दुई महिला सांसद जिताएको धरानले मेयरमा महिलालाई जिताउला ? – Nepal Press

दुई महिला सांसद जिताएको धरानले मेयरमा महिलालाई जिताउला ?

पूर्वसांसद कुन्ता शर्मा भन्छिन्ः मेरो जितको कथा मञ्जुबाट दोहोरिनसक्छ

धरान । प्रदेश १ मा मुख्य तीन सहर छन् । जसमा एक महानगर र दुई उपमहानगर छन् । वैशाख ३० गते हुने स्थानीय तह चुनावमा यी तीन सहरकी एक्ली महिला मेयर उम्मेदवारमा धरानकी मञ्जु भण्डारी छिन् । भण्डारीलाई नेकपा (एमाले) ले मेयरमा उठाएको छ । उनको नेतृत्वमा एमाले धरानमा एक्लै चुनावी प्रतिस्पर्धामा छ । र, प्रतिस्पर्धासँगै मेयरमा महिलालाई धरानले पत्याउला त भन्ने चुनावी गसिप सुरु भएको छ । एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीको कारण पनि धरानमा एमालेले मेयर जित्ला कि नजित्ला भन्ने बहसको मुख्य विषय बनेको छ ।

एमाले फुट्दा चुनाव जितेकी थिइन् कुन्ता शर्माले

२०५६ सालमा दुई चरणमा प्रतिनिधिसभाको चुनाव भयो । पहिलो चरणमा बैशाख २० गते ३६ जिल्लामा चुनाव भयो । दोस्रो चरणमा जेठ ३ गते ३९ जिल्लामा चुनाव भयो । सुनसरीमा दोस्रो चरणमा चुनाव भयो । तत्कालीन समयमा सुनसरीका पाँच निर्वाचन क्षेत्रबाट विजयी भएका सांसदहरु थिए– कुन्ता शर्मा, विजयकुमार गच्छदार, लक्ष्मणप्रसाद मेहता, हरिप्रसाद सापकोटा र गिरिजाप्रसाद कोइराला । पाँच क्षेत्रबाट विजयी सांसदहरुमा कुन्ता शर्मा एक्ली महिला सांसद थिइन् । उनी एमालेकै पनि एक्ली सांसद थिइन् । सुनसरी क्षेत्र नम्बर १ अर्थात् धराने मतदाताहरुले शर्मालाई भव्य विजय गराएका थिए । १६ सय हाराहारी मतान्तरले शर्माले जित निकालेकी थिइन् ।

२०४८ वैशाख २९ गते भएको प्रथम प्रतिनिधिसभा चुनावमा मनमोहन अधिकारीलाई जिताएको धरानले २०५१ कार्तिक २९ गते भएको दोस्रो प्रतिनिधिसभा चुनावमा महिलालाई नै विजयी गराएको थियो । लीला श्रेष्ठ सुब्बालाई धरानेले जिताएका थिए । उनी पछि उपसभामुख हुने प्रथम महिला नै बनिन् ।

तर, २०५१ को चुनावभन्दा २०५६ को चुनावी अवस्था फरक थियो । २०५१ मा एमाले सग्लो थियो । एमालेका संगठनहरु सग्ला थिए । एमाले विभाजनपछि २०५६ सालमा प्रतिनिधिसभाको चुनाव भएको थियो । जुन चुनावमा धरान रहेको निर्वाचन क्षेत्रबाट जित निकालिन् शर्माले । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्रप्रसाद श्रेष्ठ थिए । नेकपा मालेका ध्यानबहादुर राईले पनि उम्मेदवारी दिएका थिए । राप्रपाबाट कृष्णकुमार राई उम्मेदवार थिए । रोचक कुरा शर्मासँगै राप्रपाबाट चुनाव उठेका राई २०७० सालको दोस्रो संविधानसभा चुनावमा एमालेकै टिकट पाएर निर्वाचित भएका थिए ।

टिकट ओलीले दिलाए, चुनाव महिलाले जिताए : कुन्ता

२०५६ सालमा चुनाव हुँदा कुन्ता शर्माले जित्न असम्भव भएको धेरैको तर्क थियो । शर्माले चुनाव नजित्ने उनकै सहपाठीहरुले भन्दै आएका थिए । पार्टीको चुनावी रिपोर्टिङमा कुन्ता शर्मा हार्ने धेरैले खुलेर भन्दै आएका थिए । मूलतः कुन्ता शर्मा हार्ने दुई तर्क गरिएको थियो । एक, शिक्षक भएकाले धेरैसँग घुलमिल नभएको । दुई, ब्राह्मण समुदायको भएकाले आदिवासी बाहुल्य क्षेत्रमा गाह्रो हुने । यो तर्क खासगरी तत्कालीन एमालेको माधव नेपाल समूहले उचालेको शर्मा बताउँछिन् । उनले नेपाल प्रेससँग भनिन्, ‘मलाई चुनावी टिकट दिलाएको केपी ओलीले हो ।’

केपी ओलीकै जोडबलमा आफूले टिकट पाएको बताएकी शर्माले चुनाव जिताउन भने महिलाले धेरै सहयोग गरेको सुनाइन् । २०२७ सालदेखिको शिक्षक जीवन, शिक्षक आन्दोलनको मूलप्रवाहको सक्रियता र धराने घुलमिलले उनलाई जित निकाल्न सजिलो भयो । छोरा पुस्तादेखि बाबु पुस्ताको साझा भोट पाएर जितेको उनी बताउँछिन् । शर्मा थप्छिन्, ‘मलाई चुनाव जिताउन सबैभन्दा धेरै सहयोग महिलाकै भयो ।’

कार्यक्रमहरुमा महिलाको सहभागिता उत्साहजनक हुने र भोट पनि उनीहरुकै धेरै आएको शर्माले सुनाइन् । उनले भनिन्, ‘धरानमा महिलाले महिलालाई मत हाल्छन् ।’

कुन्ताको इतिहास दोहोर्‍याउलिन् त मञ्जुले ?

२०५६ मा धरानबाट कुन्ताले सांसद जित्दा मञ्जु १७ वर्षकी मात्रै थिइन् । २०३९ सालमा जन्मेकी उनको मतदाता हुने उमेरै भएको थिएन । तर शर्मा र भण्डारीको टिकट व्यवस्थापनदेखि गुटगत हुँदै समुदायगत तर्कमा धेरै कुरा मिल्छ ।

ओलीको जोडबलले कुन्ताले सांसदको टिकट पाएझैं मञ्जुको मेयर टिकटमा ओलीकै सफ्ट कर्नरले काम गरेको एमाले नेताहरु बताउँछन् । २३ वर्ष अगाडि कुन्तालाई एमाले फुटेको र ब्राह्मण समुदायको भएकोले आदिवासी बाहुल्य क्षेत्रमा जित्न गाह्रो हुने तर्क गरिएको थियो । अहिले पनि यस्तै तर्क मञ्जुको उम्मेदवारी चर्चाबाटै गर्नेहरु छन् । तर, कुन्ता भने धरानमा महिला उम्मेदवारलाई अतिरिक्त फाइदा हुने बताउँछिन् । महिलाले महिला नेतृत्व देख्न भोट हाल्ने आफ्नै अनुभव भएको भन्दै उनले आफ्नो जितको कथा मञ्जुबाट पनि दोहोरिन सक्ने बताइन् ।

नेपाली कांग्रेसका वर्तमान मेयर तिलक राई र अहिलेका मेयर उम्मेदवार किशोर राई दुवै राम्रो भए पनि किशोरभन्दा राम्रो माहोल तिलकको भएकाले उनी उम्मेदवार नहुँदा मञ्जुलाई सहज हुने शर्माको भनाइ छ । नेकपा एसबारेमा सोध्दा संगठन नभएकाले मालेकालको जस्तो प्रभाव नहुने बताएकी शर्माले नेकपा माओवादीको प्रभाव पहिलेभन्दा घटेको जानकारी दिइन् । धरानमा महिला मेयर बन्ने सम्भावना जिवितै रहेको उनले बताइन् ।

कुन्ताले थपिन्, ‘अहिले एमाले धरानको नेतृत्वमा देखिएका र चिनिएका महिला नेताहरुमा प्रमुख मञ्जुजी नै भएकाले उम्मेदवार हुनुभन्दा अगाडि नै मैले शुभकामना दिएकी थिएँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर