लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन बैशाख २० गतेदेखि – Nepal Press

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन बैशाख २० गतेदेखि

रुपन्देही । मुलुक निर्वाचनमय भइरहेको समयमा लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन वैशाख २० गते बोलाइएको छ । साउन १ गतेदेखि प्रमुख प्रतिपक्ष नेकपा एमालेले लगातार अवरोध गर्दै आएको प्रदेश सभा असोज २९ मा अन्त्य भएको थियो ।

६ महिनाभित्र बैठक बस्नुपर्ने कानुनी बाध्यता भएपछि चुनावको मुखमा भए पनि केही दिनका लागि प्रदेश सभा आह्वान गरिएको हो ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले विज्ञप्तिमार्फत बैठकबारे जानकारी दिएका हुन् । प्रदेश सभाको नियमावली २०७४ को नियम ३ को उपनियम १ बमोजिम प्रदेश प्रमुखको आह्वानमा बैठक बोलाइएको हो ।

एमालेले सूर्य चिह्नबाट चुनाव लडेका आफ्ना २ सांसदको कारबाहीको माग गर्दै एमालेले साउनयताका बैठक अवरोध गर्दै आएको छ । सरकारले भने सूर्य चिह्नबाट चुनाव लडेका विवादित सांसद अजय शाहीलाई मन्त्री र विमलाकुमारी खत्री वलीलाई राज्यमन्त्री बनाएको छ । प्रदेशसभा बैठक बस्ने अवस्था नरहेको भन्दै पछिल्लो समय लुम्बिनी प्रदेश सरकारले अध्यादेशमार्फत ऐन ल्याएको छ ।

नेकपा एमालेले भने प्रदेश सभा कसरी सञ्चालन गर्ने र विवाद समाधानका विषयमा कसरी जाने भन्ने विषयमा कुनै छलफल नै नभएको जनाएको छ । प्रमुख सचेतक भूमिश्वर ढकालले विवाद समाधानका विषयमा कुनै छलफल र तयारी नभएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर