जीतपुर सिमराको उपमेयर बन्न मेघाको मेहनत, भ्रष्टाचार घटाउने सुशासन बढाउने लक्ष्य – Nepal Press

जीतपुर सिमराको उपमेयर बन्न मेघाको मेहनत, भ्रष्टाचार घटाउने सुशासन बढाउने लक्ष्य

बारा । कुनै बेला विद्यार्थी हकहितका लागि नेपाल विद्यार्थी संघमा सक्रिय मेघा शाही यतिबेला बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको उपमेयर बन्ने दौडमा छिन् ।

विद्यालयमा पढ्दै राजनीतिमा प्रवेश गरेकी मेघा नेविसंघकाे ठाकुरराम बहुमुखी क्याम्पस ईकाई अध्यक्ष हुँदै केन्द्रीय सदस्यसमेत भइसकेकी छिन् । सधैँजसो गुणस्तरीय शिक्षा र विद्यार्थी हकहितका एजेण्डा बोकेर आन्दोलनमा उत्रने मेघा अहिले जीतपुर सिमराको समृद्धि र सुशासनको एजेण्डा बोकेर चुनावी मैदानमा छिन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट जीतपुर सिमरामा माओवादी केन्द्रका राजन पौडेल मेयरका प्रत्याशी छन् । देशकै सबैभन्दा धेरै मतदाता रहेको उपमहानगरमा उपमेयरको दौडमा रहेकी मेघा व्यवस्थित सहरीकरण, सुशासन र नागरिक अधिकारको रक्षा नै आफ्नो मुख्य एजेण्डा रहेको बताउँछिन् । संविधानले उपमेयरलाई दिएका अधिकारहरुको प्रयोग गर्दै जीतपुर सिमराका जनताको सेवा गर्ने आफ्नो लक्ष्य रहेको मेघा बताउँछिन् ।

‘सबैभन्दा पहिले यहाँको भ्रष्टाचार अन्त्य गर्नुपर्नेछ । नयाँ काम सुरु गर्नुभन्दा पहिले पुराना बिग्रिएका कामहरु सुधार्नुपर्नेछ । मेरो उद्देश्य शिक्षा, स्वास्थ्य र सुशासनमा योगदान गर्नु हो’, उनी भन्छिन् ।

जीतपुर सिमरामा सहरी संरचनाको पर्याप्त निर्माण हुन नसकेको, खुला व्यवस्थित स्थान र पार्कको अभाव रहेको तथा श्रमिकहरुका लागि स्वास्थ्य उपचारको उचित प्रबन्ध नरहेको समस्या मेघाले पहिचान गरेकी छिन् । गठबन्धनले चुनाव जितेमा श्रमिकहरुका लागि सर्वसुलभ सुविधा दिने गरी अस्पताल सञ्चालन गर्ने उनी बताउँछिन् ।

‘हाम्रो अधिकांश जनसंख्या श्रममा खटिने गरेको छ । श्रमिकहरुले शिक्षा र स्वास्थ्ययमा पहुँच पाएका छैनन् । हामीले संघ वा प्रदेशसँग समन्वय गरेर भए पनि श्रमिक अस्पताल सञ्चालन गर्ने सोचेका छौं’, उनी भन्छिन् ।

उपमेयरले सही भूमिका निर्वाह गरेमा भ्रष्टाचार न्यूनीकरणमा योगदान पुग्ने मेघाको भनाइ छ । ‘विकास निर्माणलगायतका कामको अनुगमन गर्ने दायित्व उपमेयरको हो । म उपमयेर भएपछि कुनै पनि आयोजनामा भ्रष्टाचार हुन दिन्न, सही ढंगले अनुगमन गर्नेछु’, मेघाको भनाइ छ ।

विकासका नाममा कंक्रिटको थुप्रोमात्रै बनाउन नहुने उनी बताउँछिन् । ‘हाम्रो नगरमा एउटा सानो पार्कसमेत छैन । ढलान र पिचमा मात्रै सबैको ध्यान छ । कमिसनलाई केन्द्रमा राखेर योजना बनाउने गरिएको छ । जीतपुरलाई प्राकृतिक हिसाबले स्वच्छ, हराभरा र सुन्दर बनाउने गरी विकासको खाका लागू गर्नुपर्छ’, मेघाले भनिन् ।

कानूनको विद्यार्थी शाही आफू उपमेयरमा विजयी भएको खण्डमा न्यायिक समितिलाई उचित नेतृत्व दिने बताउँछिन् । ‘न्यायमा पहुँच विस्तार गर्नुपर्नेछ । उपमहानगर भएर पनि सामाजिक चेतना र न्यायका दृष्टिले जीतपुरवासी पछाडि छन् । नगरवासीलाई न्यायिक समितिबाट न्याय दिलाउने कुरामा मेरो जोड रहनेछ’, शाहीले नेपाल प्रेससँग भनिन् ।

मधेसका महिलाहरुले भोग्ने गरेका समस्याहरुबाट उन्मुक्ति दिलाउन न्यायिक समितिमार्फत विशेष अभियान सञ्चालन गर्ने मेघाको योजना छ ।

स्थानीय निर्वाचनमा पार्टीगत प्रतिस्पर्धा भए पनि चुनाव जितेको खण्डमा पार्टीको मात्रै नभएर नगरकै प्रतिनिधिका रुपमा काम गर्ने मेघाको प्रतिबद्धता छ । जीतपुर सिमरा उपमहानगरपालिकामा ७० हजार ६४ जना मतदाता रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर