स्थापितविरुद्धको वक्तव्य २४ घण्टाभित्र हटाउन ओरेकलाई निर्वाचन आयोगको निर्देशन – Nepal Press

स्थापितविरुद्धको वक्तव्य २४ घण्टाभित्र हटाउन ओरेकलाई निर्वाचन आयोगको निर्देशन

नेशनल कलेजमा बोलेको शब्दप्रति स्थापितलाई पनि सचेत गराइयो

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयरका एमाले उम्मेदवार केशव स्थापितविरुद्ध जारी गरेको वक्तव्य २४ घण्टाभित्र हटाउन र तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न गैरसरकारी संस्था ओरेकलाई निर्देशन दिएको छ ।

आयोगको बैठकले स्थापितको उम्मेदवारी खारेज गर्न माग गर्दै उम्मेदवारको मान प्रतिष्ठामा आँच आउनेगरि दिएको प्रेस वक्तव्य आचारसंहिताविपरित रहेको ठहरसमेत गरेको छ ।

आयोगले रेनु अधिकारीले सञ्चालन गरेको महिला पुन:स्थापना केन्द्र (ओरेक) र त्यसमा आबद्ध ४० वटा परियोजनाबाट स्थापितविरुद्ध जारी गरेको वक्तव्य २४ घण्टाभित्र फिर्ता लिएर हटाउन भनेको छ । यसका साथै कुनै उम्मेदवारलाई मत देऊ वा नदेऊ भनेर सामाजिक संस्थाले विज्ञप्ति जारी गरेकोमा कारबाही किन नगर्ने भनेर ३ दिनभित्र स्पष्टीकरण समेत मागेको छ ।

सामाजिक काम गर्न भनेर स्थापना भएको गैरराजनीतिक संस्थाले राजनीतिक दलका उम्मेदवारलाई मत नदिन भनेर वक्तव्य जारी गर्नु गैरकानूनी र आचारसंहिताविपरीत हुने आयोगले जनाएको छ । आयोगका एक पदाधिकारीले आयोगको निर्णय सम्बन्धित गैरसरकारी संस्थाहरूलाई गराइएको बताए ।

यसैबीच आयोगले एमालेका मेयर उम्मेदवार स्थापितले एक कार्यक्रममा प्रश्नकर्तालाई ‘तपाईँ नाइस लेडी हो तर थुतुनोको शैली भएन’ भनेर जवाफ दिएकोमा समेत सचेत गराएको छ । उम्मेदवारको आचारसंहिताभित्र रहन आयोगले स्थापितलाई सचेत गराएको हो ।

स्थापितले नेशनल कलेजको कार्यक्रममा विवेकशील साझाकी कार्यकर्ता भावना राउतको प्रश्नको जवाफ दिने क्रममा आक्रोशित हुँदै बोलेको शब्दप्रति आयोगले सचेत गराएको ती पदाधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर