निर्वाचनलाई प्रभाव पार्ने गरी सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्वाचन आयोगको चेतावनी – Nepal Press

निर्वाचनलाई प्रभाव पार्ने गरी सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्वाचन आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७८ विपरीत आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनलाई प्रभाव पार्ने खालका पोस्ट नगर्न चेतावनी दिएको छ ।

आयोगले आचारसंहिताको परिच्छेद–२ अन्तर्गत सबैले पालना गर्नुपर्ने आचरणमा सामाजिक सञ्जालको प्रयोग र दफा २२ को ९ज०मा भएको प्रावधान विपरीत यस्ता पोस्ट नगर्न आग्रह गरेको हो ।

जसमा स्थानीय तह निर्वाचनका उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइरहेको र यस्ता गलत, भ्रामक, चरित्र हत्या हुने व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा यस्तै प्रकृतिका निर्वाचनलाई प्रत्यक्ष रूपमा असर पार्ने गलत सामग्री सामाजिक सञ्जालमा पोस्ट नगर्न आयोगले चेतावनी दिएको हो । यसले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा समेत आँच पुग्न सक्ने भएकोले यस्ता प्रकृतिका कार्य कुनै पनि हालतमा नगर्न नगराउन सबैलाई आग्रह गरेको छ ।

यस्तै आयोगले निर्वाचन आचारसंहिता, २०७८ को उलङ्घन हुने गरी कतिपय सञ्चारमाध्यमले विभिन्न दल र उम्मेदवारका पक्ष र विपक्षमा तथा यो या त्यो पक्षले जित्ने वा हार्ने भन्ने जस्ता पूर्वानुमान गर्ने प्रकारका सामग्री समेत प्रकाशन र प्रसारण गरिरहेकामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले प्रेस काउन्सिल नेपालको सहयोगमा सञ्चारमाध्यमका निर्वाचनसँग सम्बन्धित सबै सामग्रीको नियमित अनुगमन गरिरहेको र निर्वाचन आचारसंहिता तथा पत्रकार आचारसंहिता विपरीतका कुनै पनि सामग्री प्रकाशन तथा प्रसारण नगर्न, नगराउन सबै सञ्चारमाध्यमलाई पुनः आग्रह गरेको जनाएको छ ।

साथै आचारसंहिता विपरीत सामग्री दिने कुनै पनि सञ्चारमाध्यमबारे जुनसुकै माध्यमबाट आयोगमा उजुरी दिन सम्बन्धित सबै पक्षलाई पनि आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर