कर्मचारीको मिलेमतोमा अख्तियारको गोप्य पत्र सार्वजनिक, चुनाव प्रभावित पार्न खोजेको प्रमुख उम्मेदवार शाहीको आरोप – Nepal Press

कर्मचारीको मिलेमतोमा अख्तियारको गोप्य पत्र सार्वजनिक, चुनाव प्रभावित पार्न खोजेको प्रमुख उम्मेदवार शाहीको आरोप

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले एक विद्यालयमा भएकाे अनियमिततासम्बन्धी उजुरीबारे दुल्लु नगरपालिकासँग कागजात माग गरेर पठाएको पत्र कर्मचारीको मिलेमतोमा सार्वजनिक भएको छ ।

दुल्लु नगरपालिका वडा नं ६ मा रहेको महेन्द्र जयदेवी माविका विव्यस अध्यक्ष रुद्रबहादुर शाहीले विव्यस अध्यक्ष हुँदा अनियमितता गरेको भन्दै अख्तियारले वैशाख ४ गते कागजात माग गर्दै पत्र पठाएको थियो ।

दुल्लु नगरपालिकामा एमालेबाट प्रमुखका उम्मेदवार शाहीविरुद्ध परेको उजुरीको बारेमा अख्तियार सुर्खेतले आवश्यक जाँचबुझ गर्न भन्दै नगरपालिकालाई कागजात पठाउन इमेलमार्फत लिखित पत्र पठाएको थियो । तर त्यो पत्र सार्वजनिक गरिएपछि निर्वाचन आचारसंहितासमेत उल्लंघन भएको भन्दै स्थानीय आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

भाषामै अनियमितता गरेको पुष्टि

अख्तियारले पठाएको पत्रमा ‘दैलेख जिल्ला दुल्लु नगरपालिका वडा नं ६ स्थित महेन्द्र जयदेवी माविका विव्यस अध्यक्ष रुद्रबहादुर शाहीले विभिन्न आर्थिक वर्षहरुमा विभिन्न शीर्षकको रकममा अनियमितता गरेको हुनाले’ भन्ने उल्लेख छ । अख्तियारले अनियमितता पुष्टि नहुँदै अनियमितता गरेको भन्ने पुष्टिसमेत गरेको छ । पत्रमा शाखा अधिकृत अनन्तकुमार गौतमले हस्ताक्षर गरेका छन् ।

‘अख्तियारमा विभिन्न व्यक्तिका बारेमा उजुरी पर्ने गरेका छन् । उनीहरुको उजुरीका बारेमा पत्र पठाउने प्रचलन पुरानै हो । त्यो पत्र गोप्य रहन्छ । त्यो पत्र सार्वजनिक गर्न हुन्थेन’, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक शाखा अधिकृतले भने, ‘त्यो गलत हो । पुष्टि भएपछि मात्रै त्यस्तो गर्न मिल्छ । नभए यो त सरासर गलत भएको हो ।’

यता उजुरी परेको पत्र सार्वजनिक भएपछि शाहीले भने आपत्ति जनाएका छन् । ‘त्यो विद्यालयको कुनै चेकमा मेराे हस्ताक्षर हुँदैन । मैले विव्यसको अध्यक्षको हैसियतमा माइन्युटमा हस्ताक्षर गर्ने काममात्रै हो । यो अरु केही होइन चुनाव प्रभावित पार्न खोज्ने दुस्प्रयासमात्रै हो’, उनी भन्छन्, ‘नगरपालिकाका कर्मचारी र मेरो पक्षमा जनताको लहर देखेर डराएकाहरुको मिलेमतोमा चैत ३० गते मैले टिकट पाइसकेपछि अख्तियारमा उजुरी हालेर बदनाम गर्न खोजिएकोमात्रै हो । यसबारेमा म नेताहरुसँग सल्लाहमा छु । मैले के गर्नुपर्छ कानूनी उपचार खोज्न पर्ला ।’

इमेलको दुरुपयोग भयोः नेपाल

दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपालले पत्र सार्वजनिक भएको आइतबार बेलुकामात्रै थाहा पाएको बताए । ‘हाम्रो नगरपालिकाको इमेल शाखाका कर्मचारीदेखि मेयर सावसम्मले चलाउनुहुन्थ्यो । कसले त्यो गोप्य पत्र सार्वजनिक गरेको हो, आज अनुसन्धान हुन्छ । यसबारेमा साइबर क्राइमअन्तर्गत मुद्दा चलाउन प्रहरीलाई हिजै बेलुका खबर गरिसकेको छु’, नेपालले भने, ‘अख्तियारबाट यस्ता गोप्य पत्र इमेलमा आउँछन् । कसैको स्वार्थपूर्तिका लागि पत्र सार्वजनिक भएको छ ।’

उनले अब इमेल प्रयोगमा ध्यान दिइने बताए । ‘कार्यालयबाट यो गम्भीर गल्ती भएको हो । यस्तो गल्ती गर्नेलाई कारबाही गरिन्छ’, उनले भने, ‘सबैलाई इमेल चलाउन दिनु गल्ती भयाे ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *