प्रहरी अधिकृतमाझ आईजीपी सिंहको सम्बोधन- असल अभ्यासलाई निरन्तरता, गुनासो र आलोचना स्वीकार – Nepal Press

प्रहरी अधिकृतमाझ आईजीपी सिंहको सम्बोधन- असल अभ्यासलाई निरन्तरता, गुनासो र आलोचना स्वीकार

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले प्रहरी संगठनका असल अभ्यासहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

नैतिक आचरणयुक्त प्रहरी व्यावसायिकता अभिवृद्धि र अपराध अनुसन्धानमा वैज्ञानिकीकरणका साथै सुशासन प्रवर्धन गर्न कार्यविधि तथा मापदण्ड निर्माण, आर्थिक पारदर्शिता कायम र प्रहरी जबाफदेहिता सुनिश्चित गर्न विशेष पहल हुनेमा उनले जोड दिएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबिच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा सिंहले आसन्न स्थानीय तहको निर्वाचन अहिले राष्ट्रिय प्राथमिकताको विषय भएकाले त्यसलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्नु प्रमुख चुनौती रहेको बताए ।

उनले उच्च सतर्कता, संवेदनशीलता र महत्त्वका साथ सफलतापूर्वक सम्पादन गर्न प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिए ।

कुनै पनि व्यक्ति वा संगठन आलोचना मुक्त नहुने बताउँदै प्रहरी महानिरीक्षक सिंहले भने, ‘नेपाल प्रहरी र यसमा आबद्ध सकल दर्जा त झन् नागरिक जीवनको एक अभिन्न हिस्सा भएकोले हाम्रो हरेक क्रियाकलाप माथि नागरिकहरूले सूक्ष्म निगरानी राख्नु अस्वाभाविक ठान्दिन । मेरो मान्यता भनेको गुनासो र आलोचनालाई स्वीकार गर्नुपर्दछ र त्यसको उचित सम्बोधन गर्नुपर्दछ भन्ने हो । गुनासो र आलोचना उसैको हुन्छ, जसप्रति आशा र विश्वास जोडिएको हुन्छ ।’

उनले नेपाल प्रहरीको आधार भन्नु नै नागरिक विश्वास र भरोसा भएको चर्चा गर्दै कानूनी राज्यको मान्यता अनुरूप निष्पक्ष एवम् व्यावसायिक प्रहरी सेवा प्रवाह गर्न र कुनै प्रकारको सम्झौता नगर्न निर्देशन दिए ।

गैर व्यावसायिक आचरण र व्यवहार किञ्चित सह्य र क्षम्य नहुने बताउँदै उनले भने, ‘कानून सम्मत जिम्मेवारी बहन गर्ने सिलसिलामा कुनै अधिकृत तथा जवानहरूबाट अकर्मण्यता, लापरबाही र उदासीनता हुनेछैन ।’

भ्रष्ट्राचार शून्य सहनशीलता अवलम्बन गर्नुका साथै चोरी निकासी गर्ने, प्राकृतिक स्रोतको दोहन गर्ने तथा अन्य आपराधिक कार्यमा संलग्न हुने तत्वरहरूसँगको साठगाँठ एवम् अवाञ्छित क्रियाकलापमा संलग्न रहने, प्रश्रय दिने तत्त्वहरूको पहिचान गरी कारबाही गर्ने सवालमा आफू कठोर रूपमा प्रस्तुत हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *