जीतपुर सिमरामा निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसार – Nepal Press

जीतपुर सिमरामा निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसार

बारा । स्थानीय निर्वाचनको माहाेलले सिङ्गाे देश तातिरहेको छ । राजनीतिक दलका उम्मेदवारहरु विभिन्न तरिकाले निर्वाचनको प्रचारप्रसारमा व्यस्त छन् ।

निर्वाचन आयोगले उम्मेदवार र दलहरूलाई स्पष्ट रूपमा आचारसंहिताको जानकारी गराउँदै पालना गर्न निर्देशनसमेत दिइसकेको छ । साथै आयोगलगायत विभिन्न सङ्घसंस्थाहरूले पनि उम्मेदवार र दलहरूले आचारसंहिता पालना गरे नगरेको स्वतन्त्र रूपले अनुगमन पनि गरिरहेका छन् ।

तर, बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकामा उम्मेदवारहरूले निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसार गरिरहेका छन् । मेयर, उपमेयरसहितका उम्मेदवारहरूले निर्वाचन आचारसंहिताविपरीत गाडी पुरै ढाक्ने गरी चुनाव चिन्ह र उम्मेदवारको फोटो अङ्कित फ्लेक्स ब्यानर लगाएर निर्वाचन प्रचारप्रसार गरिरहेका छन् ।

लोसपाका जीतपुर सिमरा उपमहानगरका मेयर उम्मेदवार सञ्जयकुमार साह र उपमेयरकी उम्मेदवार विपी मोक्तानले आफ्नो दलको चुनाव चिन्ह साइकलसहितको उम्मेदवारको फोटो भएको फ्लेक्स ब्यानरले ना ५ च १७७२ नम्बरको गाडी ढाक्ने गरी प्रचारप्रसार गरिरहेका छन् ।

अन्य दलका उम्मेदवारहरुले गाडी नै ढाक्ने गरी फ्लेक्स ब्यानर प्रदर्शन गरी निर्वाचन प्रचारप्रसार गरिरहेका छन् । उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उलङ्घन हुने गरी प्रचार गरेका हुन् ।

निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद ४ को दफा १२ को उपदफा (ड) र (ढ) मा उम्मेदवारको वा दलको चुनाव चिन्ह वा झण्डा अंकित लोगो ब्यानर, डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, टिसर्ट आदि प्रयोग गरेर प्रचार गर्न नपाउने स्पष्ट उल्लेख छ ।

आचारसंहिताकाे दफा १३ मा उम्मेदवारले दुई पाङ्ग्रे, तीन पाङ्ग्रे सवारीसाधन निर्वाचन आयोगको कार्यालयबाट अनुमति लिईमात्रै प्रयोग गर्न पाउने प्रावधान राखिएको छ ।

त्यसैगरी ती सवारीसाधनको स्वरूप परिवर्तन गरेर वा ढाक्ने गरी प्रचार सामग्री राख्न नपाइने उल्लेख छ । यदि त्यसो गरेको पाइएमा सो कार्य निर्वाचन आचारसंहिता उलङ्घन गरेको ठहर हुने र तत्काल त्यसलाई रोक्न लगाउने वा अटेरी गरेमा उम्मेदवारी रुद्द र जरिवाना हुने व्यवस्थासमेत उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर