्ता गर्‍यो । यसअघि, आइतबार भएको पहिलो खेलमा एपीएफ विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ पाँच टिम र पुरुषतर्फ सात टिम सहभागी छन् ।

गत असोजमा भएको एनभीए क्लब च्याम्पियनसिपबाट छनोट भएका टिमहरूले जमरि लिग कम लिगमा प्रतिस्पर्धा गरिरहेका छन् । च्याम्पियनसिपमा महिलातर्फ न्यु डायमन्ड र पुरुषतर्फ आर्मीले उपाधि उचालेको थियो ।

क्लब लिगको महिला र पुरुष विजेताले समान ६ लाख रुपैयाँ, उपविजेताले तीन लाख रुपैयाँ, तेस्रो हुनेले एक लाख ५० हजार रुपैयाँ र चौथो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै, विधागततर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिब्रो र प्रशिक्षकले जनही १५/१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

मंगलबार महिला र पुरुष तर्फ समान तीन खेल हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर