धनगढीमा फिर्ता भएन भण्डारीको उम्मेदवारी , उपप्रमुखमा माओवादीविरुद्ध बागी – Nepal Press

धनगढीमा फिर्ता भएन भण्डारीको उम्मेदवारी , उपप्रमुखमा माओवादीविरुद्ध बागी

कैलाली । धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता प्रभाकर भण्डारीले उम्मेदवारी कायमै राखेका छन् ।

आज उम्मेदवारी फिर्ता लिने समय सीमा सम्म पनि उनले उम्मेदवारी फिर्ता लिएनन् । सत्ता गठबन्धनका दलहरू बिच धनगढी उपमहानगरपालिकाको प्रमुख नेपाली कांग्रेस र उपप्रमुख माओवादी केन्द्रको भागमा परेको थियो ।

प्रमुखमा कांग्रेसका नृप वड र उपप्रमुखमा माओवादी केन्द्रका शान्ति अधिकारीले उम्मेदवारी दिएकी थिइन् । कांग्रेसका भण्डारीले माओवादीको विरुद्धमा बागी उम्मेदवारी दर्ता गरेका थिए ।

गठबन्धनको नाममा पाँच दलले प्रजातन्त्र कमजोर पार्न खोजेपछि स्वतन्त्र उम्मेदवारी दर्ता गरेको उनले बताए । आफूले जित्ने अवस्था आएको हुँदा स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ ।

‘प्रजातन्त्रलाई कमजोर पार्न थालेपछि मैले उम्मेदवारी दिएको हो’ उनले भने ‘म गठबन्धनसँग झुक्दिन । म जित्छु ।’

स्वतन्त्र उम्मेदवारी फिर्ता नलिएपछि उनी कारबाहीमा परेका छन् । तर, कारबाहीले कुनै फरक नपर्ने उनको भनाइ छ ।

‘कारबाही गरेर केही गर्न सक्दैनन् । कागजमा कारबाही गरेर के गर्न सक्छन्’ उनले भने ।

भण्डारी काँग्रेस कैलालीका पुराना नेता हुन्। उनी दुई कार्यकाल कैलाली काँग्रेसको कोषाध्यक्ष भइसकेका नेता हुन् ।

धनगढी उपमहानगरपालिकामा यस अघि प्रमुख र उपप्रमुख दुवैले जितेका थिए । अहिले माओवादीका विरुद्धमा बागी उठेपछि समस्या सृजना भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर