तिलोत्तमाका मेयरद्वारा आचारसहिंता उल्लंघन, लाभको पदमा बसेर चुनावी प्रचार – Nepal Press

तिलोत्तमाका मेयरद्वारा आचारसहिंता उल्लंघन, लाभको पदमा बसेर चुनावी प्रचार

मेयर घिमिरे भन्छन्- मन्त्रीहरू हेलिकप्टर लिएर जान हुने, आचारसंहिता सबैलाई बराबर हुनुपर्छ

रुपन्देही । निर्वाचन आयोगले जारी गरेको आचारसहिंताविपरीत रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे पार्टीको चुनावी प्रचारमा खटिएका छन् । आचारसहिंताविपरीत एमालेका उम्मेदवारहरूको प्रचार प्रसार र चुनावी कार्यक्रममा घिमिरे वक्ताकै रुपमा अघि बढेको भन्दै टिप्पणी हुन थालेको छ ।

निर्वाचन आचारसहिंतामा स्थानीय कार्यपालिकाका सदस्यले ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने’ उल्लेख छ । मेयर घिमिरे चुनावी परिचालन समितिको संयोजकसमेत बनेका छन् ।

सो नगरमा एमालेबाट प्रमुखमा मोहन चापागाई र उपप्रमुखमा जागेश्वरीदेवी चौधरी उम्मेदवार रहेका छन् । नगरप्रमुख घिमिरे दुवै उम्मेदवारको प्रचारमा वडासम्मै सक्रिय देखिएका छन् । आइतबार राति निर्वाचन परिचालन समितिकै तर्फबाट घिमिरेले पत्रकार सम्मेलनसमेत गरे । उनले आफूले आचारसहिंता उल्लघंन गरेवापत कारवाही गर्न निर्वाचन आयोगलाई चुनौती समेत दिए ।

‘म अहिले पनि कार्यपालिकाको प्रमुख हो । बैठक राखेर भटाभट एमालेले काम गरेको देखाउने निर्णय गर्न सक्छु’, घिमिरेले भने । उनले आफूले अरु आचारसहिंता मानेपनि एमालेको कार्यकर्ता भएकोले प्रचारमा नहिँड्ने भन्ने नहुने बताए ।

‘निर्वाचन परिचालन समितिमा बस्ने कुरा स्वभाविक हो । यो कुनै भ्रष्टाचार गर्ने वा जनतालाई कुठाराघात गर्ने गरी गरिएको होइन । पार्टीको कार्यकर्ताको हिसाबले निर्वाचनमा सहभागि हुने कुरा गलत होइन’, घिमिरेले दाबी गरे ।

उनले तिलोत्तमामा एमालेबाहेक कसैले नजित्ने दाबी पनि गरे । घिमिरेसहित नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री पनि आचारसहिंताविपरीत पार्टीको परिचालन समितिमा बसेका छन् ।

निर्वाचन आयोगले सरकारी सुविधा प्राप्त गर्ने व्यक्तिहरूले निर्वाचनमा उम्मेदवार बन्न वा दलविशेषको प्रचारमा खटिन नपाउने बताउँदै आएको छ ।

आचारसंहिता सबैलाई बराबर हुनुपर्छ : मेयर घिमिरे

आचारसंहिता उल्लंघन गरेकोबारे नेपाल प्रेसको जिज्ञासामा उनले आफू एमालेबाट निर्वाचित प्रतिनिधि भएको साथै पार्टीले निर्वाचन परिचालन कमिटी संयोजक बनाएकोले जिम्मेवारी निभाएको बताएका छन् ।

‘मन्त्रीहरू हेलिकप्टर लिएर ठाउँठाउँमा जान हुने मैले आफ्नै पालिकाका आफ्नै नेताहरूले बोलाएको कार्यक्रममा जाँदा आचारसंहिता उल्लंघन गर्‍यो भनेर हल्ला गर्ने मलाई राम्रो लागेको छैन’, मेयर घिमिरेले भने ।

उनले आचारसंहिताको पालनाप्रति आफू सचेत रहेको तर सबैलाई समान ढंगले लागू हुनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर