ह्याट्रिकको दाउमा रहेका दीपक बुढाथोकी भन्छन्: जनतालाई पूरा नहुने सपना देखाउँदिनँ – Nepal Press

ह्याट्रिकको दाउमा रहेका दीपक बुढाथोकी भन्छन्: जनतालाई पूरा नहुने सपना देखाउँदिनँ

को हुन् महालक्ष्मीको मेयर उम्मेदवार दीपक बुढाथोकी ?

धनकुटा । चार दशकअघि तत्कालीन सरकारविरुद्ध देशभर आवाज बुलन्द भइरहेको थियो । दलहरु खुला राजनीतिमा आउन सकिरहेका थिएनन् । दलका प्रभावशाली नेताहरु जेलमा हुँदा गाउँ–गाउँबाट जनजागरण ल्याउन सबै दलका युवाहरु सक्रिय भएका थिए । तिनै पंक्तिमा थिए धनकुटा चानुवाका दीपक बुढाथोकी ।

धनकुटामै शक्तिशाली शासकको अड्डा थियो । पञ्चायतको विरोध गर्नु चानचुने कुरै थिएन । रातिराति संगठन विस्तार गर्दै आफ्नो विचारमा सर्वसाधारणलाई समाहित गर्न उनी छिमेकी गाउँ मारेक कटहरे, डाँडागाउँ लेगुवालगायतका टोलटोल पुग्थे ।

२०४२ सालमा विद्यालयमा १९ वर्षकै उमेरमा संगठनको नेतृत्व सम्हालेका उनी जिल्ला तहका नेताहरुको आँखामा परेका थिए । पञ्चायतका हस्ती एवं तत्कालीन प्रधानमन्त्रीसमेत भइसकेका सूर्यबहादुर थापा जस्ता शक्तिशाली नेतालाई चुनावमा जितेर नाम कमाएका कम्युनिष्ट नेता गोपाल गुरागाईंको नजरमा उतिबेलै परिसकेका थिए ।

२०४६ सालको आन्दोलन सहर केन्द्रितमात्र थिएन । गाउँबाट आन्दोलनको ज्वारभाटा उठिरहेको थियो । दीपक त्यही आन्दोलनको नेतृत्व गर्न जिल्लाको उत्तरी सिमानामा रहेको भोजपुर र संखुवासभा जोडिएको गाउँ चानुवा पुगे । गाउँ तहदेखि जिल्लासम्मको आन्दोलनको मोर्चा सम्हाले ।

लगातार दुई पटक गाविस अध्यक्ष

जनआन्दोलन सफल भई प्रजातन्त्र पुनःस्थापनापश्चात भएको पहिलो निर्वाचनमा बुढाथोकीलाई पार्टीले तत्कालीन चानुवा गाउँ विकास समितिको नेतृत्वका लागि टिकट दिने भयो । ‘२५ वर्षको उमेरमा सबैको मत जित्नु सामान्य कुरा थिएन’, चार दशकअघिको सम्झना गर्दै उनले भने, ‘६ वर्षदेखि गाउँमा काम गरेको अनुभव थियो । मलाई जनताले पत्याउनहुन्छ भन्ने दृढ विश्वास थियो ।’

प्रजातान्त्रिक शक्तिको बाहुल्य भएको ठाउँमा कम्युनिष्ट गढ बनाउनु सामान्य थिएन । उनले अथक प्रयास गरे । पार्टीले पत्यायो । उनी भारी मतले विजयी भए । युवावस्थामै गाविस अध्यक्षमा निर्वाचित उनलाई गलत काम गर्ने छुट थिएन । पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका उनलाई पार्टीले दोस्रो कार्यकालका लागि पनि टिकट दियो । उनले दोस्रो कार्यकालको चुनाव पनि सहजै जिते ।

१० वर्ष गाविसको नेतृत्व गर्दा उनले सीमित बजेटमा जनताका आवश्यकता परिपूर्ति गर्ने चुनौती थियो । यद्यपि जनश्रमदानमा अधिक काम भए । अधिकांश कृषि पेशामा आवद्ध जनताका समस्या सम्बोधन गर्ने प्रयास गरे । सडक, बिजुली र अत्यावश्यक पूर्वाधारको अभाव रहे तापनि त्यसका लागि स्रोत जुटाउन उनी लागिरहे । माओवादी द्वन्द्वमा गाउँ नछाडी निरन्तर जनताको काममा खटिरहँदा उनलाई माओवादीले अपहरणसमेत गरेको थियो । पछि सम्मानजनक घर फर्काएको थियो ।

तेस्रो पटक चुनावमा

लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन भयो । त्यो बेला स्वयंसेवी भावले निरन्तर जनताको काममा लागिरहेका उनलाई २०७४ सालको निर्वाचनमा कार्यकर्ताबाट सिफारिस भए पनि चुनावमा टिकट पाएनन् । एमाले कार्यकर्ताको रुपमा इमानदारीपूर्वक जनताको काममा जुटिरहे । तत्कालीन चानुवा गाविससहित डाँडागाउँ, मारेक कटहरे, लेगुवा, अर्खौले जीतपुर र मूर्तिढुंगा गाविस मिलेर बनेको महालक्ष्मी नगरपालिकाको नेतृत्वका लागि आतुर छन् दीपक ।

संविधान बनेपश्चात पहिलो कार्यकालमा आएका जनप्रतिनिधिबाट स्थानीय तहमा काम गर्ने जग बसेको छ । दोस्रो कार्यकालका लागि उनै बुढाथोकीलाई पार्टीले विश्वासका साथ महालक्ष्मी नगरपालिकाको मेयरको टिकट दिएको छ । स्थानीय निकायको दुई चुनावमा निर्वाचित उनी तेस्रो पटक जनअनुमोदनका लागि चुनावी मैदानमा छन् । जसअनुसार महालक्ष्मी नगरपालिकाका मतदाताका घरघर पुगिरहेका छन् ।

गाउँ, इलाका, निर्वाचन क्षेत्र र जिल्ला हुँदै हाल एमाले प्रदेश १ कमिटी सदस्य रहेका बुढाथोकी पार्टीमा दृढ र सामाजिक निष्ठावान व्यक्तिका रुपमा परिचित छन् । ‘कठिन परिस्थितिमा पनि नडगमगाइ पार्टी र जनतासामु लगनशील भएर काम गर्नु नै उहाँको विशेषता हो’, बुढाथोकीका राजनीतिक गुरुसमेत रहेका कम्युनिष्ट नेता गोपाल गुरागाईं भन्छन्, ‘उहाँलाई युवावस्थादेखि चिन्छु । यो पटक पुनः जनताले जिताउनेछन् भन्नेमा ढुक्क छु ।’

जनताले अनुभूत गर्ने काम गर्छु

यसअघि महालक्ष्मीसहित सातै पालिकामा नेकपा एमालेले जितेको थियो । बुढाथोकीले अघिल्लो कार्यकालमा थालिएका काम सम्पन्न गर्दै जनताले प्रत्यक्ष अनुभूत गर्ने काममा आफ्नो लगाव रहने बताएका छन् ।

‘मसँग दुई कार्यकाल जनप्रतिनिधि भएर काम गरेको अनुभव छ । जनताको आवश्यकता र अवस्थाप्रति जानकार छु’, उनले भने, ‘म जनतालाई पूरा नहुने सपना देखाउँदिनँ । एमालेको इमानदार कार्यकर्ता भएको नाताले सर्वसाधारणको जीवनस्तर उकास्ने काममा मेरो ध्यान हुनेछ ।’

बुढाथोकीसँग सत्तारुढ गठबन्धन उम्मेदवार एवं तत्कालीन महालक्ष्मी नपा २ का वडा अध्यक्ष ध्रुव राय चुनावी प्रतिस्पर्धामा छन् । राय नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर