एन्फालाई अल्मुताइरीको पत्र- मैले खेलाडीलाई माफी दिइसकेको छु, कृपया कारबाही नगर्नुस् – Nepal Press

एन्फालाई अल्मुताइरीको पत्र- मैले खेलाडीलाई माफी दिइसकेको छु, कृपया कारबाही नगर्नुस्

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द शिविर छाडेका खेलाडीहरूलाई आफूले माफी दिएको भन्दै कुनै ‘एक्सन’ नलिन आग्रह गरेका छन् ।

सोमबार एन्फालाई पत्र लेख्दै अल्मुताइरीले खेलाडीले आफ्नो मन दुखाएको भए पनि उनीहरूलाई कुनै कारबाही नगर्न आग्रह गरेका हुन् । गत मंगलबार साँझ बन्द प्रशिक्षणमा रहेका ९ जना खेलाडीले होटेल छाडेका थिए ।

उनले पत्रमा लेखेका छन्- खेलाडीहरूले मेरो चित्त गहिरोसँग दुखाएका छन् । नेपाली राष्ट्रिय फुटबलको सर्वोत्तम भलाई नै मेरो चाहना हो । म एउटा कुरा जानकारी गराउन चाहन्छु की खेलाडीहरूलाई माफ गर्नुस्, मेराबारे दिएको अभिव्यक्तिलाई लिएर उनीहरूलाई केही नगर्नुस् । म यी खेलाडीहरूलाई उनीहरूको गल्तीका लागि कुनै कारबाही नगर्न हार्दिक अनुरोध गर्छु ।

खेलाडीहरूले पनि प्रशिक्षक अल्मुताइरीले नै टिम छाड्न भनेपछि आफूहरू निस्किएको बताएका छन् ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले अल्मुताइरीबाट प्राप्त भएको र खेलाडीले पनि पत्र दिने तयारी गरिरहेको बताए । ‘हामीले कसैसँग जवाफ मागेका छैनौँ । म्यानेजरसँग चाहिँ के भएको हो भनेर बुझेको छौँ । तर अल्मुताइरीले आज पत्र पठाउनु भएको छ । खेलाडीहरू पनि पत्र लिएर आएको देखेको छु तर बुझाई सक्नु भएको छैन’, तुलाधरले भने ।

एसिया कप छनोटको तयारीका लागि खेलाडीलाई होटेलमा राख्नुपर्ने माग रोहित चन्दले गरेपछि उनलाई अपमानजनक ढंगले बन्द शिविरबाट निकालेको दाबी असन्तुष्ट खेलाडीहरूको छ ।

आफ्नो सेवा सुविधाबारे माग राख्दा किन रोहितलाई निकालेको भन्ने जिज्ञासा राख्दा अल्मुताइरीले आफूहरूलाई पनि होटेल छाड्न भनेको १० जना खेलाडीले केही दिनअघि आयोजित पत्रकार सम्मेलनमा बताएका थिए । उनीहरूका अनुसार अल्मुताइरीले आफ्नो कार्यकालभर उनीहरूलाई नेपाली टोलीमा नराख्ने पनि बताएका थिए ।

१० जना खेलाडीले बन्द शिविर छाडेपछि र अन्य केही खेलाडी पनि सहभागी नहुने संकेत पाएपछि अल्मुताइरीले १७ जना खेलाडी बन्द शिविरमा थपेका छन् । रोहितले होटेलमा राख्नु पर्ने माग गर्दा एन्फाले होटेलको व्यवस्था गरिसकेको पाइएको छ । त्यसै कारण खेलाडीसँग उनको विवाद के थियो भन्नेबारे स्पष्ट भइसकेको छैन । एन्फाले पनि आधिकारिक रूपमा बाहिर केही ल्याएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर