प्रशासनिक भवनमा अस्पताल बनाउने कांग्रेसको प्रस्तावमा एमालेको आपत्ति – Nepal Press

प्रशासनिक भवनमा अस्पताल बनाउने कांग्रेसको प्रस्तावमा एमालेको आपत्ति

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको कार्यालयका लागि बनाइएको प्रशासनिक भवनलाई नेपाली कांग्रेसले अस्पताल बनाउने एजेण्डा बनाएपछि विवाद बढेको छ ।

नेपाली कांग्रेसको रुपन्देही सभापति तथा तिलोत्तमाको मेयर पदका उम्मेदवार रामकृष्ण खाँणले नगरपालिकाले बनाएको सुविधा सम्पन्न प्रशासनिक भवन अस्पताल बनाउने घोषणा गरेपछि नेकपा एमालेले आपत्ति जनाएको छ ।

नेपाली कांग्रेस तिलोत्तमा नगर समितिले प्रकाशन गरेको प्रतिबद्धता पत्रमा प्रशासनिक भवनलाई अस्पतालमा परिणत गर्ने उल्लेख छ ।
एमालेका मेयर पदका उम्मेदवार मोहन चापागाईँले नेपाली कांग्रेसले यो नारा बनाएर आफ्नो विकास विरोधी धारणा बनाएको आरोप लगाएका छन् ।

तिलोत्तमामा कहाँनिर अस्पताललाई भवन कमी भएको छ र ? यो भवन अस्पताल बनाउने गरी डिजाइन पनि भएको होइन, आफूले जित्न नसक्ने भएपछि नागरिकलाई भ्रम पार्न यस्ता विवादास्पद विषयहरू बाहिर ल्याइएको छ, राजनीति गर्ने राजनीतिक तर्क दिन सक्नुपर्दछ– उनले भने । भएका अस्पतालको स्तरोन्नति नगरी नयाँ अस्पतालको प्रस्ताव
अस्पतालका लागि भवन निर्माण गर्दा मापदण्ड पुरा गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

तिलोत्तमा नगरपालिकामा हाल निर्माण भएको भवनमा अस्पताल सञ्चालन गर्न उपयुक्त र व्यवहारिक नहुने विज्ञहरू बताउँछन् । ‘अस्पताल भवन बनाउँदा सोही अनुरूपको मापदण्ड अवलम्बन गर्नु पर्छ । प्रशासन सञ्चालनका लागि तयार गरेको भवनमा अस्पताल सञ्चालन गर्न सकिदैन्, डा. सन्तोष भुसाल भन्छन्,’अस्पताल सञ्चालन गरेर मात्र हुँदैन मापदण्ड पनि पुग्नुपर्छ ।’

पाँच वर्षको समयावधिमा नगरपालिकाले सबै वडाहरूमा स्वास्थ्य संस्था सञ्चालन गरिसकेको छ भने तीन वटा नगर अस्पतालहरूको शिलान्याससमेत भई काम अघि बढाइसकेको छ ।

‘हामी स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेका छौँ । सोही अनुरूप काम भइरहेको छ । हाल ७ वटा स्वास्थ्य चौकी, १० वटा आधारभूत स्वास्थ्य संस्था, एउटा आयुर्वेदिक अस्पताल, एउटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । स्वीकृत तीन वटा अस्पताल मध्ये दुई वटा त निर्माणाधीन अवस्थामा छन् । नगरपालिकाको प्रशासनिक भवनमा कसरी अस्पताल सञ्चालन हुने हो ? यो विषय कताबाट आयो त्यस विषयमा जानकारी भएन,’ तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री बताउँछन् ।

तिलोत्तमा १७ मा रहेको बिपी ग्राम स्वास्थ्य उपचार केन्द्रको करोडौँको सम्पत्ति उपयोगविहीन अवस्थामा छ । नेपाली कांग्रेसका नेताहरूले नेतृत्व लिएको तिलोत्तमा वडानम्वर १७ मा रहेको भवन भूत ‘बंगला’ जस्तै बनेको छ । २०५९ माघ २८ गते नेपाल सरकारको जग्गामा जापान सरकारको सहयोगमा बिपी ग्राम सेवा केन्द्रद्वारा उपचार केन्द्र निर्माण भएको थियो ।

पूर्व प्रधानमन्त्री तथा तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र तत्कालीन नेपालका लागि जापानी राजदूत जेन्जी कामीनागाको उपस्थितिमा उद्घाटन गरी सेवा सुरु भएको ग्राममा सेवा सुरु भएको ५ वर्षमै अस्पताल बन्द भएको हो ।

गुठीमार्फत सञ्चालनमा रहेको र आफ्नै नेताको नाममा रहेको अस्पतालको अवस्था दयनीय छ त्यसमाथि प्रशासनिक भवनमा अस्पताल बनाउँछु भन्नु मजाग बाहेक केही नहुने स्थानीय हरि भण्डारी बताउँछन् ।

नगरपालिकामा निर्माणाधीन अस्पतालहरू

हाल तिलोत्तमा नगरपालिकामा दुई वटा १५÷१५ शैयाका अस्पताल शिलान्यास गरी काम सुरु भइरहेको छ, भने एउटा १५ शैयाको अस्पतालका लागि स्वीकृति प्राप्त गरी प्रक्रिया अघि बढेको छ ।

तिलोत्तमा नगरपालिका वडा नं. ६ गोरकट्टा र वडा नं. १७ गंगोलियामा अस्पतालको भवन निर्माणको काम भइरहेको छ । वडानम्वर १० सेमरा बजारमा १५ शैया को अस्पतालका लागि स्वीकृति प्राप्त गरी प्रक्रिया अघि बढेको छ ।

हाल रोटरी क्लबसँगको सहकार्यमा सेमरा बजार स्वास्थ्य चौकीमा प्रसूति सेवा केन्द्र समेत सञ्चालनमा छ । हरेक पालिकामा कम्तीमा एउटा १५ शैयाको सरकारी अस्पताल निर्माण गर्ने संघीय सरकारको नीतिअनुसार तिलोत्तमामाको आनन्द वन अस्पतालको तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेका थिए ।

नेकपा एमालेका नगर इन्चार्ज दिनेश फुल्लेलले एमाले नेतृत्वमा बनाइका संरचनालाई विवादमा पार्न अनावश्यक चुनावी फन्डा बनाइएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर