चुनावको मुखमा ५ एआईजी र ११ डीआईजी एकै पटक खाली – Nepal Press

चुनावको मुखमा ५ एआईजी र ११ डीआईजी एकै पटक खाली

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका कारण आइतबार ५ एआईजी र ११ डीआईजीसहित १९ पद एकै पटक खाली भएको छ ।

आईजीपी शैलेश थापा, एआईजीहरु हरिबहादुर पाल, वसन्त पन्त, प्रद्युम्न कार्की र नीरज शाहीले एक साथ अवकाश पाएका हुन् ।

यसै गरी ईश्वर बाबु कार्की, प्रकाशजङ कार्की, घनश्याम अर्यालसहितका डीआईजीहरुले पनि अवकाश पाएका हुन् । दुई जना एसएसपीले पनि अवकाश पाएका छन् ।

आइतबार अवकाश पाएका सबैले नेपाल प्रहरीमा एकै दिन सेवा सुरु गरेका थिए । २०४९ वैशाख १९ गते उनीहरूले प्रहरी निरीक्षकबाट करियर सुरु गरेका थिए ।

हाल नेपाल प्रहरीमा १२ एसएसपीको दरबन्दी रिक्त रहेको छ। रिक्त दरबन्दीहरूमा चुनावपछि मात्र बढुवा गर्ने तयारी रहेको बुझिएको छ ।

माथिल्ला दरबन्दीहरू पूर्ति हुँदै आएपछि एसएसपीमा रिक्त दरबन्दीको संख्या ३१ पुग्ने छ । यसै गरी डीआईजीमा १६ दरबन्दी रिक्त हुने छ ।

आईजीपी नियुक्तिमा असन्तुष्ट दुई जना एआईजीहरु विश्वराज पोखरेल र सहकुल थापा अहिले बिदामा छन् ।

धिरज प्रताप सिंहलाई आईजीपी नियुक्त गरिए लगत्तै दुवै जना बिदामा बसेका हुन् । पोखरेल अन्याय भएको भन्दै अदालत पुगिसकेका छन् भने थापा तयारीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *