भरतपुरको हिसाबकिताब – Nepal Press

भरतपुरको हिसाबकिताब

काठमाडौं । भरतपुर महानगरपालिका यसपटक पनि स्थानीय चुनावको इपिसेन्टरमा छ । चुनावी माहोल देशैभरि फैलिए पनि चितवनको भरतपुर महानगरपालिकाको चुनावको चर्चा सबैभन्दा उच्च छ ।

सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल दोस्रो कार्यकालका लागि भरतपुरको मेयर बन्ने प्रतिस्पर्धामा छिन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशसभा सांसद रहिसकेका विजय सुवेदीलाई मेयरको उम्मेदवारका रुपमा मैदानमा उतारेको छ । अर्कोतिर माओवादीलाई भरतपुरको नेतृत्व दिने निर्णयमा असन्तुष्ट कांग्रेसको एक समूहले पूर्वसांसद जगन्नाथ पौडेललाई स्वतन्त्र उम्मेदवारको रुपमा अगाडि सारेको छ ।

भरतपुरको नेतृत्व लिन यसपटक १६ जना मैदानमा भए पनि मुख्य प्रतिस्पर्धा यी नै तीन जनाबीच हुने प्रस्ट छ ।

अघिल्लो निर्वाचनको अंकगणित

२०७४ को स्थानीय निर्वाचनमा भरतपुरमा मतगणनाका क्रममा जे भयो, त्यो बिर्सनलायक घटना थियो । माओवादी कार्यकर्ताले अन्तिम चरणमा मतपत्र च्यातेपछि १९ नम्बर वडामा पुनः मतदान भएको थियो ।

पुनः मतदानपछि मेयरमा माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहाल २०३ मतान्तरले विजयी भएकी थिइन् । रेनुले ४३ हजार १२७ मत ल्याउँदा एमालेका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए । मेयरमा तेस्रो भएका राप्रपाका बद्रीनाथ तिमिल्सिनाले ६ हजार ८४२ मत ल्याएका थिए ।

भरतपुरका २९ वडामध्ये एमालेले १४, कांग्रेसले १२ र माओवादीले ३ वडा जितेका थिए । यद्यपि वडा नम्बर १६ मा उपनिर्वाचन कांग्रेसले जितेको थियो । हाल एमालेबाट जितेकामध्ये ५ जना वडा अध्यक्ष नेकपा एकीकृत समाजवादीमा आवद्ध छन् । यही कारण ताजा अवस्थामा भरतपुरमा कांग्रेसका १३, एमालेका ८, नेकपा एसका ५ र माओवादीका ३ वडा अध्यक्ष रहेका छन् ।

अघिल्लो निर्वाचनमा भरतपुरमा कूल १ लाख ५० हजार ४७८ मतदाता थिए । जसमध्ये १ लाख १२ हजार ८९७ मत खसेको थियो । महानगरका वडाहरुमा दलका उम्मेदवारहरुले पाएको कूल मत हिसाब गर्दा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिन्छ ।

अघिल्लो निर्वाचनमा वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवारहरुले पाएको कूल मत ३८ हजार १२७ थियो । त्यस्तै वडा अध्यक्षमा एमालेका उम्मेदवारहरुले प्राप्त गरेको कूल मत ३७ हजार १९५ थियो । माओवादीका वडा अध्यक्षका उम्मेदवारहरुले कूल २१ हजार २१८ मत पाएका थिए । त्यस्तै राप्रपाका वडा अध्यक्षहरुको कूल मत ६ हजार ७५३ थियो ।

बदलिएको अंकगणित

भरतपुर महानगरमा अघिल्लो निर्वाचनमा भन्दा यसपटक ३५ हजार ४७८ नयाँ मतदाता थपिएका छन् । अहिले कूल मतदाता १ लाख ८५ हजार ७५२ पुगेको छ । अघिल्लो निर्वाचनमा ३७ हजार ३७७ जना मतदाताले मतदान नै गरेका थिएनन् । त्यतिबेला ७५ प्रतिशत मत खसेकोले त्यसैलाई आधार मान्दा यसपटक कम्तीमा १ लाख ४० हजार मत खस्ने आँकलन गर्न सकिन्छ ।

अघिल्लो पटक मुख्य दलबाहेकका उम्मेदवारहरुले ल्याएको मत २ हजार पनि ननाघेका कारण यसपटक रेनु, विजय र जगन्नाथले ल्याउने मतकै आधारमा चुनावी अंकगणितको आँकलन गर्नुपर्ने देखिन्छ किनकि यसपटक राप्रपाले मेयरमा उम्मेदवारी दिएको छैन ।

गठबन्धनको शक्ति कति ?

अघिल्लो निर्वाचनमा मेयरमा माओवादी–कांग्रेस गठबन्धनले ४३ हजार १२७ मत पाएको थियो । उपमेयरमा कांग्रेस उम्मेदवार पार्वती शाहले ४७ हजार १९७ मत ल्याएकी थिइन् । रेणुको भन्दा पार्वतीको मत बढी आउनुको कारण कांग्रेसभित्रको असन्तुष्टि थियो ।

चितवन कांग्रेसका नेताहरुका अनुसार मेयरमा उम्मेदवार नहुँदासमेत रुख चिन्हमा झण्डै ७ हजार मत खसेको थियो ।

वडा अध्यक्षहरुले ल्याएको मतका आधारमा कांग्रेस र माओवादीको एकीकृत मत ५९ हजार ३४५ थियो । यसपटक एमालेको विभाजनबाट रेनुलाई केही मत थपिने अवस्था छ । अर्कोतिर अघिल्लोपटक मेयर र उपमेयरमा तालमेल भए पनि वडाहरुमा हुनसकेको थिएन ।

यसपटक कांग्रेसले २० वडाको नेतृत्व पाएकाले कांग्रेस मतदाताको मत गठबन्धनमा थपिन सक्ने आँकलन छ । यद्यपि कांग्रेस नेताको स्वतन्त्र उम्मेदवारीका कारण गठबन्धनको मत प्रतिबद्ध रहनेमा शंका छ ।

गठबन्धनको पक्षमा रहेका कांग्रेस र माओवादी नेताहरु स्वतन्त्र उम्मेदवारले २० हजारसम्म मत काटे पनि नतिजा आफ्नै पक्षमा हुने दावी गर्छन् ।

‘कांग्रेस र माओवादीको संगठित मत कम्तिमा ८० हजार हो । कांग्रेसको २० हजार मत प्रभावित हुँदा पनि ६० हजार मत हामीसँग छ । मेयरका रुपमा काम गरेर रेनुजीले आफ्नो व्यक्तिगत प्रभाव र जनमत पनि विस्तार गर्नुभएको छ । त्यसैले चुनाव जित्न समस्या छैन’, माओवादीका नेताको दावी छ ।

कांग्रेस नेताहरु पनि अहिलेसम्म गठबन्धन ‘जितोन्मुख’ रहेको दावी गर्छन् । स्वतन्त्र उम्मेदवार पौडेलले १५ हजार मत सहज काट्ने दावी गर्ने कांग्रेस नेताहरु असन्तुष्ट कांग्रेसको मत एमालेमा नगए रेनुलाई सहज हुने बताउँछन् । ‘द्वन्द्वकालमा माओवादीले दुःख दिएर चितवन झरेका मतदाताहरु झण्डै ४ हजार जति छन् । उनीहरुले माओवादीलाई मत दिँदैनन् । तर, त्यो मत एमालेलाई पनि जानु भएन । त्यसो हुँदा मत काटिँदा पनि गठबन्धन फाइदामै रहन्छ’, चितवन कांग्रेसका एक नेताले भने ।

अघिल्लो निर्वाचनमा वडा अध्यक्षहरुतर्फ माओवादी र कांग्रेसले प्राप्त गरेको एकीकृत मत ५९ हजार ३४५ थियो । जसमध्ये मेयरमा रेनुले पाएको मत ४३ हजार १२७ मात्रै थियो । वडा अध्यक्षमा कांग्रेस–माओवादीलाई मत दिएकामध्ये १६ हजार २१८ जनाले मेयरमा रेनुलाई मत दिएनन् । त्यो मत अहिले पनि गठबन्धनले पाउने सम्भावना कम छ ।

समग्रतामा गठबन्धनको जितमा कांग्रेसको मत निर्णायक हुने देखिन्छ । कांग्रेसको असन्तुष्ट समूहको मत एमाले उम्मेदवारमा नजाँदा र त्यस्तो मतको संख्या २० हजार नकट्दासम्म गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा नै हुने देखिन्छ ।

गठबन्धनको अन्तरविरोध, एमालेको अवसर

अघिल्लो स्थानीय निर्वाचनमा २०३ मतको अन्तरले भरतपुरको मेयर गुमाउनुपरेको क्षण एमालेको स्मरणमै छ । एमालेले ‘मतपत्र च्यातेर’ हराइएको आरोपलाई ५ वर्षदेखि नै संस्थागत गर्दै आइरहेको छ ।

यसपटक एमालेले प्रदेशसभा सांसद रहिसकेका विजय सुवेदीलाई भरतपुरको मेयरको प्रत्याशी बनाएको छ । राप्रपासँग तालमेल गरेको एमालेले उपमेयरमा राप्रपालाई सघाउनेछ ।

अघिल्लो स्थानीय निर्वाचनमा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका थिए । वडा अध्यक्षतर्फ एमालेका उम्मेदवारहरुले प्राप्त गरेको मत ३७ हजार १९५ थियो । यो तथ्यांकअनुसार एमालेले वडा अध्यक्षतर्फ पाएको मतभन्दा मेयरका उम्मेदवारले ५ हजार ७२९ मत बढी ल्याएको थियो ।

अघिल्लो निर्वाचनमा २९ मध्ये १४ वडा अध्यक्ष जितेको एमालेले उपनिर्वाचनमा १ वडा गुमायो । पार्टी विभाजनपछि एमालेबाट जितेका ७, ९, १०, १२ र २२ नम्बर वडाका ५ जना अध्यक्ष नेकपा एकीकृत समाजवादीमा लागेका छन् । पार्टी विभाजनबाट एमालेलाई कुनै न कुनै प्रकारको क्षति हुने देखिन्छ । त्यो क्षतिलाई राप्रपासँगको तालमेलबाट ‘कभर’ गर्ने एमाले नेताहरुको दावी छ ।

यद्यपि २०७४ मा राप्रपाबाट मेयर उम्मेदवार बनेर ६ हजार ८४२ मत ल्याएका बद्रीनाथ तिमिल्सिना अहिले माओवादीमा छन् । उनी नेतृत्वको राप्रपा जिल्ला कार्यसमिति नै माओवादीमा समाहित भएको थियो । उनी अहिले भूमि आयोगको जिल्ला अध्यक्ष छन् । राप्रपाको एक समूह माओवादी र अर्को समूह एमालेसँग रहेको अवस्था छ ।

तत्कालीन माओवादी नेता रामबहादुर थापा ‘बादल’ को समेत गृहजिल्ला भएकोले चितवनमा उनी निकट नेताहरु एमालेमा सक्रिय छन् । पार्टी विभाजनबाट भएको क्षति परिपूरणमा एमालेलाई ‘बादल’ को शक्ति सहयोगी हुनेछ ।

एमालेलाई सबैभन्दा राहतको विषय कांग्रेस नेता जगन्नाथ पौडेलको स्वतन्त्र उम्मेदवारी हो । पौडेलले जति धेरै मत ल्याउँछन्, त्यति नै फाइदा एमालेलाई हुनेछ । यद्यपि कांग्रेसका असन्तुष्ट मत ‘भुइँकटहर’ मा नभई ‘सूर्य’ मा तान्न एमालेले जोडबल गर्नुपर्नेछ ।

‘तथ्यांक हेर्दा गठबन्धन एमालेभन्दा बलियो देखिए पनि राजनीतिक रुपमा गठबन्धन समस्यामा छ । त्यसबाट लाभ लिने हो भने एमाले जिततर्फ अग्रसर छ’, चितवनका एमाले नेताको भनाइ छ । ती नेताका अनुसार एमाले उम्मेदवारको शालीन व्यक्तित्व, प्रदेशसभा सदस्यका रुपमा गरेका काम र गठबन्धनमा देखिएको असन्तुष्टिबाट लाभ लिने अवस्था छ ।

जगन्नाथ कति बलिया विद्रोही ?

पूर्वराष्ट्रियसभा सदस्य जगन्नाथ पौडेल नेपाली कांग्रेसबाट विद्रोह गरेर भरतपुरको मेयरमा प्रत्याशी बनेका छन् । भुइँकटहर चुनाव चिन्ह लिएर मैदानमा उभिएका उनी ‘कट्टर कांग्रेस’ का उम्मेदवारका रुपमा देखिएका छन् । पूर्वजिल्ला सभापतिद्वय कृष्णलाल सापकोटा, टीकाराम न्यौपाने र महासमिति सदस्य मीना खरेललगायतको बलियो साथ पौडेललाई छ ।

कांग्रेसको झण्डा बोकेर प्रचारमा व्यस्त जगन्नाथको मतको मुख्य आधार भनेकै कांग्रेसभित्रको असन्तुष्टि हो । कांग्रेसको तहगत कार्यसमितिमा रहेका नेताहरु गठबन्धनकै पक्षमा छन् । खासगरी १४ औं महाधिवेशनका दौरान ‘पराजित’ भएका अधिकांश नेताहरुले जगन्नाथलाई साथ दिएका छन् ।

वरिष्ठ अधिवक्तासमेत रहेका पौडेललाई कानुन व्यवसायी, प्राध्यापक र प्रजातन्त्रवादी पेशाकर्मीहरुले ‘भोट दिने’ बचन दिएका छन् । ‘सल्यानी पौडेल’ हरुको मत जगन्नाथले पाउने सम्भावना बढी देखिन्छ । कास्कीकाे सल्यानबाट झरेका पौडेललाई चितवनमा सल्यानी पौडेल भनिन्छ ।

द्वन्द्वकालमा माओवादीबाट पीडित भएका कांग्रेसी मतदाताहरुले पनि हँसिया हथौडाको साटो भुइँकटहरमै मत दिने आँकलन छ । स्वतन्त्र उम्मेदवारका रुपमा भरतपुरको मेयरमा जित हासिल गर्न पौडेललाई सहज नभए पनि उनले प्राप्त गर्ने मतले परिणाममा प्रभाव पर्ने देखिन्छ ।

‘जगन्नाथ दाइले प्राप्त गर्ने मत चुनाव जित्न पर्याप्त नहुनसक्छ तर त्यसले भरतपुरमा राजनीतिक न्यायका पक्षमा जनमत दिनेछ’, पौडेलको प्रचारमा सक्रिय एक कांग्रेस नेताले भने ।


प्रतिक्रिया

One thought on “भरतपुरको हिसाबकिताब

  1. अहिले जे भएपनी सच्चा नेताले हत्यारालाई भोट हाल्दैन दहि चिउरेको कुरो नगरौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर