रुपन्देहीमा चुनाव प्रचारका सवारी तोडफोड गरिएको भन्दै एमालेले गर्‍यो विरोध – Nepal Press

रुपन्देहीमा चुनाव प्रचारका सवारी तोडफोड गरिएको भन्दै एमालेले गर्‍यो विरोध

रुपन्देही । चुनावी प्रचारका आफ्ना सवारीमा तोडफोड भएको भन्दै नेकपा एमाले रुपन्देहीले आपत्ति जनाएको छ । एमालेका अनुसार सैनामैना नगरपालिकामा शनिबार बिहान र देवदह नगरपालिकामा राति तोडफोड भएको थियो ।

जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले निर्वाचनको माहोल भाँड्ने गरी कुटपिट र तोडफोडका घटनाले गम्भीर बनाएको बताउँदै तत्काल यस्ता घटनामा माफी माग्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

‘यस्ता घटनाले गठबन्धन दलले हार स्वीकार गरेको प्रष्ट हुन्छ, गृहमन्त्रीको जिल्लामा यस्ता घटना हुनु र उनीहरुमाथि कुनै कारबाहीसमेत नगरिनुले थप सुरक्षा चुनौती थपेको छ, एमालेले यसलाई सहज ढंगले लिनेछैन, तत्काल माफी मागेर दोषीमाथि कारबाही गरिनुपर्दछ’, उनले भने ।

शनिबार राती रुपन्देहीको देवदहमा वडा नं. १० मा एमाले चुनावी प्रचारमा प्रयोग गरिएका दुई वटा विद्युतीय रिक्सामाथि कांग्रेस कार्यकर्ताले तोडफोड गरेको एमालेको आरोप छ । देवदह वडा नं. १० का एमाले कार्यकर्ता सोमबहादुर खड्काले घरअगाडि राखेको लु. १ ह २५५६ नं. को अटो र घरभित्रै राखिएको बुद्धबहादुर गोलेको ना. २ ह ६७२ नं. अटोमा कांग्रेस कार्यकर्ताले तोडफोड गरेको स्थानीय बुद्धिमाया गोलेले बताइन् । उनका अनुसार सडकको लाइट फुटाएर अँध्यारो बनाइ अटोमाथि तोडफोड भएको हो ।

एमालेका तर्फबाट वडा नं. १० मा वडाअध्यक्षका उम्मेदवार मनकुमार कनौजे मगरले एमालेको लोकप्रियताबाट आत्तिएर आक्रमण गरेको भन्दै घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न माग गरे ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले घटनाबारे जानकारी पाउन साथ घटनास्थलमा गई मुचुल्का उठाउने काम भएको बताए ।

उनले घटनाको थप अनुसन्धान भइरहेको बताए । एमालेबाट अर्घाखाँची छत्रदेव वडा ८ का वडा सदस्यका उम्मेदवार हुमा श्रेष्ठलाई गत बिहीबार मात्र माओवादी कार्यकर्ता विष्णु पौडेलसहितको टोलीले आक्रमण गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर