स्थापित भन्छन्– सगुनमा झोल पदार्थ नल्याउनुहाेस् (भिडिओ) – Nepal Press

स्थापित भन्छन्– सगुनमा झोल पदार्थ नल्याउनुहाेस् (भिडिओ)

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भएपछि ‘सगुन’का नाममा समय बर्बाद नपार्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा जिफन्टले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उम्मेदवार स्थापितले अघिल्ला मेयर विद्यासुन्दर शाक्यतर्फ लक्षित गर्दै ‘केइकेई’ मान्छेले ६ महिनासम्म सगुनमा समय बर्बाद गरेको बताए ।

‘मैले केइकेई मान्छेलाई देख्या छु, ६ महिनासम्म कहाँ भन्या त ‘सगुन’ खान रैछ’, उनले भने, ‘सगुन खान भन्या छ, साँझ परेपछि चुस्स लाछ, फोन गरेको स्वीच अफ भन्छ । यस्तो पनि मेयर हुन्छ ?’

सगुनका नाममा अण्डा र माछा खाएर ठूल्ठूला कुरा गरेर समय खर्च गरेको पनि उनले बताए । ‘जैले पनि सगुन भन्या छ, अण्डा खाछ, माछा खाछ । ठूल्ठूला कुरा गर्‍या छ’, उनले थपे ।

तर आफू भने त्यस विषयमा सचेत रहेको स्थापितले बताए । आफू निर्वाचित भएपछि एकदिन सगुनका लागि छुट्याएको पनि उनले बताए । उनले भने, ‘हुँदैन जितेको भोलिपल्ट ६ देखि १२ बजेसम्म एकदिन हुन्छ । जति आउने हो, आउनुपर्‍यो । त्यसपछि अघिल्लो दिन मेरो आमाजस्तो दिदी हुनुहुन्छ उहाँलाई ढोग लाउनु, जान्छु र अनि यहाँ बस्ने ।’

आफू उपहारको धेरै सौखिन नरहेको पनि उनले सुनाए । ‘मलाई अण्डा दियो भने अर्कोलाई दिइहाल्ने, फेरि खायो भने त मरिहाल्छ नि । अरु पनि खाने बानी लाग्छ नि, होस त पुर्‍याउनुपर्‍यो । खानेबानी ठीक हुँदैन क्या’, उनले भने, ‘उपहार लिएपछि त अरु पनि लिने बानी लाग्छ नि, उपहार नल्याउने खानेकुरा ल्याए हुन्छ, बिस्कुट ल्याए हुन्छ, झोल पदार्थ नल्याउनुहाेस् एकदम प्रस्ट ।’

त्यो दिन १२ बजेपछि सगुन कार्यक्रम सिद्धिने र भोलिदेखि काम गर्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर