अपुष्ट भिडिओका कारण टिकट खोसिएका पौडेलको घरमा ईश्वर पोखरेल, न्याय दिने आश्वासन – Nepal Press

अपुष्ट भिडिओका कारण टिकट खोसिएका पौडेलको घरमा ईश्वर पोखरेल, न्याय दिने आश्वासन

पोखरा । चार वर्षअघिको अपुष्ट सीसीटीभी फुटेज सार्वजनिक भएपछि पाेखरा महानगरपालिका मेयरको टिकट खोसिएका एमाले नेता दीपक पौडेलको घरमा पुगेर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले न्याय गर्ने अश्वासन दिएका छन् ।

चुनावी अभियानका क्रममा पोखरा पुगेका वरिष्ठ उपाध्यक्ष पोखरेल आइतबार पौडेलको ३३ नम्बर वडाको पुरनचौरस्थित घरमा पुगेका थिए ।

विवादका कारण टिकट खोसिएका तर इमानदार र कहिल्यै अवसर नपाएका गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य पौडेलले आफूविरुद्धको षड्यन्त्रप्रति गुनासो गरेका थिए ।

पोखरेलसँगै गण्डकी प्रदेशसभा सदस्य राजीव पहारी पनि गएका थिए । वरिष्ठ उपाध्यक्ष पोखरेलले उनलाई निराश नहुन भन्दै पार्टीले मूल्यांकन गरेर उपयुक्त जिम्मेवारी दिने बताएका थिए । अपमान भएको भन्दै स्थानीय एमाले कार्यकर्ताले नै पौडेललाई घरबाहिर ननिस्कन सुझाएका थिए । पाइसकेको टिकट खोसिएदेखि पौडेल घरबाट बाहिर निस्किएका छैनन् ।

उनी आफूविरुद्ध पार्टीकै मान्छेले भिडिओ प्रकरण बाहिर ल्याएको भन्दै निराश थिए । वरिष्ठ उपाध्यक्षा पोखरेलले पौडेलका परिवारका सदस्यहरुलाई समेत सम्झाएको भेटमा सहभागी नेताहरुले बताए । पोखरेल पौडेलको घरमा पुग्दा छिमेकी स्थानीयले समेत पौडेलमाथि अन्याय भएको भन्दै आक्रोश पोखेका थिए ।

वरिष्ठ उपाध्यक्ष पोखरेल र पौडेलबीच झण्डै २ घण्टा गोप्य कुराकानीसमेत भएको थियो । गोप्य कुराकानीबारे दुवै नेताले केही भनेका छैनन् । तर, पोखरेलले पौडेललाई पार्टीले न्याय गरेरै टिकट दिएको तर विवादास्पद भिडिओका कारण चुनावी माहाेल बिग्रने देखेर निर्णय परिवर्तन गरेको भन्दै कृष्ण थापालाई जिताउन लाग्न आग्रह गरेका थिए ।

पौडेलको परिवार र छिमेकीले सिंगो जीवन पार्टीलाई दिएका नेतामाथि अन्याय भएको बताएका थिए । पोखरेलले चाँडै अनुभूति हुने गरी पौडेललाई न्याय गरिने प्रतिबद्धता स्थानीयसँग गरेका छन् । पोखरेलले पोखरा महानगरपालिकामा एमालेलाई विजयी गराउन पनि पुरन्चौरवासीसँग आग्रहसमेत गरे ।

टिकट खोसिएका नेता पौडेलले पोखरामा एमालेले चुनाव जित्ने भन्दै आफूबाट पार्टीको विपक्षमा कुनै गतिविधि नहुने आश्वासन वरिष्ठ उपाध्यक्ष पोखरेललाई दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर