चौधरी ग्रुपका संस्थापक लूनकरणदासको जन्म-शताब्दी, यसरी सम्झिए… – Nepal Press

चौधरी ग्रुपका संस्थापक लूनकरणदासको जन्म-शताब्दी, यसरी सम्झिए…

काठमाडौं । नेपालकै प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपका संस्थापक स्व. लूनकरणदास चौधरीको ‘जन्म–शताब्दी समारोह’ आज एक कार्यक्रमकाबीच सम्पन्न भएको छ ।

आइतबार थापाथलीस्थित बिएलसी होल्डिङ्स परिसरमा स्व. चौधरीको जन्म–शताब्दी विशेष समारोह आयोजना गरिएको हो ।

बिएलसी होल्डिङ्स प्रालि, वसन्त चौधरी फाउन्डेसन, नर्भिक इन्टरनेशनल हस्पिटल र लूनकरण दास गंगादेवी चौधरी साहित्यकला मन्दिरको संयुक्त आयोजनामा लूनकरणदास चौधरीको जन्मिएको १०० वर्ष भएको दिनलाई विशेष रूपमा सम्झिने प्रयास स्वरूप कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा स्व. लुनकरणदास चौधरीलाई जीवनको अन्तिम अवस्थासम्म स्याहारसुसार गर्ने कार्यमा अहोरात्र खटिएका ३ जना सहायकहरूलाई विशेष सम्मान समेत गरियो । सम्मानित हुनेहरूमा राम ढुंगाना, आलोक रजक र सुनिल गुरुङ छन् ।

सो कार्यक्रममा ‘कर्मयोगी लूनकरणदास चौधरी जन्म–शताब्दी विशेष’ नामक पुस्तिका चौधरीका छोराछोरी, बुहारी, ज्वाइँ तथा परिवारका अन्य सदस्यहरूले संयुक्त रूपमा विमोचन गरेका थिए ।

काठमाडौंमा कपडाको व्यापार गर्दै आएका उनले सुनसरीको दुहबीस्थित रत्न स्टिल कम्पनीबाट औद्योगिक यात्राको सुरुवात गरेका थिए । त्यसपछि दुहबीमै श्री पशुपति बिस्कुट उद्योगको थालनी भएको थियो ।

‘त्यस बेलाका यिनै उद्योगहरूको जरा फैलिएर कालान्तरमा चौधरी ग्रुपको विशाल बगैँचा तयार भएको हो’, सार्वजनिक पुस्तिकामा भनिएको छ ‘आज यिनै कर्मयोगी लूनकरणदासले रोपेको उद्योग वाणिज्यको बीउ उम्रिँदै, फूल्दै र फल्दै चौधरी ग्रुपमा रूपान्तरण भई नेपालको उद्योग–वाणिज्यका हरेक क्षेत्रमा आफ्नो सारगर्भित उपस्थितिका साथ प्रतिष्ठित हुन पुगेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर