हप्तामा दुई दिन बिदा : निजी विद्यालय अनिर्णित, कलेजले नदिने – Nepal Press

हप्तामा दुई दिन बिदा : निजी विद्यालय अनिर्णित, कलेजले नदिने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ बचत गर्न भन्दै सरकारी कार्यालयसँगै शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारको उक्त निर्णय निजी शैक्षिक संस्थामा लागू हुने/नहुने अझै प्रस्ट भइसकेको छैन ।

सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअनुसार सरकारी एवं सामुदायिक विद्यालय तथा कलेजहरु पनि दुई बन्द हुने भएका छन् । तर, निजी विद्यालयमा के हुने अन्योल छ । सरकारले निजी शैक्षिक संस्थाको हकमा केही भनेको पनि छैन ।

निजी स्कुलमा दुई दिन बिदा गर्ने कि नगर्ने भन्ने विषयमा छलफल नै नभएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का केन्द्रीय अध्यक्ष डिके ढुंगानाले नेपालप्रेसलाई बताए । उनले भने, ‘देशैभरको परिस्थिति बुझेर निर्णय लिनेछौं ।’

प्याब्सनले आन्तरिक रुपमा छलफल गरेपछि बल्ल के हुने भन्ने टुंगोमा पुग्ने उनी बताउँछन् । सरकारले अहिलेको बिदालाई परीक्षणका लागि भनेकाले यस विषयमा शिक्षा मन्त्रालयसँग पनि छलफल गर्ने उनले जानकारी दिए ।

सरकारले निर्णय गरेअनुसार शनिबारबाहेक थप एक दिन बिदा दिँदा वर्षमा ५२ दिन बिदा थपिन जान्छ । यसले शैक्षिक क्यालेन्डर प्रभावित हुनेछ । यता सामुदायिक विद्यालयमा बिदा दिने र निजीमा नदिने गर्दा शैक्षिक क्षेत्रमा अर्को बेथिति पैदा हुने जोखिम छ ।

पहिले नै विद्यालयमा जात्रापर्व तथा चाडबाड, बर्खे र हिउँदेलगायतका धेरै बिदा कायम छन् । एक दिन बिदा थप्दा शैक्षिक क्यालेण्डरसँग मिल्छ कि मिल्दैन, पठनपाठनको समय पुग्छ कि पुग्दैन, पाठ्यक्रम सकिन्छ कि सकिँदैन भनेरमात्रै निर्णय गर्नुपर्ने ढुंगानाको भनाइ छ । स्थानीय पालिका, प्रदेश, जिल्ला र केन्द्रबीच भर्चुअल मिटिङ गरेर निष्कर्षमा पुगिने उनले बताए ।

स्कुल पनि जेठबाट सुरु हुने र सरकारले पनि जेठबाट दुई दिन बिदा लागू गर्ने भनेकाले एक–दुई दिनमा छलफल गरिने अध्यक्ष ढुंगानाले जानकारी दिए । उनी भन्छन्, ‘हामी यो हप्ता वा एक दुई दिनभित्रमा निर्णय गर्छौं । स्थानीय तह निर्वाचनको कारण सबैजना व्यस्त हुनुहुन्छ । त्योबीचमा हामी छलफल गरेर एउटा बाटो निकाल्छौं ।’

निजी स्कुलमा पनि दुई दिन बिदा कार्यान्वयन भए विद्यार्थीको शुल्क समायोजन हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि छ । ढुंगानाका अनुसार प्याब्सनले शुल्कको विषयमा छलफल नै गर्दैन । स्कुलले लिने शुल्कको विषय स्थानीय तहले हेर्ने उनको भनाइ छ ।

कलेजमा दुई दिन बिदा हुँदैन : हिसान

निजी कलेजहरुले भने दुई दिन बिदा कार्यान्वयन नगर्ने भएका छन् । उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले निजी क्याम्पसहरु हप्तामा ६ दिन नै सञ्चालन हुने जनाएको हो ।

हिसानका अध्यक्ष रमेशकुमार सिलवालले नेपालप्रेससँग भने, ‘हामी दुई दिन बिदा दिन सक्दैनौं । हाम्रो ६ दिन नै चल्छ । योभन्दा अघि नेपाल सरकारले २०५९ सालमा दुई दिन बन्द गर्ने भनेको बेला पनि हामीले ६ दिन नै चलाएका थियौं ।’

कोर्सको सेड्युलअनुसार दुई दिन बिदा दिँदा कोर्स नसकिने भएकाले ६ दिन नै पठनपाठन हुने उनले बताए ।

के भन्छ मन्त्रालय ?

शिक्षा मन्त्रालयले सरकारको निर्णयानुसार सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्म सञ्चालन गर्ने तयारी गरेको छ । विद्यार्थीको पढाइमा असर नपुगोस् भनेर अरू सार्वजनिक बिदा काट्ने र कक्षा कसरी सञ्चालन गर्ने भन्ने बारेमा कार्ययोजना बनाइने मन्त्रालयले जनाएको छ ।

निजी शैक्षिक संस्थामा दुई दिन बिदा कार्यान्वयन हुने/नहुनेमा मन्त्रालयले अनभिज्ञता दर्शायो । बिदाको विषयमा विस्तृत जानकारी नआइसकेकाले कस–कसलाई बिदा हो भनेर भन्न नसकिने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

उनले नेपालप्रेससँग भने, ‘कहाँ–कहाँ कस–कसलाई बिदा दिने भनेर हामीकहाँ डिटेल आउन बाँकी छ । एकदुई दिनमा भन्छौं ।’

उनले बिदा दिने भनेपछि निजी र सरकारी दुबैलाई हुनुपर्ने उल्लेख गरे । प्रवक्ता शर्मा भन्छन्, ‘बिदा भनेपछि सरकारी र निजी दुवैलाई हुन्छ नि ! एउटालाई हुने अर्कोलाई नहुने हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर