बचनमा बाँधिएका निधि, भक्तपुरमा राप्रपाको लागि भोट माग्ने – Nepal Press

बचनमा बाँधिएका निधि, भक्तपुरमा राप्रपाको लागि भोट माग्ने

भक्तपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले भक्तपुर पुगेर राष्ट्रिय प्रजातन्त्र पार्टीको लागि मत माग्ने भएका छन् ।

नेता निधिले भक्तपुरको चाँगुनारायण नगरपालिका पुगेर कांग्रेस नेता तथा कार्यकर्ताहरूलाई समेत राप्रपाका उम्मेदवारलाई मत दिन आह्वान गर्ने भएका हुन् ।

यहाँ न राप्रपा र कांग्रेसबीच चुनावी तालमेल भएको छ न त गठबन्धन । धेरैलाई लागेको होला, कहीं कांग्रेस नेताले राप्रपाको लागि भोट माग्लान् ? तर, २०७६ साल मंसिर १४ गते भएको लिखित सहमतिले निधिलाई बाँधेको हो ।

२०७६ साल मंसिर १४ गते भक्तपुर क्षेत्र नं. १ क प्रदेशमा उपनिर्वाचन भएको थियो । २०७४ सालमा भएको प्रदेश निर्वाचनमा विजयी हरिशरण लामिछानेको मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको थियो । जुन उपनिर्वाचनको लागि मंसिर ८ गते नेपाली कांग्रेस र पशुपतिशमशेर राणा नेतृत्वको तत्कालीन राप्रपा संयुक्तबीच २ बुँदे लिखित सहमति भएको थियो । यसबीच राणाको राप्रपा संयुक्तसँग डा. प्रकाशचन्द्र नेतृत्वको राप्रपा र त्यसपछि कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पार्टी एकता भइसकेको छ । महाधिवेशनबाट राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष निर्वचित भएपछि पराजित कमल थापाले पुनः राप्रपा नेपाल व्युँताइसकेका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाको प्रत्यक्ष निर्देशनमा २०७६ साल मंसिर ८ गते तत्कालीन कांग्रेस उपसभापति विमलेन्द्र निधिको निवासमा उक्त सहमति भएको थियो । जुन सहमतिमा निधिसँगै, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले हस्ताक्षर गरेका थिए ।

त्यस्तै राप्रपाबाट उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्यद्वय हरिबहादुर बस्नेत र दिनेश श्रेष्ठ, कार्य सम्पादन समिति सदस्य रवीन्द्रप्रताप शाह र भक्तपुर जिल्ला अध्यक्ष रामशरण लामिछानेले हस्ताक्षर गरेका थिए ।

उनले कांग्रेसको वर्तमान नेतृत्व, स्थानीय तह निर्वाचनका कमाण्डर उपसभापति पूर्णबहादुर खड्का, सत्ता गठबन्धनको निर्वाचन अनुगमनका प्रमुख एवं कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसम्मलाई विगतको लिखित सहमति पालना गर्न आग्रह र ध्यानाकर्षण गरे । तर, कसैले त्यसको सुनुवाइ गरेनन् । नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा त नेता निधिको सम्पर्कमै आउन चाहेनन् ।

जसले गर्दा स्थानीय तह निर्वाचनको उम्मेदवारी फिर्ता लिने दिनसम्म कांग्रेसले भक्तपुरको चाँगुनारायणमा राप्रपासँग भएको लिखित सहमति कार्यान्वयन गर्नेतर्फ कुनै चासो दिएन । भक्तपुर कांग्रेसले एकतर्फी उक्त सहमति तोडेपछि हस्ताक्षरकर्ता नेता निधिमाथि राप्रपाका नेताहरुले नैतिक प्रश्न तेर्स्याएका थिए ।

आफ्नो प्रयास विफल भएपछि उनी भक्तपुरको चाँगुनारायणमा राप्रपाका उम्मेदवारको लागि भोट भागिदिने बचन दिन बाध्य भएका हुन् । राप्रपा भक्तपुरका जिल्ला अध्यक्ष रामशरण लामिछानेका अनुसार कांग्रेस नेता निधिले राप्रपाको चुनावी सभालाई सम्बोधन गर्न आउने वचन दिइसकेका छन् ।

‘हामीलाई उहाँ (विमलेन्द्र निधि) ले राप्रपाको चुनावी सभालाई सम्बोधन गरेर कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई समेत राप्रपाका उम्मेदवारको पक्षमा मत दिन आह्वान गर्ने वचन दिइसक्नुभएको छ’, उनले भने, ‘हामी चुनावीसभाको तयारीमा छौं । निश्चित भएपछि उहाँलाई आमन्त्रण गर्छौं ।’

उनका अनुसार राप्रपासँग भएको लिखित सहमति कार्यान्वयन गर्न र गराउन नेता निधिले धेरै पहल र प्रयास गरेका थिए । तर, कांग्रेस भक्तपुरका जिल्ला सभापति थापा, राप्रपाको सहयोगमा प्रदेश उपनिर्वाचनमा विजयी भइ वागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्री हुन सफल कृष्णलाल भँडेलको राजनीतिक बेइमानी र धोखाघडीले निधिको प्रयास विफल भयो ।

उपनिर्वाचनका क्रममा उक्त सहमतिपत्र गोप्य राखियो । त्यस्तै कांग्रेस जिल्ला सभापति दुर्लभ थापाको विशेष आग्रहमा जिल्ला अधिवेशन तथा केन्द्रीय महाधिवेशनसम्म पनि उक्त सहमति सार्वजनिक गरिएन ।

‘जिल्ला अधिवेशन र महाधिवेशन भाँडिने डरले त्यसबेलासम्म पनि लिखित सहमति सार्वजनिक नगर्न जिल्ला सभापति थापाले विशेष आग्रह गर्नुभयो’, सहमतिपत्रमा हस्ताक्षरकर्ता राप्रपा नेता दिनेश श्रेष्ठले भने, ‘यसरी धोखा दिने थाहा भएको भए उहिल्यै सहमति सार्वजनिक गर्ने थियौं । विश्वासमा परियो अहिले धोखा खाइयो ।’

दुई दलबीच भएको सहमतिपत्रमा २ बुँदा र बुँदा नम्बर २ भित्र थप ४ बुँदा छन् । सहमतिको पहिलो बुँदामा २०७६ साल मंसिर १४ गते हुने भक्तपुर जिल्ला क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनमा राप्रपाले कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई सहयोग गर्ने र भक्तपुरमा कांग्रेस र राप्रपाबीच जिल्लास्तरीय लोकतान्त्रिक गठबन्धन गठन गर्ने उल्लेख छ । उक्त गठबन्धन आगामी तीनवटै तहको निर्वाचनसम्म कायम रहने सहमतिपत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै बुँदा नम्बर २ (क) मा स्थानीय तह निर्वाचनअन्तर्गत चाँगुनारायण नपामा राप्रपाले मेयरसहित अनुकूल ४ वटा वडामा अध्यक्षको उम्मेदवारी दिने र ती उम्मेदवारलाई कांग्रेसले समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

बुँदा नं २ (ख) मा चाँगुनारायण नपाको स्थानीय निर्वाचनमा कांग्रेसले उपमेयरसहित पाँचवटा वडामा अध्यक्ष उम्मेदवारी दिने र ती उम्मेदवारहरुलाई राप्रपाले समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

कांग्रेस र राप्रपाबीच पहिल्यै लिखित सहमति भएकाले यहाँ सत्ता गठबन्धनका अन्य दलले समय कांग्रेसलाई एकलौटी छाडेका थिए । जसअनुसार यहाँ सत्ता गठबन्धनबीच कुनै भागबन्डा गरिएन । तर, कांग्रेसले चाँगुनारायणमा राप्रपा देखाएर आफूहरुलाई पनि धोखा दिएको गठबन्धनका अन्य दलहरुले गुनासो गरेका छन् । यहाँ कांग्रेसले सत्ता गठबन्धनका दलहरुलाई एउटा वडा सदस्यसमेत भाग दिएन ।

तर, राप्रपासँगको सहमति कार्यान्वयन नभएपछि वडा नं ६ नगरकोटमा पार्टीले टिकट पठाएर पनि कांग्रेसका कुनै पनि नेता कार्यकर्ताले पार्टीको तर्फबाट उम्मेदवारी दिएनन् । बरु कांग्रेसका दुई स्थानीय नेताले राप्रपाको हलो चिन्ह लिएर उम्मेदवारी दर्ता गराएका छन् । अन्य वडाकाे तुलनामा यहाँ कांग्रेस धेरै कमजाेरसमेत रहेकाे छ ।

कांग्रेसले एकतर्फी लिखित सहमति भंग गरेपछि शनिबार राप्रपा भक्तपुरले पत्रकार सम्मेलन गरी चाँगुनारायणमा कांग्रेसविरुद्ध आफूहरुले अभियान नै सञ्चालन गर्ने जानकारी दिएको छ ।

राप्रपा भक्तपुर अध्यक्ष लामिछानेले आफूहरुसँग गरिएको लिखित सहमति पालना नगर्ने कांग्रेसले चुनावमा दिने आश्वासनमा विश्वास नगर्न मतदाताहरुलाई आह्वान गर्ने स्पष्ट पारे । ‘केही पदमा लोभ गर्ने कांग्रेसले भोलि स्थानीय तहको अर्बौं बजेटमा र्‍याल चुहाउँदैन, भ्रष्टाचार गर्दैन भनेर विश्वास गर्न सकिन्छ ?’, नेता भने, ‘हामी जनतालाई यहीं प्रश्न गर्नेछौं र हिजो राष्ट्रघात गर्ने, अहिले राप्रपालाई धोखा दिने कांग्रेसले भोलि चाँगुवासीलाई घात गर्दैन भन्ने के ग्यारेन्टी ?’

राप्रपाले चाँगुनारायणमा पार्टीका सहायक महामन्त्री रवीन्द्रप्रताप शाहलाई प्रमुख र केन्द्रीय सदस्य मञ्जु कार्कीलाई उपप्रमुखको उम्मेदवार बनाएको छ । त्यस्तै यहाँका नौवटै वडामा अध्यक्षसहित सबै पदमा उम्मेदवारी दिएको छ ।

पत्रकार सम्मेलनमा प्रमुख उम्मेदवार शाहले चाँगुनारायणमा जिल्लाका नेताहरुले घात गरे पनि कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुले राप्रपालाई नै मत दिने विश्वास व्यक्त गरे ।

‘नेताहरु विश्वासघाती र धोखेबाज निस्के पनि कांग्रेसका स्थानीय कार्यकर्ताहरु नैतिकवान, इमानदार र असल छन् भन्ने मलाई विश्वास छ’, उनले भने, ‘त्यसैले उहाँहरुले मलाई भोट दिएर गुणको बदला गुण तिरेर विजयीसमेत बनाउनुहुन्छ भन्नेमा पूर्ण आशावादी छु ।’

सहायक महामन्त्री शाहले भक्तपुरको चाँगुनारायणमा कांग्रेसले दिएको धोखाले राप्रपालाई घाटा हुनुभन्दा कांग्रेसले भक्तपुरसँगै देशभर घाटा व्यहोर्नुपर्ने औंल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर