रामेछापमा कांग्रेस र एससँग माओवादीको ‘डबल रोल’-कांग्रेस बन्यो उम्मेदवारविहीन – Nepal Press

रामेछापमा कांग्रेस र एससँग माओवादीको ‘डबल रोल’-कांग्रेस बन्यो उम्मेदवारविहीन

काठमाडौं । रामेछापमा नेकपा माओवादी केन्द्रको ‘द्वैध चरित्र’ले कांग्रेसलाई गम्भीर धोका भएको छ । सुरूमा नेकपा एकीकृत समाजवादीसँग तालमेल गरेको माओवादी केन्द्रले ‘उम्मेदवारी फिर्ता’ लिने समयमा नाटकीयरूपमा कांग्रेससँग सहमति गरेको थियो ।

सोही सहमति अनुसार कांग्रेसले आफूले छाड्नुपर्ने ठाउँमा उम्मेदवारी फिर्ता लिँदा माओवादी केन्द्रले फिर्ता लिएन । उल्टै पूर्वसहमतिअनुसार नेकपा एसतिरै फर्किएको छ । जसले कांग्रेसलाई ‘गम्भीर धोका’ भएको कांग्रेस नेताहरूले बताएका छन् ।

मनोनयन दर्ताअघि जिल्लाका ८ वटा स्थानीय तहहरूमा कांग्रेस एक्लैले उम्मेदवारी दिएको थियो । सत्तारूढ गठबन्धनमा सहमति नजुटेपछि कांग्रेसले एक्लै उम्मेदवारी दर्तागर्दा माओवादी केन्द्र र नेकपा एसले तालमेल गरेका थिए ।

जसमा मन्थली र रामेछाप नगरपालिकासहित सुनपाती, दोरम्बा शैलुङ र उमाकुण्ड गाउँपालिका गरी पाँच पालिकाको नेतृत्व माओवादी केन्द्रले लिने र लिखु तामाकोसी, गोकुलगंगा र खाँडादेवी गाउँपालिकाको अध्यक्षमा नेकपा एसले उम्मेदवारी दिने सहमति भएको थियो । सोही अनुसार दुबै दलले उम्मेदवारी दर्ता गराएका थिए ।

त्यसपछि माओवादीको हिस्सामा परेको दोरम्बा शैलुङ गाउँपालिका नेकपा एसको मात्रै सहयोगमा जित्ने अवस्था नदेखेपछि कांग्रेससँग पनि तालमेल गर्ने निष्कर्शमा माओवादी केन्द्र पुगेको थियो । जहाँ माओवादी केन्द्रका जिल्ला संयोजक मैनकुमार मोक्तान उम्मेदवार छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले नै जितेको यो पालिकामा पछिल्लो समय माओवादीका प्रभावशाली नेता कार्यकर्ता एमालेतिर लागेका छन् । यसकारण यहाँ माओवादी केन्द्रले आफूलाई असुरक्षित ठानेर कांग्रेससँग सहमति गर्न खोजेको थियो ।

कांग्रेससँग भएको सहमतीअनुसार दोरम्बा शैलुङको अध्यक्षमा कांग्रेसले माओवादी केन्द्रलाई सहयोग गर्ने र उपाध्यक्षमा माओवादी केन्द्रले उपाध्यक्षमा कांग्रेसकी खमला थापालाई सहयोग गर्नुपर्ने थियो ।

यस्तै बदलामा माओवादी केन्द्रले कांग्रेसलाई नेतृत्वमा खाँडादेवी गाउँपालिकामा सघाउनुपर्न सहमति भएको थियो । जहाँ अध्यक्षमा कांग्रेसका उम्मेदवार नवराज थोकर उम्मेदवार छन् । यहाँ माओवादी केन्द्रका उपाध्यक्ष उम्मेदवार इन्द्रबहादुर लामालाई कांग्रेसले सहयोग गर्ने सहमति भएको थियो । यसअघि माओवादी केन्द्र र नेकपा एसबीचको सहमतिमा यहाँको अध्यक्षमा माओवादीले नेकपा एसका श्यामकृष्ण श्रेष्ठलाई सघाउनुपर्ने थियो ।

यसपछि माओवादी केन्द्र र कांग्रेसको सहमतीअनुसार कांग्रेसका दोरम्बा शैलुङमा अध्यक्षका उम्मेदवार मानबहादुर तामाङ र खाँडादेवीमा उपाध्यक्षकी उम्मेदवार चण्डिका उप्रेतीले उम्मेदवारी फिर्ता लिए ।

सहमतिअनुसार दोरम्बा शैलुङमा माओवादी केन्द्रकी उपाध्यक्ष पदकी उम्मेवार देउकुमारी थापामगरले उम्मेदवारी फिर्ता लिनुपर्ने थियो । तर उनले लिएकी छैनन् ।यसरी माओवादी केन्द्रले कांग्रेसलाई धोका दिएको छ ।

धोकाको अर्को सिलसिला यत्तिमैं रोकिएन, माओवादी केन्द्र खाँडादेवी गाउँपालिकामा नेकपा एससँगकै पूर्व सहमतिमा फर्किएको छ । आज एक लिखित सहमति गरेर सो गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एसका उम्मेदवार श्यामकृष्ण श्रेष्ठलाई नै समर्थन गर्ने लिखित सहमति गरेको छ ।

यसरी रामेछापमा माओवादी केन्द्रले कांग्रेस र नेकपा एसबिचमा फरक ‘रोल–प्ले’ गरेर द्वैध चरित्र प्रदर्शन गरेको छ भने, आफ्नो अध्यक्ष उम्मेदवार रहेको ठाउँमा रणनीतिक तवरले कांग्रेसको उम्मेदवारी फिर्ता लिन लगाएर धोका दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर