वाणगंगाको वडाध्यक्षमा भाइविरुद्ध दाइ बागी उम्मेदवार, एमालेलाई चुनौती – Nepal Press

वाणगंगाको वडाध्यक्षमा भाइविरुद्ध दाइ बागी उम्मेदवार, एमालेलाई चुनौती

रुपन्देही । कपिलवस्तुको वाणगंगा नगरपालिकामा सहोदर भाइका विरुद्ध दाइले एउटै पार्टीबाट प्यानलसहित बागी उम्मेदारी दिएर चर्चामा आएका छन् ।

नेकपा एमालेबाहेक सबै दल एकातिर हुँदा पनि सजिलै जित्नसक्ने एकल बहुमत रहेको कपिलवस्तुको वाणगंगा नगरपालिका– ७ एमालेका उम्मेदवार भाइविरुद्ध दाइ बागी उठेपछि मतदाता आश्चर्यमा परेका छन् ।

लामो समयदेखि पार्टीमा काम गरेका दाइ नेत्र गिरी र भाइ विष्णु गिरी एकले अर्कोलाई कुनै हालतमा छोड्न तयार नभएपछि पार्टीलाइ विवाद मिलाउन संकट परेको छ । पार्टीको आधिकारिक उम्मेदारमा भाइ विष्णु गिरीले टिकट पाएका छन् भने स्थानीय बहुसंख्यक कार्यकर्ताको साथमा दाइ नेत्र गिरी प्यानलसहित चुनावी मैदानमा पुगेका छन् । पार्टीबाट टिकट नपाएपछि दाइ नेत्र गिरीले स्वतन्त्र समूह बनाएर टिम दर्ता गरेका हुन् ।

विष्णुले २०७४ सालको चुनावमा पनि वडाध्यक्ष जितेका हुन् । त्यतिबेला नेत्र वडाध्यक्षका दाबेदार थिए ।

पार्टीको आधिकारिक उम्मेदवारी पाएका विष्णु पनि एमाले नेताको साथमा मनोनयन दर्ता गराएर चुनावी मैदानमा होमिएका छन् । २०४३ सालमै जनपक्षीय उम्मेदवार बनेका नेत्र गिरी एमाले कपिलवस्तुका पुराना नेता हुन् । २०५४ सालको साविक मोतिपुर गाविस अध्यक्ष निर्वाचित भएर उनले काम गरेका थिए ।

लामो समय शिक्षण पेशापछि एमालेको राजनीति आएका विष्णु ०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष भएका हुन् । जिल्ला समन्वय समितिको प्रमुख बन्ने गरी नेत्र वडा सदस्य बनेपनि समन्वय समितिको प्रमुखमा चुनाव लडेर पराजित भएका थिए ।

नेत्रले वडामा आफूसहित पाँचै जनाको टिम बनाएका छन् । जसपाको छाता चुनाव चिह्न लिएर लडेका नेत्रलाई वाणगंगाका अन्य चार दलीय गठबन्धनले सघाउने घोषणा गरेका छन् । वडा नं. ७ मा दुई दाजुभाईसंगै कांग्रेसका कुमार खड्काको मुख्य प्रतिष्पर्धा छ । एमालेले भने पार्टी निर्णय विपरीत गएका नेत्र गिरीलाई कारबाही गर्ने तयारी गरेको छ ।

एमालेका स्थानीय कार्यकर्ता पुस्कर आचार्यले दुई गिरी भाइको लडाइँले एमालेको बहुमत रहेको वडा पार्टीले गुमाउने अवस्था आएको बताउँछन् ।

स्थानीय तथा नेकपा एमालेका प्रदेश कमिटी सदस्य वसन्तराज खनालले गिरी दाजुभाइको लडाइँले दुवैलाई र एमालेलाई घाटा हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर