शाक्य र स्थापितको ३६ वर्षे चुनावी सम्बन्ध- टिकट पाए जित्ने, नपाए जिताउँने – Nepal Press

शाक्य र स्थापितको ३६ वर्षे चुनावी सम्बन्ध- टिकट पाए जित्ने, नपाए जिताउँने

काठमाडौं । वैशाख १० गते नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले काठमाडौं महानगरपालिकाको मेयरको टुंगो लगाउनु अघिसम्म विद्यासुन्दर शाक्य आफू दोहोरिनेमा निश्चित थिए ।

त्यसैले उनले आफ्नो नाममा रहेको पेश्की बेरुजु सबै फर्छ्यौट गरेर कर्मचारीलाई कहिँ कतै बाँकी भएको रहेछ भने खोज्न लगाइसकेका थिए । त्यतिमात्र होइन कांग्रेसले सिर्जना सिंह उम्मेदवार बनाउने समाचार आएसँगै उनले महानगरमै भनेका थिए, ‘कांग्रेसले सिर्जना सिंह उठायो, अब मेरो जित झनै निश्चित भयो ।’

शाक्य मेयरबाट राजीनामा लेखेर खल्तीमा राखेर हिँडेका थिए । तर, अन्तिममा पार्टीले केशव स्थापितलाई अघि सारेपछि प्रतिबद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रममा देखिएका मेयर शाक्य आइतबारदेखि चुनावी मैदानमा उत्रिएका छन् ।

आइतबार साँझ होटल यल्लो प्यागोडामा मेयरका प्रत्याशी स्थापितसँग हातमा हात मिलाएर फोटो सार्वजनिक गरेका शाक्य सोमबार बिहान वडा नम्बर १५ का माओवादीका वडाध्यक्ष उम्मेदवारलाई एमाले प्रवेश गराउने कार्यक्रममा पुगेका थिए ।

यल्लो प्यागोडा होटल यसअघि शाक्य उम्मेदवार बन्दा पनि एमालेका उम्मेदवारको सम्पर्क कार्यालय थियो । यसपटक केशव स्थापितको सम्पर्क कार्यालय पनि त्यहीँ बनेको छ ।

अघिल्लो चुनावमा पनि स्थापित र शाक्य मेयरका सशक्त दाबेदार थिए । शाक्यले टिकट पाएपछि स्थापितले उनलाई काँधमा बोकेर चुनावी अभियानमा उत्रिएका थिए । यसपटक शाक्यले स्थापितलाई काँधमा काँध जोडेर चुनावी अभियानमा उत्रिएका छन् ।

संयोग नै मान्नुपर्छ २०४३ देखि यता काठमाडौंका सबै स्थानीय चुनावमा शाक्य र स्थापित कहिँ न कहिँ उम्मेदवार बनेका छन् । २०४३ मा जनपक्षीय उपमेयर उम्मेदवार बनेर स्थापित पराजित हुँदा शाक्य वडाध्यक्ष जितेका थिए ।

२०४९ मा स्थापित उपमेयरमा पराजित हुँदा शाक्य दोस्रोपटक २१ नम्बर वडाबाट वडाध्यक्ष जिते । त्यस्तै २०५४ मा स्थापित काठमाडौं महानगरपालिकाको मेयर जित्दा शाक्य तेस्रोपटक वडाध्यक्ष बने ।

२०७४ मा भने शाक्य मेयरको उम्मेदवार बन्दा स्थापित रिङबाहिर पुगेका थिए । यसपटक फेरि स्थापित मेयरको उम्मेदवार बन्दा शाक्य मेयरको कुर्सीमा बसेर हस्तान्तरणको दिन पर्खिरहेका छन् ।

राजनीतिमा स्थापित शाक्यभन्दा सिनियर भए पनि केही समय स्थापित मूलधारबाट बाहिरिएका कारण शाक्यले उछिने । स्थापित २०५४ सालमा एमाले फुट्दा मालेमा लागे तर शाक्यले उनलाई साथ दिएनन् ।

स्थापित केही समय मनोनीत मेयर पनि भए, शाक्य दलीय संयन्त्रमार्फत महानगरको छायाँ मेयर बने । त्यसपछि शाक्य निर्वाचित मेयर बने भने स्थापित प्रदेशसभा सदस्य बने । अहिले भने दुवैजना एमालेको केन्द्रीय कमिटी सदस्य छन् ।

टिकट पाए जित्ने, नपाए जिताउँने भनेर पहिले नै दुवैजनाले संकल्प गरिसकेकाले अब एकजुट भएर जिताउने अभियानमा लागेको शाक्यले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर